प्रहरीलाई सामग्री हस्तान्तरण
स्याङ्जा : जिल्लाको अर्जुनचौपारी गाउँपालिकाले प्रहरी चौकीलाई विपद् व्यवस्थापन सामग्री प्रदान गरेको छ।
तत्काल आवश्यक पर्ने सानो तथा ठूलो ट्यूव, लाइफ ज्याकेट, बाल्टी, डोरी तथा पहिरो पन्छयाउनका लागि आवश्यक सामग्रीहरु प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए।
'वर्षातको बेलामा धेरै घटना हुन्छ। घटनास्थलमा सुरक्षाकर्मी नै पुग्ने भएकाले हामीले सामग्री दिएका हौं', उनले भने। प्रहरी चौकीमा विपद् व्यवस्थापनका लागि चाहिने सामग्री नहुँदा उद्धारमा असहज हुने गरेकाले सामग्री वितरण गरिएको हो।
भल कटान, पहिरोको जोखिम भएका क्षेत्र र वरपरका स्थानहरूमा त्रिपालले छोपेर जोखिम कम गरिएको उनले बताए। पालिका अध्यक्ष संयोजक हुनेगरी गठित विपद् व्यवस्थापन समितिले पनि पालिकामा सर्तकता अपनाउन संयन्त्र परिचालन गरेको छ।