भूतखोलामा सोमबारे पूजा
तानसेन : तिनाउ गाउँपालिका–३ स्थित भूतखोला झरनालाई व्यवस्थित गरी व्यावसायिक रूपमा सञ्चालन गरिएको छ। भूतखोला झरना तथा सिद्ध सरोवरको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले शुभारम्भ गरेका छन्। यहाँ भारतीय पर्यटकसहित दैनिक सयौं पर्यटक पुग्ने गर्छन्। श्रावणको दोस्रो सोमबारको दिन पारेर सिद्ध सरोवर तथा भूतखोला झरना सञ्चालनमा ल्याइएको थियो।
त्यसयता व्रतालुहरूसमेत यहाँ पुग्न थालेका छन्। पानी झर्ने क्षेत्र गहिरो हुँदा पौडी खेल्ने क्रममा बर्सेनि ठूलो धनजनको क्षति हुँदै आएको थियो। अहिले सो क्षेत्रको जोखिम हटाएर दैनिक रूपमा कर्मचारी खटाएर भूतखोला झरना सञ्चालनमा ल्याइएको हो। झरना अवलोकनको लागि २० रुपैयाँ टिकट शुल्क तोकिएको छ।
साउनको सोमबार दिनमा भूतखोलाको पानी सिद्धबाबा मन्दिरमा चढाउने परम्परा छ। भूतखोला क्षेत्रमा धार्मिक तथा पर्यापर्यटक बढेपछि डिभिजन वन कार्यालयले २० लाख र तिनाउ गाउँपालिकाको ४ लाख रुपैयाँमा सो क्षेत्रको सौन्दर्यकरण, पर्यटकले हेर्ने, रमाउने तथा पौडी खेल्ने गरी व्यवस्थापन गरिएको छ । प्राकृतिक संरचनालाई नै सौन्दर्यीकरण गरेर धार्मिक पर्यटकसमेत भित्र्याउन सरकारले लगानी गर्ने मुख्यमन्त्री केसीले बताए।
वन तथा वातावरण मन्त्री सुरेन्द्र हमालले तिनाउ गाउँपालिकामा थुप्रै धार्मिक तथा पर्यटकीयस्थल धारणा राखे। प्राकृतिक सम्पदालाई सुन्दर बनाउँदै स्थानीय स्तरमा आयआर्जन बढाउन उनको भनाइ छ। परापर्यटन विकासलाई आफूहरूले उच्च प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए। भूतखोला झरना हेर्न आउने पर्यटकलाई लक्षित गरी पालिकाले शौचालय निर्माण गर्ने योजना बनाएको छ।
वन अधिकृत दीपक ज्ञवालीले वन कार्यालयद्वारा निर्मित संरचना पूर्णरूपमा पर्यावरण मैत्री रहेको, उपभोक्ताको सहभागिता र अपनत्वमा सञ्चालन गरिएको बताए । भूतखोला झरना तथा सिद्ध सरोवरको व्यवस्थापन भूतखोला सामुदायिक वन उपभोक्ता समूहले गर्नेछ। a