नयाँ दिल्लीमा भेटियो मंकीपक्सको बिरामी: संक्रमित बाहिर कतै गएका थिएनन्
नयाँ दिल्ली : भारतको नयाँ दिल्लीमा मंकीपक्सका बिरामी फेला परेका छन्। यसअघि केरल राज्यमा पनि एकजना संक्रमित भेटिएका थिए।
रिपोर्टको अनुसार अहिले संक्रमित भएका बिरामी कतै विदेश यात्रामा(ट्राभल हिस्ट्री) गएका थिएनन्। भारतीय स्वास्थ्य विभागले अनुसन्धान थालेको छ ।
विश्वव्यापी रूपमा मंकीपक्स फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले संसारभर स्वास्थ्य आपत्काल घोषणा गरेको थियो। शनिबार बसेको डब्लूएचओको इमर्जेन्सी कमिटीको बैठकले स्वास्थ्य आपत्काल घोषणा गर्ने निर्णय गरेको हो।
डब्लूएचओले संसारभर स्वास्थ्य आपत्काल घोषणा गरेको यो तेस्रो पटक हो। कोरोना भाइरसको महामारीमा दुई वर्षअघि स्वास्थ्य आपत्काल घोषणा गरिएको थियो। त्यसअघि पोलिओको महामारी फैलिँदा पनि डब्लूएचओले स्वास्थ्य आपत्काल घोषणा गरेको थियो।
डब्लूएचओले मंकीपक्स संसारका सबै क्षेत्रमा फैलिएको जनाएको छ। डा. टेड्रोसले भने, ‘डब्लूएचओको मूल्यांकनमा मंकीपक्सको जोखिम विश्वव्यापी रूपमा मध्यम किसिमको छ। युरोपमा भने यसको जोखिम उच्च आंकलन गरिएको छ।’
स्वास्थ्य आपतकाल घोषणाले यसको संक्रमण फैलिनबाट रोक्न सहयोग पुग्ने उनको विश्वास छ। यससँगै यसविरुद्धको खोप उत्पादन गर्न पनि सहायक हुने डा. टेड्रोसको भनाइ छ। यसको संक्रमण फैलिन नदिन कदम चाल्नुपर्ने उनले बताए। ‘यो एक प्रकोप हो। यसलाई सही रणनीति अपनाएर रोक्न सकिन्छ,’ उनले भने। मंकीपक्स सबभन्दा पहिले सन् १९५० मा मध्य–अफ्रिकामा देखिएको थियो। एजेन्सी