बर्खे आलु उत्पादन घट्यो
बेनी : म्याग्दीबाट निकासी हुने प्रमुख कृषि उपज बर्खे आलुको उत्पादन घटेको छ। क्षेत्रफल विस्तार भएपनि रोगकिराको प्रकोपले आलुको उत्पादन घटेको हो।
यसपाली बन्दामा लाग्ने क्याबेज सेमिलुपर किरा मुख्य समस्याको रूपमा म्याग्दीका अधिकाशं आलु उत्पादन क्षेत्रमा देखिएको थियो। अन्नपूर्ण गाउँपालिकाको नागी, राम्चे क्षेत्रमा गरिएको स्थानीय जातको आलुमा ऐजेरु रोग पनि देखिएको छ।
अन्नपूर्ण गाउँपालिका-८ राम्चेका फासबहादुर पुर्जाले गत वर्षको तुलनामा आधा कम आलु फलेको बताए। 'हुर्कने र दाना लाग्ने समयमा किराले पात खाएर बिरुवा नष्ट गरेपछि उत्पादनमा असर पुग्यो,' उनले भने 'गत सालको तुलनामा आधा उत्पादन घट्यो।' गत साल बीस मुरी आलु उत्पादन गरेका कृषकले यसपाली दश मुरी मात्र फलाएका उनले बताए।
अन्नपूर्ण-८ नागीका कृष्ण पुर्जाले उत्पादनसँगै कृषकहरूको आम्दानी पनि घटेको बताए। बजारमा मागअनुसार आलु पुर्याउन नसकिएको र आम्दानीमा असर परेको पुर्जाले बताए। नागी राम्चेबाट वार्षिक दुई करोड रूपैयाँ मूल्य बराबरको आलु निकासी हुने गरेको थियो।
कृषि ज्ञान केन्द्रका अनुसार म्याग्दीमा एक हजार ९५ हेक्टर क्षेत्रफलमा बर्खे र ६२० हेक्टरमा हिउँदे आलु खेती हुने गरेको छ। गत वर्ष १८ हजार १२ मेट्रिक्टन बर्खे र सात हजार २७१ मेट्रिक्टन हिउँदे आलु उत्पादन भएको केन्द्रको तथ्यांक छ।
उच्च पहाडी क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु पोखरा, काठमाडौंलगायत बजार क्षेत्रमा निकासी हुने गरेको थियो। जिल्लाबाट वार्षिक ६ करोड रूपैयाँभन्दा बढी मूल्यको आलु निकासी हुने तथ्यांक छ।
उत्पादितमध्ये ७० प्रतिशत अथवा एक हजार मेट्रिक टनभन्दा बढी आलु निकासी हुने गरेको हो। किसानले प्रतिकेजी ५० देखि एक सय रुपैयाँसम्ममा आलु बेच्ने गरेका छन्। व्यापारीले अग्रिम पेस्कि दिएर बारीमा नखन्दै आलु खरिद गर्छन्।
अन्नपूर्ण गाउँपालिको शिख, घार, राम्चे, हिस्तान, रघुगंगाको पाखापानी, ठाडाखानी, चिमखोला, कुइनेमंगले, कुइने मंगलाको हिँदी, झाँक्रीपानी, किमचौर, टोड्के, मालिकाको बिम, दिच्याम, धवलागिरीको गुर्जा, मरेनी, बेनीको भकिम्ली, डडुवा, आलु उत्पादन हुने ठाउँ हुन।
कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले सेमिलुपर र ऐजेरुका कारण आलुको उत्पादकत्व घटेको बताए। 'बल्क, जोन र पकेटका कार्यक्रमबाट आलु खेतीको क्षेत्रफल विस्तार भएकाले समग्रमा १५ देखि २० प्रतिशत उत्पादन घटेको अनुमान गरेका छौ,' उनले भने 'ऐजेरु देखिएको ठाउँमा आलुको उत्पादकत्वमा असर पुगेको छ।'
एकैपटक फैलिएको रोगकिरा रोकथामका लागि आकस्मिक बाली संरक्षण सेवा कार्यक्रमअन्तर्गत निःशुल्क इबामेक्टिन बेन्जोएट, स्पाइनोटेरम विषादी वितरण गरिएको थियो। म्याग्दीमा हाल स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिकाको ६, ७ र ८ र अन्नपूर्ण गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडामा गत आर्थिक वर्षदेखि व्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन) कार्यक्रम सञ्चालन गरेको छ।
कृषि ज्ञान केन्द्रमार्फत यसअघि रघुगंगा गाउँपालिका-८ कुइनेमंगले, अन्नपूर्ण-८ राम्चे र मंगलाको ३, ४ र ५ नम्बर वडामा आलुको व्यवसायिक उत्पादन केन्द्र सञ्चालन भएको थियो। गत आर्थिक वर्षदेखि मालिका गाउँपालिकाको ६ दिच्याम र ७ बिमलाई आलु बल्क कार्यक्रममा समावेश गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले बताए।
बल्क कार्यक्रममार्फत बिममा आलु रोप्ने मेसिन भित्रिएको छ। बल्कमा आवद्ध कृषकहरूलाई मिनिटेलर, थ्रेसर, मिल, विउ, बोरा छपाई, चिप्स मेकर, स्पेयर, मल्चिङ पलास्टिकलगायतका सामग्री अनुदानमा उपलब्ध गराइएको छ।