फुटपाथ मजदुरले बुझाए सिडिओलाई ज्ञापनपत्र
काभ्रे : बनेपाका फुटपाथ मजदुरले बुधबार प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई ज्ञापनपत्र बुझाएका छन्। बनेपामा फुटपाथमा व्यवसाय गर्दै आएका व्यापारीहरूले व्यवसायलाई निरन्तरता दिन पाउनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ज्ञापनपत्र बुझाएका हुन्।
मजदुरहरूले पाँच बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन्। नगरपालिकाले हटाएका मजदुरहरूलाई अर्को व्यवस्था नभएसम्म व्यापार गर्न दिनुपर्ने, श्रम ऐन, कानुनी अधिकारको प्रत्याभूति दिनुपर्ने, विकल्पको रूपमा तीन मिटरको फरकमा फुटपाथमा गाडा सञ्चालन गर्न दिनुपर्ने र ट्रेड युनियन अधिकारको ग्यारेण्टी गर्नुपर्ने माग राखेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको मजदुर बनेपा नगरकी अध्यक्ष लक्ष्मी पराजुलीले बताइन्।
माग पूरा नभएमा थप संर्घषको कार्यक्रमहरू घोषणा गरिने उनले बताइन्। नगरपालिकाले साउन १ गतेदेखि सडक छेउछाउमा व्यवसाय गर्नेहरूको लागि सूचना जारी गरेर व्यवसाय सञ्चालनमा रोक लगाएको थियो।