एक सचिवको पानी पुराण
६ हजार त खोला र नदी नै छन्– नेपालमा। गंगा नदीमा हिउँदमा बग्ने पानीमध्ये ७१ प्रतिशत नेपाली भूभागबाट गएको हो। त्यो पानी नेपाल र तिब्बतमा उत्पादन हुन्छ। केही वर्ष जलस्रोत मन्त्रालयको सचिव भएर काम गरेका अन्वेषक डा. द्वारिकानाथ ढुंगेलले अविश्रान्त परिश्रमसाथ नेपालको पानीसम्बन्धी इतिवृत्त समेटिएको एउटा ढड्डु कृति लेखेर खाँटी देशभक्तको परिचय दिएका छन्।
नेपालको ‘पानी पुस्तक’ हो योभन्दा उपयुक्त नै हुनेछ भन्ने लागेको छ– मलाई। यो कृति पढेर मैले कति बुझें, त्यो आफ्नै ठाउँमा छ। पानी पण्डितहरूले चाहिँ अझै बढी बुझ्ने निश्चित छ। कृतिका सर्जकले मलाई पत्याएर ‘यसो दुई–चार हरफ लेखिदिने कि ?’ भन्दै पाण्डुलिपि पढ्ने अवसर दिनु नै कृतज्ञता व्यक्त गर्ने कारण बनेको छ। उहाँको यो विश्वासले म फुलेल भएको छु।
द्वारिकाजीले केही लेखिदिने प्रस्ताव गरिरहँदा पूरै पढ्न त के भ्याइएला सुँघेरै मात्र भए पनि केही त लेख्छु भन्ने भइरहेको थियो। सामग्री हात परेपछि पाना पल्टाउँदै गएँ। जहाँजहाँ आँखा परे त्यहाँ त्यहाँ अडिँदै गए। मेरो अयोग्यताले हो कि यसमा समाविष्ट सामग्रीहरूको आकर्षणले हो पल्टाइएका पाता नबिराइ पढ्न थालें। म सैद्धान्तिक कुरा कम बुझ्छु। देख्दा पानी जति सरल छ, विविध काममा प्रयोग गर्दा त्यति नै जटिल र विश्लेषण गर्दा अझ धेरै दुरुह पनि। भो; अरु नभनांै। यो ग्रन्थको तिर्खा मेट्न आफैंले पढ्नुपर्छ। मैले पानी पिएर तपाईंको तिर्खा मेंटिदैन, तपाईंले नै पिउनुपर्छ।
एउटा सफा ऐना
तपाईंको हातमा भएको यो कृति एउटा सफा ऐना हो। यसमा सिंगो देश नै छर्लंग देख्न सकिन्छ। सरकार के हो ? राजनीति के हो ? राजनीतिक पार्टी के हुन् ? नेता के हुन्, कस्ता हुन् ? उनीहरू कोेबाट परिचालित छन् ? कस्का अगाडि निरीह देखिन्छन् ? त्यसको छनक पनि सहजै पाइन्छ तर पढ्ने धैर्य भने अवश्य चाहिन्छ। पढ्दै गएपछि छोड्न मन नलाग्ने सामग्री एकत्रित गरिएको छ– यो पुस्तकमा।
ढुंगेल करिब साढे दुई वर्ष जलस्रोत सचिव भएका रहेछन्। त्यस क्रममा उनले मन्त्रीका हैसियतमा पशुपतिशमशेर राणा, सहायक मन्त्री (पछि राज्यमन्त्री) सर्वेन्द्रनाथ शुक्ल, प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राज्यमन्त्री राजीव पराजुली र ‘संलग्न मन्त्री’का रूपमा शान्तिशमशेर राणालाई बेहोरेछन्। त्यसैगरी उपप्रधान तथा जलस्रोतमन्त्री शैलजा आचार्यअन्तर्गत पनि काम गरेछन्। उनीहरूसँग सचिवका हैसियतमा काम गर्दाका अनेक रोचक र घोचक प्रसंग पुस्तकमा चाखपरक ढंगले उतारेका छन्।
ऐनारूपी यस पुस्तकमा लेखकले जलस्रोत सचिव छँदा कति ठाउँमा हेपिनु, खेदिनु र खप्की खानु पर्यो, ती सन्दर्भ पनि उल्लेख गरेका छन्। साथै एउटै मन्त्रालयमा दुईजना मन्त्री बेहोर्नु परेको र अर्को मन्त्रीलाई ‘संलग्न मन्त्री’ भन्नु परेको जस्ता राजनीतिक रूपले जटिल रहस्यहरू पनि उजागर गरेका छन्। नेपालका राजनीतिक पार्टी र तिनका नेताहरूको सक्कली अनुहार हेर्नु छ भने अरू होइन; यही ऐना हेरौं।
मन्त्रीको रुचि : जागिर खुवाउने
मन्त्रीहरूको चाख र चासो नीति, योजना तर्जुमा र निर्धारित कार्यक्रम सहजतापूर्वक सञ्चालन भएका छन्, छैनन् ? भन्नेतिर भन्दा नातागोता, पार्टीका कार्यकर्ता, समर्थकहरूलाई जागिर र ठेक्का दिलाउनमा बढी हुने गरेको कुरा यसमा उल्लेख भएका छन्। अन्त केहीमा अल्झाउन नसके सल्लाहकार, जनसम्पर्क, प्रेस सल्लाहकार कुनै पदमा राख्नै पर्ने, जागिर खुवाउनै पर्ने। धन र धाक भएकाहरूले पनि पर्याप्त सेवा र सुविधा कुम्ल्याउने। मन्त्रीले सचिवलाई लिखित रूपमा अधिकार प्रत्यायोजन गर्ने तर मन्त्रीलाई नसोधी सचिवले ती अधिकार प्रयोग नगरोस् भन्ने सोच राख्ने– कस्तो विडम्बना ! त्यतिमात्र होइन, कर्मचारी सरुवामा औधी अभिरुचि लिने मन्त्रीहरूले बढी लाभ हुने पदमा आफ्नो मान्छे सरुवा गर्नैपर्ने हुँदो रहेछ।
नेपाल विद्युत् प्राधिकरण : लैनो गाई
नेपाल विद्युत् प्राधिकरण विद्युतीय शक्ति विकास र विस्तार गर्न बनेको हो कि राजनीतिक कार्यकर्ता पाल्न ? प्रश्न छ। अझ सांसदहरूले सुविधामा झिकाएका गाडी नेपाल विद्युत् प्राधिकरणले भाडामा लिइदिनु पर्ने चाहिँ किन ? यो सामग्री पढ्दै जाँदा पाठकले यस्तै प्रश्न गरिरहन्छन्। चमेलिया जलविद्युत् आयोजना (३० मेगावाट) बाट बत्ती बल्न ११ वर्ष लाग्यो भने १४ मेगावाटको कुलेखानी–३ बाट ऊर्जा उत्पादन हुन १२ वर्ष लाग्यो, खर्च त कति हो कति !
सांँच्चै भन्ने हो भने चमेलिया जलविद्युत् आयोजना बिजुली उत्पादन गर्नेभन्दा ठूलाहरूलाई विलासितायुक्त महँगा गाडी चढाउने परियोजना बन्न पुग्यो। कसरी सकेको होला, त्यति धेरै महँगा गाडी बहुसंख्यामा किन्न ? नेपाल विद्युत् प्राधिकरणलाई सेवामुखी व्यापारिक संस्था बनाउन विफल भएको कुरा पनि उल्लेख छ। प्राधिकरणसँग सम्बन्ध नै नभएका व्यक्तिहरूका लागि समेत विदेश भ्रमणको खर्च बेहोर्नेजस्ता काम पनि हुने रहेछन्। यसरी हेर्दा नेपाल विद्युत् प्राधिकरण लैनो गाई हुन गएको देखिन्छ।
दुर्लभ सन्दर्भ सामग्री
मन्त्री पशुपतिशमशेरले रोजेर लगेका रहेछन्– जलस्रोत सचिवमा डा.द्वारिकानाथ ढुंगेललाई। पछि त कहिलेकाहीँ मन्त्रीसँगै तीतो–पिरो भएछ। निकै ठाकठुक परेछ, घुक्र्याउने काम पनि गरेछन् उनले। उनले पुस्तकमार्फत अमेरिकी कूटनीतिज्ञको हेपाइ र खप्की, अस्ट्रेलियन कंगारुको अपमान पनि सहनु परेको र ब्रह्मले नमान भने पनि राजनीतिक नेताको दबाबमा केही काम गर्नु परेको स्वीकार गरेका छन्। शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवाको दाइ वा भाइ एनरोन कम्पनीका नेपाली एजेन्ट भएको प्रसंग पनि पुस्तकमार्फत सार्वजनिक गरिएको छ। कमिसन एजेन्टहरूका सामुन्ने प्रधानमन्त्रीलगायतका नेताहरूको निरीहता
सविस्तार सार्वजनिक गरेर एक देशभक्तले गर्ने कर्तव्य पूरा गरेका छन्, पुस्तकमार्फत लेखकले।
डा. ढुंगेलले महाकाली सन्धि वरिपरिका सबै घटना र पात्रहरूको सत्य कथा प्रामाणिक तवरले सार्वजनिक गरेर एउटा ऐतिहासिक जिम्मेवारी पूरा गरेका छन् भन्ने टिप्पणी छ– मेरो। त्यस्तै गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमण गर्दा कोसी उच्च बाँध बनाउने निर्णयमा सहमति जनाएको कुरा पनि छ। समग्रमा महाकाली सन्धि, विद्युत् ऊर्जा व्यापार सम्झौता, २०५२, एनरोन र कर्णाली–चिसापानी बहुउद्देश्यीय आयोजना, स्मेकको पश्चिम सेती जलविद्युत् आयोजनामा कसको के अभिरुचि देखियो ? ती अभिरुचिमा हाम्रा राजनीतिक नेताहरूको दृष्टिकोणबारे देखे–भोगेका, टिपोट गरेका कुरा यसमा समावेश गरेर एउटा दुर्लभ सन्दर्भ सामग्री तयार गरी ठूलो गुन लगाएका छन्– लेखकले।
यसलाई नाफा कमाउन मात्र बढी केन्द्रित हुने विदेशी कम्पनीहरू र तिनका नेपाली एजेन्टहरू कति बलवान् हुँदा रहेछन् भन्ने बुझ्न सघाउने उपयुक्त सामग्री मान्न सकिन्छ। स्मेक कम्पनीले पश्चिम सेती जलविद्युत् आयोजना डेढ दशक कब्जा गरेर नेपालको सुदूरपश्चिम क्षेत्रको विकास रोकी राख्ने काम गर्यो। शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्द त्यही क्षेत्रबाट धेरैपल्ट प्रधानमन्त्री भए तर पश्चिम सेती जलविद्युत् आयोजना कार्यान्वयन गर्न सकेनन्। यो कुरा पनि समावेश गरिएको छ– यस ठेलीमा।