नुवाकोटको दाङसिङमा अस्पताल निर्माण सुरु
नुवाकोट : गाउँबासीको सुविधाका लागि नुवाकोटको तारकेश्वर गाउँपालिकामा अस्पताल निर्माण सुरु भएको छ। अस्पतालको निर्माणसँगै स्थानीयलाई उपचार गर्न सहज हुने जनाइएको छ।
जिल्लाको तारकेश्वर गाउँपालिका-१ दाङसिङमा निर्माण हुने १० शैय्याको दानसिंङ अस्पतालको शनिबार शिलान्यास गरिएको छ। गाउँपालिकाका अध्यक्ष शिव अधिकारी अविरलले विशेष कार्यक्रमकाबीच अस्पताल भवनको शिलान्यास गरेका हुन्।
अस्पताल भवनको निर्माणसँगै गाउँका बिरामीहरुलाई सदरमुकाम विदुर तथा काठमाडौंसम्म जानुपर्ने वाध्यताको अन्त्य हुने उनले बताए। अध्यक्ष अधिकारीले अस्पताल भवन निर्माण मात्रै नभई यसभित्र गुणस्तरीय सेवा प्रदान गर्नका लागि गाउँपालिकाले क्रियाशीलता अपनाउने बताए।
कुल ११ करोड रुपैयाँ लागतमा एक वर्षभित्र निर्माण गरिने सो भवन लिफ्टसहितको दुई तल्ले र ५० कोठा रहने छ। करिब पाँच रोपनी क्षेत्रफलको जग्गामा सो अस्पताल भवनको गाउँपालिकाको केन्द्रमा निर्माण सुरु गरिएको हो।
शिलान्याससँगै उक्त अस्पताल निर्माणको काम सुरु भएको छ। स्वास्थ्यकर्मीसहित २२ जना कर्मचारी रहने यो अस्पताल तारकेश्वरकै ठूलो र सुविधासम्पन्न अस्पताल हुने गाउँपालिकाले जनाएको छ।
गाउँबासीलाई सुविधासम्पन्न स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल भवनको निर्माण कार्यको थालनी भएको प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले बताए। उनले यसबाट बिरामीहरूलाई निकै सुविधा पुग्ने बताए।