गम्भीरेहरू !

गम्भीरेहरू !

कालो फुस्रो अनुहार। छोटो कपाल। पुक्क परेको सानो भुँडी। होचो कदको ऊ हाँस्दै उभियो। लाम्चो टाउको। दाँत पहेंला। चालीसे।

‘चिनिनँ नि ?’, सोधें। रूपरङकै आधारमा अपरिचितलाई तिमी भन्न हुँदैन थियो सायद। मुखबाट फुत्किसकेको ‘तिमी’ले असजिलो मानिरहेको थिएँ। ऊ भने खुसी थियो। प्रफुल्लित भएर बोल्यो, ‘ह्याँ दाइ, के भुलेजस्तो गरेको ? म गम्भिरे के त।’

ओहो ! उसको नाम नै भुल्न त हुँदैनथ्यो। एक त गाउँमा सँगै हुर्किएको मान्छे, त्यसमाथि पनि मेरो एउटा कथाको पनि नायक। कसरी भुल्न सकें हुँला ? सोधें, ‘खोइ त तिम्रो आसिकी स्टाइलको कपाल ?’ ‘ऊबेला कुरा गरेर हुन्छ कहीँ ? दाजु पनि’ हाँस्दै भन्यो।

‘त्यसो त तपाईं पनि कम्ता त हुनुन्थेन नि। कपाल त लामै पाल्नुहुन्थ्यो। के अरे ! दाइ, तपाईंले गाउने गीत ?’ सम्झिएजसरी थप्छ, ‘आते आते आते तेरी याद आगई। कपाल हल्लाउँदै कम्ता गाउनुहुन्नथ्यो। कसलाई देखेर रे दाइ, हजुरले त्यो गाउनी ?’ उल्टै जिस्क्याउन थाल्यो। भनें, ‘नकरा मुर्दार !’

ooo

ऊ थियो गम्भिरे दमाई। मभन्दा उमेरले तीन वर्ष कान्छो। बस्ते ढिकको तल पाखोको पुछारमा थियो उसको घर। सानैमा स्कुल छोड्यो। १६ वर्ष नपुग्दै लभ गरेर स्वास्नी भित्र्यायो। गार्मेन्टतिर काम गथ्र्यो। उसलाई नभेटेको थुप्रै भएछ। नचिन्नु पनि स्वाभाविकै हो।

‘तिम्रो सम्झना शक्ति राम्रो रहेछ’, उसलाई लाइनमा लेराउन भनें। ‘के नसम्झनु त दाइ, तपाईंले कता मेरो लभ परेको भनेर लेख्दिनु भएछ। आशा बज्यैसँग’, सचेत गराउँदै भन्यो। हाँसिरहे। ऊ पनि मुस्कुरायो। बाहुनीसँग कुनै दलितको प्रेम भन्ने कुरा उसका लागि सोच्न सक्ने कुरै थिएन। हुन त ऊ समय समयमा ‘हामीसँग गोरी बाहुनी बज्यैहरूले बिहे गर्दैनन् क्यारे !’ पनि भन्थ्यो। तर यो ठट्टा गर्ने विषय मात्र थियो। काठमाडौं उपत्यका काँठको पुरातन समाजले उसलाई यस्तो ठट्टा गर्ने छुट पनि नदिनुपर्ने हो तथापि यो भइसकेको घटना थियो।

‘दाइ, म जान्छु है !’ उसले मसँग अनुमति माग्यो। ‘हुन्छ’ भन्दै टाउको हल्लाएँ। नभन्दै एकैछिनमा ऊ छु मन्तर भइसकेको थियो। ऊ हिँड्नासाथ पो म झल्याँस्स भएँ, गम्भिरे त मेरो कथाको पात्र। जुन ठाउँमा भनें, त्यहाँ त सार्कीहरूको पो बस्ती छ। कसरी मसँग आएर प्रतिवाद गरेर गयो, गम्भिरेले। सपना हो कि झैं महसुस पनि भयो। सपना मान्न मन तयार थिएन किनकि केही सत्य बोलेर गैसकेको थियो। अलमलिएँ।
के गम्भिरे मेरो भ्रम हो ? उसको अस्तित्व भ्रम हो ? उसको उपस्थिति पनि ? कि ऊ जस्ताले भोगेको जीवन भ्रम हो ? वा मभित्र कतै सुषुप्त भएर गम्भिरे पो बसेको छ ? भित्रभित्रै डर लाग्न थाल्यो। मभित्र कुनै कथाको पात्र प्रवेश गरेको त होइन ? काँप्न थालें।

‘बाऊ बाजेको नामको टुक्रो जग्गा पनि बेचिहालियो। जोड्न सकेको छैन। डेरातिरै बस्छु।’, गम्भिरेले निराश हुँदै सोधेभन्दा बढी सुनायो। लाग्यो, संसारको शान्तिका लागि सोच्दै हिँडेको पात्र क्षणभरमै अशान्त देखियो।

बल्ल सम्झिएँ। केही दिनअघि पनि मर्निङ वाकमा भेटेको थिएँ उसलाई। देख्नासाथ अदरपूर्वक नमस्कार गरेको थियो गम्भिरेले। मुखले नमस्कार फर्काएको थिएँ। ‘दाइ, सधंै मर्निङ वाक गर्नुहुन्छ। राम्रो कुरा हो, स्वास्थ्यका लागि। सिंगो समाजका लागि पनि सोच्नुपर्छ भनेर विश्वमा शान्तिका लागि केही गर्दैछौं’, साथीसँग आएको उसले भन्यो।

गहिरो र गहकिलो वाक्यले रोकिएरै उसका कुरा सुन्न बाध्य भएको थिएँ। थप्दै गयो, ‘संसारमा धेरै किसिमका अशान्ति छन्। परमपिता यसबाट धेरै चिन्तित हुनुहुन्छ। सायद दाइलाई थाहा छैन होला, अहिले माता पनि आउनु भएको छ। हामी सबै लागिरहेका छौं।’ उसले कुनै दार्शनिकझैं भन्यो।

केही कुरा सोधौं जस्तो लाग्यो। ‘साँच्चै गम्भिरे भाइ, आजभोलि तिमी कता बस्छौ ?’ सोधिहालें। ‘बाऊ बाजेको नामको टुक्रो जग्गा पनि बेचिहालियो। जोड्न सकेको छैन। डेरातिरै बस्छु जोरपाटीमा। दुइटा छोरा विदेशतिरै छन्। साउदीमा पैसा कमाएछन् भने घर बनाउँला नत्र उस्तै होला।’, उसले निराश हुँदै सोधेभन्दा बढी सुनायो। लाग्यो, संसारको शान्तिका लागि सोच्दै हिँडेको पात्र क्षणभरमै अशान्त देखियो।

वातावरण बदल्न रमाइलो कुरा सोधें, ‘अनि, तिम्री काली नि ?’ हाँस्दै भन्यो, ‘अब त काली घरबूढी  भैहाली नि।’ यसोभन्दा उसका आँखा चम्किरहेका थिए। सायद कालीसँग माया बस्दाका दिन सम्झिरहेको थियो। ‘जान्छु है दाइ’ गम्भिरे बाटो लाग्यो।

सानो टुक्रे जमिनमा दुई तले घर थियो गम्भिरेको। सहरका घरजस्तै एकआपसमा जोडिएका। उसको गाउँ जाने बाटो गल्लीजस्तै लाग्थ्यो। भित्र जाँदा चिल्लो परेका ससाना आँगन। केटाकेटी नांगै भुतुंगै खेलिरहेका भेटिन्थे। सिलावरको कचौरामा बासी भात लिएर छर्दै खाइरहेका हुन्थे। काली कुकुर पुच्छर हल्लाउँदै तिनको पछिपछि लागेकी हुन्थी। उनीहरू हाते कलमा किटकिट आवाज निकालेर लुगा सिलाइरहेका हुन्थे।

धेरै घर त हुन्नथ्यो। बालीघरे प्रथा बिस्टघर भाग लगाइएको हुन्थ्यो। वर्षदिनको कमाइ र खानपान ठिक्क हुन्थ्यो। त्यसो त बिस्ट खलकले लुगालाई पुग नपुग कपडा ल्याइदिने हुन् तर पनि काटकुट गर्दा निक्लने टुक्राले जोडजाड पारेर नयाँ लुगा सिलाउन पुग्थ्यो। अलिअलि पुराना फाटा पनि आइलाग्थ्यो। सिलाउने सीप आफ्नै भएपछि कपडा किन्न मात्र पनि सहज नै हुन्थ्यो। विशेष चाडबाडमा बिस्ट खलकले दिने विशेष कुरा पनि हुन्थ्यो। असार मंसिर फुर्सद हुँदा खेतबारीको काम पनि हुन्थ्यो। यसबापत नगद ज्याला नपाए नि सहयोग हुने भनेको दसैंमा नै हो।

गम्भिरेका कुराबाट बुझियो, अब त उसलाई दसैं मनाउन पनि नपर्ने भएछ। गम्भिरेसँग जोडिएका यी दुवै घटनालाई सँगै राखेर हेर्ने प्रयास गरें। दुवैमा गम्भिरे फरक थियो। मनस्थिति फरक। कुरा गर्ने शैली फरक। बोल्ने विषयवस्तु फरक। सन्दर्भ फरक। फरक ‘फरक’ फरक। एक्कासि म रनाहामा परें। यस्तो त कहिले पनि भएको थिएन।

के मैले भेटेका यी दुई गम्भिरे फरक हुन् ? के यी दुईको वास्तविकता फरक हो ? यिनले भोगेको जीवन फरक हो ? रिंगटा चल्लाजस्तो भयो। सोचें, यत्रैसित्ति, यी सबको आधारभूमि त एउटै हो नि ! अनि गम्भिरे दुई हुन् वा तीन के फरक पर्छ र ! परिवेश काल्पनिक र यथार्थ जेलिएर के भयो र !
फटाफट घर आएँ र टीभी खोलेर आफूलाई भुलाउन खोजें।

ooo

केही दिनपछि घरबाट बाहिर निक्लिएको थिएँ, गम्भिरे घर अगाडि नै फेला पर्‍यो। ‘नमस्कार ! हजुर।’ उसले दुवै हात जोड्दै टाउको माथि पुर्‍याएर नमस्कार गर्‍यो। ‘आजभोलि कता होइसिन्छ हजुर ?’ गम्भिरे खुला, स्पष्ट अनि राजसी भाषामा पनि बोल्दै थियो। ‘यतै छु आजभोलि। काठमाडांैतिरै।’ ‘सहयोग गर्नुपर्‍र्यो हजुर।’ उसले प्रत्येकपटक ‘हजुर’ लगाएर बोल्थ्यो। ‘कस्तो के सहयोग र ?’

‘हेर्नुस् हजुर। २०७० को चुनावमा संविधानसभा सदस्यको उम्मेदवार थिएँ। समानुपातिकमा नाम थियो। पछि त मेरो नामै सिफारिस गरेनन्। बुझ्दा त सूचीमा मेरो नाम कहाँ रहेछ कहाँ ! राजनीति राम्रोसँग नबुझेको मान्छे अहिले बुझें। 

अनि पार्टी चेन्ज गरें। अब त समानुपातिकमा अलिक अगाडि नै नाम पर्छ होला। भोट माग्न थालिसकें नि !’ उसले पूरै वृत्तान्त उत्साहपूर्वक भन्यो।

कुरा गर्ने शैली हेरिरहें। गम्भिरे एकदमै खुसी देखिन्थ्यो। समानुपातिकमा नै सही सांसदको उम्मेदवार हुने भयो भन्ने कुराले खुसी लाग्यो। दूध किन्न निक्लेको म गम्भिरेका बारेमा सोच्दै त्यतै लागें। फर्किदा त्यहाँ थिएन। ऊमाथि शंका लाग्यो। तीनपटक भेट्दा उसका सपना फरक थिए। कटाक्ष फरक थियो। हरेक कुरा फरक। किन यस्ता घटना भैरहेछन् ?

अब भने दिमागको सन्तुलन गुमाएँजस्तो भएँ। कोठा पुगेर पनि यसै असरल्ल परेर बसें। पत्नीले ल्याइदिएको चियामा बाक्लो तर परिसकेछ। विस्तारै पन्छाउँदा चियाको कपभित्र अनौठो दृश्य पो देखियो। यतिखेर काँठको भूगोलमा जन्मेहुर्केका गम्भिरेहरू आआफ्नो सपनाको सहरमा असरल्ल कुदिरहेका देखिन्थे। उनीहरूको बस्तीको छायाँ तुवाँलोले विस्तार ढाक्दै गरेको पनि देखिन्थ्यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.