साउनको सोमबार पञ्चकमयको पूजा

साउनको सोमबार पञ्चकमयको पूजा

भगवान् शिव करोडौं सूर्यसमान तेजस्वी मानिन्छन्। उनै शिवको वर्षमा महिनाभरि पूजा हुने भनेको साउन महिना मात्र हो। श्रावण मास भनेर चिनिने साउनमा व्रत बसी शिवको दर्शन र पूजाआजा गरे विशेष कृपा र आशीर्वाद प्राप्त हुने जनविश्वास छ।


साउन महिना शिवको महिना। भगवान् शिव देवताहरूका पनि देवता। अर्थात् देवका पनि देव महादेव मानिन्छ शिवलाई। भगवान् शिव करोडौं सूर्यसमान तेजस्वी मानिन्छन्। उनै शिवको वर्षमा महिनाभरि पूजा हुने भनेको साउन महिना मात्र हो। श्रावण मास भनेर चिनिने साउनमा व्रत बसी शिवको दर्शन र पूजाआजा गरे विशेष कृपा र आशीर्वाद प्राप्त हुने जनविश्वास छ। पूजाआराधनाबाट शिव प्रसन्न हुन्छन्। अझ जलाभिषेक र रुद्राभिषेकको महत्त्व बढी छ। नीलकण्ठ र रुद्रका नामले पनि चिनिने शिवलाई प्रसन्न पार्न निष्काम भावले रुद्रीपाठ गर्ने चलन छ। जसबाट अनन्त गुणा बढी फल मिल्ने शास्त्रहरूमा वर्णित छ।

वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्राध्यापक डा. देवमणि भट्टराई साउन महिना हरियाली हुने र शिव प्रकृतिप्रिय हुने भएकाले साउन शिवको महिना भएको बताउँछन्। ‘साउनमा विधिपूर्वक सोमबारको व्रत गर्नुपर्छ। व्रत बस्दा सक्नेले उपवास बस्ने र नसक्नेले व्रत बसेर रात्रिमा भोजन गर्नुपर्छ’, भट्टराई भन्छन्, ‘यसो गर्दा धन नभएकाले धन प्राप्त गर्ने, अपुत्रले पुत्र लाभ गनेजस्ता अनेकौं फल प्राप्त गर्न सकिन्छ।’ सोमबारका दिन शिवशंकर र पार्वतीको मुख्य रूपमा पूजा गरिन्छ भन्ने शास्त्रीय मान्यता छ। यसै पनि धर्म र संस्कृतिले मानव जातिलाई पवित्र र सकारात्मक बन्न प्रेरित गरिरहेकै हुन्छ।

साउनमा सोमबारको व्रत सके जीवनभर बस्नु उत्तम हुने शास्त्रहरूमा वर्णन गरिएको छ। जीवनभर लिन नसक्नेले १४ वर्षसम्म लिएर साङ्गे गरेर समापन गर्न सकिने उल्लेख छ। ‘त्यो पनि नसके सबै महिनामा सोमबारको व्रत लिन सकिन्छ तर श्रावणको सोमबार भने विशेष महत्त्वको हुने भएकाले लिनु एकदमै उपयुक्त हुन्छ’, भट्टराई भन्छन्, ‘साउनको सोमबारको व्रत लोक र परलोक दुवैका लागि फल दिने खालको पाइन्छ। नरनारीले आजीवन यो लोक र परलोकको फल प्राप्त गर्न यो व्रत लिन्छन्। यो व्रत ब्रह्मा, विष्णु आदि देवताले पनि लिनु भएको थियो।’

शास्त्रहरूमा पनि लेखिएको छ, भगवान् शंकरलाई शुद्ध जलले अभिषेक गर्दा वर्षा हुने, कुशको जलले अभिषेक गर्दा रोगनाश हुने, दहीले अभिषेक गर्दा पशुबाट लाभ हुनेछ। यस्तै, उखुको रसले अभिषेक गर्दा लक्ष्मी प्राप्त हुने, मह तथा घिउले अभिषेक गर्दा धन प्राप्त हुने गर्छ। तीर्थको जलले अभिषेक गर्दा मोक्ष प्राप्ति हुने र दूधले अभिषेक गर्दा पुत्र प्राप्ति हुने उल्लेख छ। संस्कृतको श्लोकमा के पनि उल्लेख छ भने ज्वरोको प्रकोप शान्त गर्न जलले अभिषेक, एक हजार मन्त्रसहित घिउको धाराले अभिषेक गर्दा वंशको वृद्धि हुने अनि दूधले अभिषेक गर्दा दीर्घायु र मनोरथ पूर्ण हुनेछ। 

अझ तोरीको तेलले अभिषेक गर्दा त शत्रु नै नास हुने कुरा पनि शास्त्रीय मान्यता छ।

धर्म सिन्धु र निर्णय सिन्धुमा के छ ?

धर्म सिन्धुमा साउनको सोमबार व्रत लिँदा सके एक छाक खानु नसके दिनभर व्रत लिएर साँझपख खानु भनिएको छ भनी दोस्रो परिच्छेदमा उल्लेख छ। जसमा शिवको पूजा गरेर शिवको अभिषेक गर्नु भनिएको छ। यस्तै, निर्णय सिन्धुमा सोमबारको व्रत लिनू भनिएको छ। सिन्धुको परिच्छेद २ मा पनि साउनको सोमबार सके दिनभर उपवास बस्नु नसके मात्र साँझपख खानु भन्ने उल्लेख छ। जसमा साउनका सोमबार विधिपूर्वक व्रत लिनू भनिएको छ। पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव एवं संस्कृतिविद् प्राध्यापक चेतोनाथ गौतम भगवान् शिवको महिना भएकाले सके साउन महिना पूरै व्रत बस्ने नसके चार वा पाँचवटा पर्ने सोमबार व्रत लिई पूजाआराधना, जलाभिषेक र रुद्री पूजा गर्नु उपयुक्त हुने सुझाउँछन्।भगवान् शिवको मूर्ति पञ्चब्रहृममय बनेको छ। पञ्चब्रहृमका अठ्तीस कलाले समेत युक्त छ। ब्रह्मा, विष्णु र रुद्रमा जीवतत्तव छ, त्यसैले ती ब्रह्म होइनन्। शिवमा चाहिँ जीवतत्तव छैन, ब्रह्मतत्त्व छ। त्यसैले उनलाई परब्रह्म परमेश्वर भनिएको हो।

असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मको चतुर्मासामा साउन महिना पर्छ। यो चतुर्मासामा हरिशयनी एकादशी (सुतेको निद्रामा लिन भएको, प्रकृति पनि सुतेको) पर्छ। यो चतुर्मासा (यी चार महिना) मा धार्मिक कार्य गर्न मिल्ने तर गृहस्थ कृत्य विवाह व्रतबन्ध आदि गर्न नमिल्ने संस्कृतिविद् बताउँछन्। संस्कृतिविद् डा. गोविन्द टण्डनका अनुसार सौन्दर्यले भरिपूर्ण साउन हरियाली र प्रकृतिको मनमोहक अवस्था भएकाले वातावरण मानिसका लागि अनुकूलन समय हो। ‘साउनमा सोमबार चार वा पाँचवटा पर्छन्, यी दिन शिवको विशेष आराधना गर्ने दिन’ टण्डन भन्छन्, ‘आराधनाले दिव्य बुद्धि प्राप्त हुन्छ भनिन्छ। पार्वतीले शिवजी प्राप्त होऊन् भनेर साउनको सोमबार व्रत बसी पूजाआराधना गरेको बुझिन्छ। आशुतोष भएकाले जल चढाउँदा शिव खुसी हुन्छन्।’

पञ्चकमय शिव यस कारण पशुका पति

भगवान् शिव कलासहित र कलारहित दुवै स्वरूपको हुनुहुन्छ। शिवले दायाँतर्फका हातमा उज्ज्वल शूल, बन्चरो, बज्र, खड्ग र अग्निलाई लिनु भएको छ। बायाँतर्फका हातमा उज्ज्वल पिनाक, नाराच, घण्टा, पाश र अंकुशलाई लिनु भएको छ। उहाँको श्रीविग्रहको घुँडापर्यन्तको भाग निवृत्तिकलाले, त्यहाँदेखि माथि नाभीसम्मको भाग प्रतिष्ठाकलाले, नाभीभन्दा माथि कण्ठसम्मको भाग विद्याकलाले, कण्ठदेखि माथि निधारसम्मको भाग शान्ताकलाले र त्यसभन्दा माथिको भाग शान्त्यतीता नामक परमकलाले बनेको छ। यसरी पाँचवटा कलाले व्याप्त भएकाले उहाँको विग्रह कलापञ्चकमय छ भनी शिव महापुराणमा वर्णन गरिएको छ।

कैलाससंहिताअन्तर्गत शिवध्यानपूजन वर्णन गरिएको सातौं अध्यायमा भनिएको छ, ईशान शिवको मूर्तिको मुकुट हो, पुरुष अर्थात् तत्पुरुष उहाँको पुरातन मुख हो, अघोर हृदय हो, वामदेव गुहृय हो अनि सद्योजात चाहिँ उहाँको चरण हो। यसरी उहाँको मूर्ति पञ्चब्रहृममय बनेको छ र पञ्चब्रहृमका अठ्तीस कलाले समेत युक्त भएको छ। ब्रह्मा, विष्णु र रुद्रमा जीवत्त्व छ, त्यसैले ती ब्रह्म होइनन्। शिवमा चाहिँ जीवत्त्व छैन, ब्रह्मत्त्व छ। त्यसैले उनलाई परब्रह्म परमेश्वर भनिएको हो। यसैगरी, निर्गुण, निराकार परब्रह्म भएर पनि शिव जीवको कल्याणका लागि विभिन्न रूप धारण गर्छन् र विभिन्न लीला गर्छन् भनेर पनि शिव महापुराणमा उल्लेख छ।

अज्ञानरूप पाशले बाँधिएर सांसारिक मोहजालमा फसेका समस्त जीवजगत्को अज्ञान नष्ट गरेर उद्धार गर्न भगवान् शिव पशुपतिस्वरूप धारण गर्दछन्। उनका दृष्टिमा मलमायादी पासोले बाँधिएका ब्रह्मादेखि स्थावरसम्मका सम्पूर्ण जीव पशु हुन्। तिनको उद्धार गर्ने, रक्षा गर्ने हुनाले भगवान् शिव पशुपति हुन्, पशुरूप जीवको रक्षा गर्ने मालिक अर्थात् पति हुन् भनी महापुराणमा वर्णन छ।

ओम नमः शिवाय

श्रीशिवमहापुराणको सातौं वायवीयसंहिताअन्तर्गत पूर्वखण्डमा उपमन्युको तपस्यावर्णनकमा ओम नमः शिवायबारे यस्तो उल्लेख छ, वरदायी देवाधिदेव साक्षात् भगवान् शंकरको वाचक मन्त्र ‘ओम नमः शिवाय’लाई मानिएको छ। ॐ कारसहितका सात करोड अरू सबै मन्त्र त्यही पञ्चाक्षरी मन्त्रमै विलीन हुन्छन् र फेरि त्यसैबाट निस्किन्छन्। अन्य मन्त्रभन्दा यो ‘ओम नमः शिवाय’ मन्त्र निकै शक्तिशाली छ, सबैको रक्षा गर्न पनि यो समर्थ छ, त्यसकारण अन्य मन्त्रका पछाडि नलागेर शिवपञ्चाक्षर मन्त्रको जपमा तत्पर होऊ भनी उल्लेख गरिएको छ। भनिन्छ, यो मन्त्र जिब्रामा आइसकेपछि कुनै कुरो दुर्लभ हुँदैन।

सोम प्रदोष व्रतमा के गर्ने ?

हरेक महिनाको त्रयोदशीका दिन शिवको सम्झना गरिन्छ। शिवको सम्झनास्वरूप नै प्रदोष व्रत लिने गरिन्छ। प्रदोष भनेको त्रयोदशी हो। संस्कृतिविद्का अनुसार, एकादशीका दिन विष्णुलाई स्मरण गरिन्छ भने प्रदोष अर्थात् त्रयोदशीका दिन भगवान् शिवको स्मरण गरिन्छ। शास्त्रमा वर्णन भएअनुसार, उक्त दिन शिवले चन्द्रमाको रोग निवारण गरेका थिए। साउन ९ गतेको सोमबार प्रदोष व्रत परेको थियो। यस्तो दिनमा सोम प्रदोष व्रत लिइन्छ।

प्रदोष व्रत लिनेहरूले उक्त दिन शिवलाई प्रसन्न पार्न शिवको महिमा गाउने गर्छन्। जुन दिन जसको नाममा व्रत लिइन्छ, उक्त दिन सोही भगवान्को पूजाआराधना गरेर मात्र भोजन गरिन्छ। प्रदोष व्रतका दिन शिवलाई कालो तिल, फूल, अबीर, चन्दन, धतुरा, बिल्व पत्र, दीप, कपूर, शमी पत्र, जनै, अगरबत्ती र फलफूल राखेर पूजा गर्नुपर्ने संस्कृतिविद्को भनाइ छ। यो दिन सक्ने व्रतालुले पानीसमेत नपिई प्रदोषकालमा (सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि र सूर्यास्त भएको ४५ मिनेट पछाडि) शिवको पूजा गर्छन्।

अनि सुरु भयो सोमबारको व्रत
चन्द्रांगद नामक राजा थिए। शिमन्तिनी नाम गरेकी उनकी पत्नी थिइन्। एक दिनको कुरा हो, राजा चाहिँ सिकार खेल्न गएका थिए। पोखरीको जलमा डुबे। त्यो खबर सुनेर रानी व्याकुल भइन्। तीन वर्षसम्म बेहोस् भइन्। शोकमा परिन्। पानीमा डुबेपछि उतातिर राजालाई राक्षसहरूले लिएर गए। राजालाई तीन वर्षसम्म राखियो। त्यसैले राजालाई पनि सबै कुरा याद भएन। एकदिन छुट्कारा पाएपछि घोडा चढेर घुम्न थाले। सोही क्रममा पहिलेकै तालमा एक सुन्दरीलाई नुहाइरहेको देखे। राम्री युवती को रहिछन् ? भनेर चासो भयो। उनी छेउमा पुगे। उनले स्नानपछि कपडा लगाएको देखे। उनलाई थाहा भयो कि उनी विधवा रहिछन्। उनले यसरी युवतीलाई सोध्दा त्यो कुरा सखीहरूले सुनिरहेका थिए।
उनी चित्र बर्माकी छोरी, निषद राजाकी बुहारी र चन्द्रांगदकी पत्नी भनेर सखीहरूले उनको परिचय दिए। उनीहरूले यो पनि भने कि अकस्मात् यिनका पति डुबेर मरेका थिए। त्यसकारण उनी एकल महिला भइन्। यिनी शोकमा परेको तीन वर्ष भयो। आज सोमबारको दिन हो। त्यसैले यिनी स्नानका लागि यहाँ आएकी हुन्, शिवजीको व्रतका लागि। यो सुनेपछि राजाले भने, ए सुन्दरी ! तिम्रो शोकको कारण मलाई थाहा भयो। मैले कहीँ तिम्रा पतिलाई देखेजस्तो लाग्छ। तिमीले जुन व्रत गर्दैछौ त्यसद्वारा छिट्टै तिम्रो शोक हराउनेछ। म तिम्रा पतिको साथी हुँ। यसकारण यहाँ आएको हुँ। सन्देह नगर्नू जसले शिवको पूजा गर्छ सपथ खान्छ त्यस्ता मान्छेले कहिल्यै असत्य बोल्दैनन्।
रानी लजाइन्। राजाले यो कुरा मातापितालाई बताउनू भने। ऊ घोडामा चढेर केही पर पुगे। रानीको मनमा विचार आयो कि यी मानिस पति हुनुपर्छ। त्यसपछि भगवान् शिवको पूजाआराधना गरिन्। उनलाई शिव प्रसन्न भएपछि मनुष्यका लागि कुनै पनि कुरा प्राप्त हुन्छ भन्ने मनमा आयो। बुबासँग भनिन्। बुबाले सम्धीसँग भने। दुवै मिलेर खोजे। ज्वाइँ प्राप्त गरे। छोरो घरमा ल्याए। बुहारी पनि ल्याए। दुवैले छोराबुहारी छोरी ज्वाईं अनुमोदन गरे। तिनबाट आठ पुत्र र एक कन्याको जन्म भयो। साउनको सोमबार शिवको पूजाआराधना गर्नाले उनले पति प्राप्त गरिन्। पछि दुवैले शिवजीको आराधना गरेर शिवलोक प्राप्त गरे। स्कन्ध पुराणमा उल्लेख गरिएको यो कथा विश्वनाथ शर्माले लेखेको ‘व्रतराज’ पुस्तक (२०५० साल) भारत बम्बईबाट प्रकाशित भएको हो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.