बालबालिकामा बढ्दै एडिनो भाइरसको संक्रमण

बालबालिकामा बढ्दै एडिनो भाइरसको संक्रमण

काठमाडौं : कान्ति बाल अस्पतालको इमर्जेन्सी वार्डकी इञ्चार्ज विभूति कट्टेलका अढाई वर्षका दुई सन्तान बिरामी छन्। बिरामी सन्तानलाई घरमै छोडेर सेवामा जुटेकी कट्टेललाई एडिनो भाइरस संक्रमितको स्याहार गर्दैमा फुर्सद छैन। 

मुलुकको एकमात्र केन्द्रीय कान्ति बाल अस्पतालमा रुघाखोकी र ज्वरोबाट पीडित सयौं बालबालिका दिनहुँ आउँछन्। कोही बिहानै बहिरंग विभाग (ओपीडी) आइपुग्छन्। दिउँसो २ बजेपछि ओपीडी बन्द हुँदा अभिभावक आत्तिँदै इमर्जेन्सी वार्डको गेटमा आइपुग्छन्। 

‘१०२/१०३ डिग्री ज्वरो आएका छोराछोरी बोकेर आत्तिँदै आउँछन्,’ इमर्जेन्सी वार्ड इञ्चार्ज कट्टेलले भनिन्, ‘अभिभावक आत्तिँदै आइरहेका छन्। सिटामोल दिँदा पनि ज्वरो खासै नघटेको बताउँछन्। सिटामोल खाएको केही घण्टापछि फेरि ज्वरो उच्च भइहाल्छ।’ आफ्नै बालबालिकालाई पनि एडिनो भाइरस संक्रमण भएको हुन सक्ने उनको अनुमान छ।

कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार, दुई सातायता रुघाखोकी र ज्वरो आएका बालबालिकाको संख्या बढ्दो छ। अहिले ओपीडीमा दैनिक १ हजार र इमर्जेन्सीमा ४ सयको हाराहारीमा रुघाखोकी र ज्वरोका बिरामी आइरहेको डा. बसौलाले जानकारी दिए। अधिकांशमा एकै खालको लक्षण देखिएको छ। 

बहिरंग विभागमा आएका केही बालबालिकाको परीक्षण गर्दा एडिनो भाइरसको संक्रमण पुष्टि  अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा. बसौलाका अनुसार, एक साताअघि १३ जनाको नमुना संकलन गरी प्रयोगशालमा पठाइएको थियो। जसमध्ये १२ जनामा एडिनो भाइरस पोजिटिभ देखिएको छ। उनले भने, ‘अधिकांश बालबालिकामा रुघाखोकी, ज्वरोको लक्षण देखिएको छ। अब दैनिक १५ जनाको नमुना संकलन गरी प्रयोगशालामा पठाउने तयारी हुँदैछ।’ संक्रमितको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइने अस्तालले जनाएको छ। 

बिरामी बालबालिकामा खान मन नलाग्ने, वान्ता हुने, आँखाको वरिपरि चिप्रा आउने, आँखा पाक्नेलगायतका लक्षणहरू देखिएको स्वास्थ्यकर्मी बताउँछन्। इमर्जेन्सी वार्डमा आएका बालबालिकालाई कुन भाइरसले संक्रमण भएको हो जाँच हुँदैन। इमर्जेन्सी वार्ड इञ्चार्ज कट्टेल भन्छिन्, ‘बहिरंग विभाग (ओपीडी)बाट मात्र नमुना संकलन गरी पठाइएको छ।’ 

के हो एडिनो भाइरस ?   

एडिनो भाइरसले जुनसुकै उमेरका व्यक्तिलाई संक्रमण गराउन सक्ने चिकित्सक बताउँछन्। कान्ति बाल अस्पतालका पूर्वनिर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा. गणेश राईका अनुसार, रोग प्रतिरोधात्मक क्षमता न्यून भएका कारण बालबालिकाहरूलाई बढी संक्रमण हुन्छ।  बालबालिकालाई रुघाखोकी गराउने भाइरसमध्ये एडिनो भाइरस पनि मुख्य भएको डा. राईको भनाइ छ। 

‘रुघाखोकी लगाउने विभिन्न भाइरसहरू हुन्छन,’ डा. राई भन्छन्, ‘एडिनो भाइरस सिजनल फ्लु जस्तो कडा हुँदैन। आँखा रातो हुन थाल्यो, पाक्न थाल्यो भने एडिनो भाइरसको संक्रमण भएको हुन सक्छ। यसको संक्रमणले एक सातासम्म पनि ज्वरो आउने हुन्छ।’ 

एडिनो भाइरसको संक्रमणले विशेष गरी आँखा र पेटमा असर गर्छ। फोक्सो, मुटु, दमलगायत दीर्घरोगको समस्या भएका बालबालिकालाई एडिनो भाइरसको संक्रमणले जटिलता ल्याउन सक्ने डा. राईले बताए। ‘एडिनो भाइरसको संक्रमण तीव्र हुन्छ। ६-७ वर्षअघि पनि एडिनो भाइरसको संक्रमणले गर्दा आँखामा हाल्ने औषधिको पनि अभाव भएको थियो,’ उनले भने। 

संक्रमित बालबालिकालाई नाकबाट पातलो पानी बग्ने, रुघाखोकी लाग्ने, ज्वरो आउनेलगायतका लक्षणहरू देखिएको छ। चाँडोचाँडो श्वास फेर्न थालेमा, ज्वरो आइरहेमा तुरुन्तै स्वास्थ्य जाँच गराउनु पर्ने डा. राईले सुझाव दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.