सरकारले निर्वाचन सार्न बहानाबाजी गर्नसक्छ : थापा
भैरहवा : नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्युठान इन्चार्ज सूर्य थापाले सरकारले निर्वाचनको मिति सार्ने विभिन्न बहानाबाजी गर्नसक्ने बताएका छन्। लुम्बिनी प्रेस क्लब भैरहवाले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले गठवन्धनको सरकार सकेसम्म संविधानले तोकेको मितिमा निर्वाचन गर्ने पक्षमा नरहेको उल्लेख गरेका हुन्।
निर्वाचन सत्ताधारी, गठबन्धन र प्रमुख प्रतिपक्षी दलको मात्र विषय नभइ जनता र मतदाताको विषय भएकाले निर्वाचन गर्न सरकार आलटाल गर्न नहुने उनले उल्लेख गरे।
‘अहिले सकेसम्म सत्ता लम्ब्याउने, मंसिरमा निर्वाचन हुँदा के हो, के हो भन्ने हालत भएपछि फागुनसम्म गरिहाल्न सकिन्छ कि भन्ने ढंगले भित्री चलखेल भइरहेका छन्,’ उनले भने, ‘मंसिरबाट सार्ने भनेपछि नेपालको भौगोलिक अवस्थाले हिमाली भेगमा फागुन १५ भन्दा अगाडि निर्वाचन हुनसक्ने अवस्था रहँदैन।’ त्यसो हुँदा निर्वाचन सार्ने, पर धकेल्ने र अन्ततः वैशाखमा पुर्याउने चलखल हुनसक्ने उनको बुझाइ छ।
नेता थापाले कम्युनिष्ट भनिने केही दलहरु साइनबोर्ड कम्युनिष्टको झुण्डाएर नेपाली कांग्रेसको अगुवापछुवा भएको टिप्पणी गरे। ‘साइनबोर्ड कम्युनिष्टको छ, गठबन्धन कांग्रेससँग छ, अनि एमालेलाई जसरी पनि हराउन गठबन्धन भनेका छन्, एमालेको सरकार ढाल्न गठबन्धन बनाएका हुन्। यो दुनियाँका सामु छर्लङ्ग नै छ।’
ती दलका नेता, कार्यकर्ताहरु कम्युनिष्ट हुन् वा होइनन् त्यो भनिरहन् नपर्ने उनले सुनाए। थापाले स्वार्थको रोटी सेक्नका लागि मात्र गठबन्धन भएको बताए।