अनेक सपनामा अशेष
काठमाडौं : स्टेजमा लेखक गीता खत्री भक्कानिएर बुवा, आमा, कमल मखमलीलाई बोलाइरहेकी थिइन्। कलाकारहरूकै सहयोगमा स्टेज पुगेका आमाबुवाले छोरीलाई नरुन इसारा गर्दै हात समातेर ढाडस दिए।
आफैंले लेखेको गीतमा मञ्चन गरिएको नाटक हेरेर भावुक बनेकी लेखक गीता खत्रीले आँसु पुछ््दै भनिन्, ‘आमा मर्दा र देश छोड््दाको पीडा मलाई थाहा छ। मेरा शब्दहरूलाई अभिनयमार्फत जीवन्त बनाइदिनु हुने निर्देशन अशेष मल्ललगायत सम्पूर्ण कलाकारप्रति शब्दविहीन आभार व्यक्त गर्छु। पछाडि दर्शकदीर्घाबाट कसैको आवाज आयो यसैलाई भन्छन्, ‘नाटकभित्रको नाटक।’
नेपाली रंगमञ्चमा गीतिनाटक निकै कम मञ्चन हुन्छ। देवकोटाको मुनामदन, माधवप्रसाद घिमिरेको मालती मंगले, जीवन शर्माको ठुली, प्रदीप ज्ञवालीको नेपाल गाथा हुँदै गीता खत्रीको ‘आमा हुन्, आमा’मा आधारित गीतिनाटक ‘सपना अनेक–अनेक’ सम्मको यात्रा नेपाली गीतिनाटकले तय गरेको छ। गीतिनाटक सपना अनेक–अनेक नेपाल र अमेरिकाको परिवेशमा बुनिएको कथा हो।
रंगीन सपना बोकेर विदेशिएका युवायुवती न्युयोर्कको झिलीमिलीमा हराउँछन्। अत्तालिन्छन्। विस्तारै आफूलाई व्यवस्थित बनाउँदै जाने क्रममा आफ्नै घर, गाउँ, साथीसंगीलाई सम्झँदै रुन्छन् र कहिले हाँस्छन्, रमाउँछन्। आफूलाई विस्तारै व्यवस्थित बनाउँदै लाने क्रममा एक्कासि आमा बितेको खबर आउँछ। त्यो क्षण अत्यासलाग्दो एक्लो छट्पटिएको दृश्यले दर्शकदीर्घामा सन्नाटा छाउँछ। एक्कासि आमा शब्दको चिच्याहटले दर्शक आँखा पुछ््न थाल्छन्। नाटक हो भन्ने थाहा हुँदाहुँदै पनि पनि दर्शकका मन अमिलो भएर आउँछ।
नाटकको सबैभन्दा बलियो संगीत र प्रस्तुति हो। नेपाली गीतिनाटकको परम्परागत संगीतलाई केही हदसम्म घटाउँदै केही नयाँपन दिने प्रयास गरेका छन्, गीतिनाटकका संगीतकार, राजु सिंहले। त्यस्तै, यसको प्रदर्शनमा नयाँ प्रयोग अशेष मल्लको परिचय बनेको छ। तुलनात्मक रूपमा नाटकको कथानक पक्ष कमजोर महसुस हुन्छ। केही प्राविधिक कमजोरी पनि देखिएका छन्। तर, ती सुधार हुँदै जाने किसिमका छन्। जस्तै : नाटकभित्रको नृत्यमा लिप्सिङको कमी दिन सकिन्छ। समग्रमा नाटक सुन्दर बनेको छ। वर्तमान परिवेशको हाम्रो नेपाली समाजको घर–घरको कथा जस्तो लाग्छ नाटक।
नाटक यही साउन ५ गतेबाट २१ गतेसम्म नियमित मञ्चन हुनेछ। सर्वनाम थियटरले तयार पारेको नाटकमा प्रसिद्ध रंगकर्मी मल्लको सुन्दर परिकल्पना तथा निर्देशन छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बियोटीकी अध्यक्ष गीता खत्रीद्वारा लिखित नाटक सपना अनेक–अनेकमा सत्यराज आचार्य र बानिका प्रधानले स्वर दिएका छन्।
शब्द–शब्द केलाएर शब्दको मर्मअनुसार संगीत भर्नु सिंहको छुट्टै परिचय पनि यस गीतिनाटकले दिएको छ। नृत्यमै स्नातकोत्तर गरेकी प्रमिला कार्की उप्रेतीको सुन्दर कोरियोग्राफी र मुद्रा नेपाली गीतिनाटकको इतिहासमा यो फरक प्रयोग पनि हो। कलाकारको मिहिनेत र अभिनयले दर्शकको आँखा नरसाउने सायदै कोही होलान्।