३९ वर्षमा पश्चिम फर्कियो कोसी : सयौं घर परिवारको बिचल्ली
धरान : सप्तकोसी नदी ४० वर्ष पश्चात पुनः पश्चिम फर्किएको छ। अविरल बर्षातसँगै सप्तकोसी नदीमा पानीको बहाव बढेपछि सुनसरीको बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिकाका सयौं घर परिवारको बिचल्ली भएको छ। सप्तकोसीको चतरा पुल मुनिको डुर्मिबोटेबाट कोसीले फुटेर उदयपुरको बेलका नगरपालिका प्रवेश गरेको छ। सप्तकोसीमा बाढी आएको समयमा भारतले कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण डुर्मिबोटेबाट श्रीलंका टापुको खेतियोग्य जमिन र मानव बस्तीमा बाढी प्रवेश गरेको छ। कोसीपश्चिमतर्फ फर्किएपश्चात सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकाका वासिन्दा आतंकित भएका छन्। भारतले कोसी ब्यारेजका ढोका नखोलेकै कारण कोसी ३९ वर्ष पश्चात पश्चिमतर्फ फर्किएको बराहक्षेत्र नगरपालिका - ६ स्थित श्रीलंका टापुका बद्री राईले बताए। कोसीलाई तत्काल नियन्त्रण गर्न नसक्ने हो भने ठूलो जनधनको क्षति गर्ने उनको भनाई छ।
अर्का स्थानीय विक्रम पाण्डेले कोसीको बाढी श्रीलंका टापु प्रवेश गरेपछि यहाँका बासिन्दाहरु सुरक्षित स्थानतर्फ जान थालेको बताए। घरमा भएका भाडा वर्तन, लत्ता कपडा चौपाया डुर्याउँदै स्थानीय बासिन्दाहरु सुरक्षित स्थानतर्फ जान थालेको बताए। कोसीको बाढी डुर्मिबोटे हुँदै सिसौलीघाट, धौरी टापु, चिलिमे, श्रीलंका टापुतर्फ प्रवेश गरेपछि यहाँका सयौं घर बाढीको उच्च जोखिममा परेका छन्।
स्थानीय प्रशासनले नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेपनि बाढी नियन्त्रणमा समस्या भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्र देश यादवले बताए। सुनसरीको बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले कोसी फुटेर पश्चिमतर्फ प्रबेश गर्दा सयौ घरपरिवारका जनताको विचल्ली भएको बताए। उनले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको बताए।
तत्काल कोसी ब्यारेजका सबै ढोका नखोलिए श्रींलका टापुका बासिन्दाको ज्यान जोखिममा पर्ने छ। स्थानियले व्यारेजका सबै ढोका खोल्न र फुटेको कोसी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।