नागरिकता विधेयक राष्ट्रपतिले रोक्नुपर्छ : एमाले उपाध्यक्ष ज्ञवाली

नागरिकता विधेयक राष्ट्रपतिले रोक्नुपर्छ : एमाले उपाध्यक्ष ज्ञवाली

धनगढी : नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पास भएको नागरिकता विधेयक राष्ट्रपतिले रोक्नुपर्ने बताएका छन। 

प्रेस चौतारी नेपाल कैलालीले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष ज्ञवालीले गठबन्धनको सरकारले बहुमतको दम्भ देखाउदै दुबै सदनबाट विधेयक पारित गरेपनि राष्ट्रपतिले त्यसलाई रोक्नुपर्ने बताएका हुन।

'नेकपा एमालेका कारण धेरै वर्षदेखि त्यो विधेयक रोकिएको थियो, तर सत्ता गठबन्धनले दुबै सदनबाट बहुमतको दम्भ देखाउँदै पारित गर्‍यो, त्यसलाई राष्ट्र्रपतिले रोक्नुपर्छ' उपाध्यक्ष ज्ञवालीले भने। 'यो मेरो ब्यक्तिगत विचार हो, पार्टीको धारणा भने होइन।'

उपाध्यक्ष ज्ञवालीले आफू राष्ट्रय सभाको सदस्य भएको बेला २०५७ सालको स्मरण गराउदै भने '२०५७ सालमा म राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलको नेता थिए, यही विधेयक आएको थियो, सभाबाट त्यो पारित पनि भयो तर पछि राजा विरेन्द्रले पास गरेनन् र अदालत पठाए, अदालतले त्यसलाई अस्वीकृत गरिदियो।'

उनले अंगीकृत नागरिकताका फरक फरक देशका फरक फरक प्रावधान रहेको बताए। 'भारतमै पनि बिहे गरेर आउने विदेशी बुहारीले नागरिकताका लागि सात वर्ष कुर्नुपर्छ, नेपालमा सिन्दुर हाल्यो की नागरिकता दिनुपर्ने?' ज्ञवालीले प्रश्न गरे। उनले नेकपा एमालेले धेरै कोशिस गर्दा पनि त्यो विधेयक पास हुनबाट रोक्न नसकेको बताए।

उनले पास भएको नागरिकता विधेयकले सबैभन्दा बढी मधेसमा प्रभाव पर्ने बताए। 'मधेसमा बिहेको नामका सिन्दुर हाल्छन्, नागरिकता लिन्छन्, अनी 'डिभोर्स' गर्छन्, यस्तो क्रम बढ्यो भने मधेसी जनता अल्पमतमा पर्ने खतरा पैदा भएको छ' उपाध्यक्ष ज्ञवालीले भने।

उनले नेपालको तीन तिर भारतले घेरेकाले पनि विदेशी बुहारीका लागि नागरिकताको प्रावधान अलि कठोर हुनुपर्ने बताए। 'नागरिकता विधेयकले नेपाल फिजिकरणको दिशामा जाने खतरा देखेको छु, यसले हाम्रो जस्तो भौगोलिक अवस्थाको देशको जनसंख्यामा धेरै प्रभाव पार्छ,' उनले भने।

उपाध्यक्ष ज्ञवालीले अर्थमन्त्रीको छानविनमा सत्ता पक्षले नै प्रमाण मेटाएको आरोप लगाए। 'सरकारले सबै प्रमाण मेटाएको छ, सिसिक्यामेराका फुटेज डिलिट छन, अर्थमन्त्रीको यत्रो बिरोध भईरहेको छ, सरकारको यत्रो आलोचना भइरहेको छ, तर पनि यो सरकार फेरि पनि उनलाई नै अर्थमन्त्री पुर्नबहाली गर्ने तयारी गरिरहेको छ, नैतिकता भन्ने पनि कुनै चीज हुन्छ। सरकार नैतिक पतनको बाटोमा गयो' उपाध्यक्ष ज्ञवालीले भने।

नेकपा एमालेका जिम्मेवार नेताहरूबाटै संघीयताको प्रदेश संरचना हटाउने अभिब्यक्ति बारे उपाध्यक्ष ज्ञवालीले, संरचना भन्दा पनि नेतृत्व भ्रष्ट भएको आरोप लगाए। 'नेपालको संघीयता धेरै उत्कृष्ठ छ, प्रदेश सरकारको ब्यवस्था स्थानीय र संघसँगको समुन्वयका लागि राखिएका हो तर प्रदेशमा भ्रष्टाचार बढ्यो, कमिशनमा योजना बने, नेतृत्व भ्रष्ट भयो, अनी जनताले प्रश्न उठाउन थाले' उपाध्यक्ष ज्ञवालीले भने। 

उनले सरकारले अविलम्ब चुनावको मिति घोषणा गर्नुपर्ने बताए। 'सरकारका चुनाव धकेल्ने संकेतहरू देखिन थालेका छन। त्यसैले सरकारले छिटो चुनाव गरोस, चुनावको मिति घोषणामा अब ढिलाइ गर्नुहुन्न' ज्ञवालीले भने। 

नेता ज्ञवाली नेकपा एमालेले सुरु गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणका क्रममा कैलाली र कञ्चनपुर आएका हुन। उनी कैलालीमा प्रदेशस्तरीय प्रशिक्षण, जिल्लास्तरीय प्रशिक्षण र कञ्चनपुरमा पनि जिल्लास्तरीय प्रशिक्षणमा सहभागी भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.