‘फर्जी’ उत्तराधिकारी, जानकी मन्दिरको सम्पत्ति दोहन
जनकपुरधाम : प्रसिद्ध जानकी मन्दिरका महन्त रामतपेश्वर दास ‘वैष्णव’ का चेला हुन, रामरोशन दास ‘वैष्णव’। आफूलाई महन्तको ‘उत्तराधिकारी’ घोषणा गर्दै रामरोशनले जानकी र लक्ष्मण मन्दिरको लाखौं सम्पत्ति हिनामिना गरेका छन्। मन्दिरको स्वामित्वका सटरको भाडा र मन्दिरको जग्गामा लगाइने धानबालीबाट उठने रकम हिनामिना गरेको आरोप उनीमाथि छ। कारबाहीका लागि उनीविरुद्ध हालै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ।
रामरोशनले आफूलाई जानकी मन्दिरको छोटे महन्त भनेर परिचय दिन्छन्। उनीमाथि जनकपुरधाम–१४ मुजेलियास्थित लक्ष्मण मन्दिरको ४० बिघा जग्गाको धानबाली हिनामिना गरेको आरोप छ। विगतमा लक्ष्मण मन्दिरको ९१ बिघा जमिन थियो। हाल ४० बिघामात्रै छ। त्यो जमिनमा किसानले खेतिपाती गर्छन्। प्रत्येक वर्ष एक कठ्ठाबाट एक मन (४० केजी ) को दरले धान उठछ्। त्यसअनुसार, ४० बिघाबाट प्रत्येक वर्ष ८ सय मन धान उठ्नुपर्छ। तर रामरोशन दासले धानबापत प्राप्त हुने सबै आम्दानी व्यक्तिगत रूपमा हिनामिना गरेको आरोप छ।
रामनारायण दासले रामरोशनविरुद्ध प्रशासनमा उजुरी दिएका हुन्। प्रतिकठ्ठा १ मनका दरले ४० बिघा जग्गाबाट उठने गरेको ८ सय मन धानलाई रामरोशनले व्यक्तिगत रूपमा उपयोग गरेको उजुरीमा आरोप छ। त्यस्तै लक्ष्मण मन्दिरको उत्तरपट्टि तथा जानकी मन्दिरको सामुन्ने १४ कोठे सटर छ। प्रतिमहिना एक लाखका दरले सटरको भाडा उठ्ने गर्छ। रामरोशनले सटरबाट वार्षिक रूपमा उठ्ने गरेको १२ लाख रुपैयाँसमेत आफैंले लिने गरेको उजुरीमा आरोप लगाइएको छ। रामरोशनसँगै लक्ष्मण मन्दिरका पुजारी सुशील दास ‘वैष्णव’विरुद्ध पनि उजुरी परेको छ।
यस्तै जनकपुरधाम–१४ रजौलस्थित जानकी मन्दिरको स्वामित्वका दुईवटा पोखरीलाई वार्षिक दुई लाखमा ठेक्का लगाउने गरिएको छ। पोखरीबाट उठ्ने रकमसमेत रामरोशनले दुरुपयोग गर्ने गरेको उजुरीकर्ता रामनारायण दासको आरोप छ। ‘लक्ष्मण मन्दिरको नाममा कुनै बैंकमा खाता छैन,’ रामनारायण दासले अन्नपूर्णसँग भने, ‘मन्दिरको भएभरको आम्दानी रामरोशन दासले आफ्नो विलासितामा खर्च गर्ने गरेका छन्। मन्दिरको जीर्णोद्धारसमेत हुन सकेको छैन्। जानकी मन्दिरको मात्रै हैन, लक्ष्मण मन्दिरको सम्पत्तिसमेत हडपेर खाइसके।’
‘फर्जी उत्तराधिकारी’
रामरोशन दास ‘वैष्णव’ले आफूलाई जानकी मन्दिरको सह–महन्त भन्दै उत्तराधिकारीको ‘फर्जी’ परिचयपत्र बनाएको आरोप छ। जनकपुरधाम–१३ का बैजनाथ चौधरीले रामरोशनविरुद्ध फर्जी परिचयपत्र बनाएर मन्दिरको सम्पत्ति हिनामिना गरेको उजुरी जिल्ला प्रशासनमा दिएका छन्। फर्जी परिचयपत्रका आधारमा गुठी संस्थानको किर्ते हस्ताक्षर र छाप प्रयोग गरी मन्दिरको सम्पत्ति र घरबहाल रकम निजी रूपमा प्रयोग गर्ने गरेको उजुरीमा उल्लेख छ। ‘सरकारी कागजमा किर्ते दस्तखत गरी रामरोशन दास ‘वैष्णव’ ले आफूलाई जानकी मन्दिरको उत्तराधिकारीको परिचयपत्रको माध्यमबाट सार्वजनिक जानकी मन्दिरको सम्पत्तिमा ब्रह्मलुट मच्चाइरहेका छन्,’ उजुरीमा भनिएको छ, ‘परिचयपत्र कुन निकाय, कहाँ र कहिलेको निर्णयबाट जारी भएको हो ? सो सम्बन्धमा अनुसन्धान गरी निज रामरोशन दास ‘वैष्णव’लाई कारबाही गरी पाऊँ।’
गुठी संस्थान ऐन, २०३३ अनुसार बनाइएको महन्त पुजारीलगायतका जनशक्ति व्यवस्थापन निर्देशिका २०७७ मा उत्तराधिकारी महन्तको व्यवस्था छ। तर, जानकी मन्दिरका महन्त रामतपेश्वर दासले आफूले कसैलाई पनि उत्तराधिकारीको दर्जा नदिएको दाबी गरे।
‘बजारमा केही व्यक्तिले जानकी मन्दिरको छोटे महन्त, उत्तराधिकारी महन्त र सह–महन्तको खोल ओढेर आफ्नो रोटी सेकिरहेका छन्,’ महन्त रामतपेश्वरले भने,‘ जानकी मन्दिरमा मेरा धेरै चेला छन। रामरोशन पनि त्यस्तै चेला हुन्। कुनै महन्त हैनन्।’
रामरोशन दासले आफूलाई स्वघोषित रूपमा ‘छोटे महन्त’ घोषणा गरेको महन्त दासको आरोप छ। महन्त रामतपेश्वरले केही दिनअघि पत्रकार सम्मेलन नै गरेर रामरोशन दास मन्दिरको उत्तराधिकारी अथवा छोटा महन्त नभएको बताएका थिए। ‘उनी एउटा सामान्य बैरागी चेला हुन्,’ महन्तले भनेका थिए। तर रामरोशनले भने गुठी संस्थानको बोर्ड बैठकले साढे एक वर्षअघि नै आफूलाई औपचारिक रूपमा उत्तराधिकारी महन्त नियुक्त गरेको दाबी गरे। ‘महन्तजीले पनि मबाहेक उनको अर्को कुनै उत्तराधिकारी नरहेको कुरा सञ्चारकर्मीसमक्ष बताइसक्नुभएको छ,’ रामरोशनले भने, ‘यस्तो अवस्थामा मैले किर्ते कागजात बनाएको भन्ने हल्ला कहाँबाट फैलाइयो ? यो सरासर गलत हो। म पनि आश्चर्यचकित छु।’
यता महन्तले भने आफू अस्वस्थ भएको बेला रोशनलाई सामान्य रूपमा मन्दिरको काम गर्न मात्रै जिम्मेवारी दिएको र आफूसँग विश्वासघात गरेको आरोप लगाए।
आफूलाई जानकारी नै नदिई जानकी नवमी र विवाहपञ्चमीका बेला एउटा समिति बनाएर रामरोशनले केन्द्र सरकार, प्रदेश सरकार र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्सँग करोडौं रुपैयाँ असुल गरेको महन्त दासको आरोप छ।
रामरोशनले आफूखुसी पैसा उठाउने र हिनामिना गर्ने गरेको महन्तको दाबी छ। ‘उनले कोसँग कति पैसा लिन्छन् त्यसको मलाई कुनै जानकारी नै हुँदैन,’ महन्तले भने, ‘प्रदेश र केन्द्र सरकारका साथै बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्सँग पनि उनले पैसा मागेका छन्। तर त्यसको कुनै लेखाजोखा नै छैन।’
मन्दिरको नाममा असुल गरिएको पैसाका विषयमा रामरोशनले जानकारी गराउनुपर्ने महन्तको भनाइ छ। ‘त्यो पैसा कुन बैंकमा राखियो,’ महन्तले भने, ‘कसको नाममा चेक काटियो ? कहाँ के कति खर्च भयो ? रामरोशनले जानकारी गराउनुपर्छ।’ रामरोशनले विवाहपञ्चमी र जानकी नवमीका लागि केन्द्र सरकारदेखि जनकपुर परिषद्सँग पैसा उठाए पनि सम्पूर्ण खर्च आफुले व्यहोरेको बताउँछन्, भारतका एक व्यापारी।
भारतको मुम्बईमा व्यवसाय गर्दै आएका पवन चौधरीले विवाहपञ्चमी र जानकी नवमीमा लागेको सबै खर्च आफुले व्यहोरेको दाबी गरे। ‘विवाहपञ्चमीमा प्रत्येक वर्ष म ७० देखि ८० लाखसम्म भारतीय रुपैयाँ आफ्नो गोजीबाट खर्च गर्छु,’ चौधरीले भने, ‘रामतपेश्वर दास मेरो गुरु हुनुहुन्छ। उहाँको आदेशानुसार सबै खर्च भक्तिभावले म व्यहोर्छु।’ विवाहपञ्चमीका लागि आवश्यक भोजन सामग्री, वस्त्र, सरसजावट, लाइट, साउन्ड, टेन्ट सबैको खर्च आफूले नै प्रत्येक वर्ष व्यहोर्दै आएको चौधरीले दाबी गरे।
कमिसनमा मिलेमतो
जानकी मन्दिर र लक्ष्मण मन्दिरका आम्दानीका अनगिन्ती स्रोत छन्। तर, मन्दिरको स्वामित्वका पोखरी, सटर, विवाहमण्डपलगायत ठेक्का दिँदा न टेन्डर आह्वान हुन्छ, न त सम्पत्तिको पारदर्शिता नै छ। यस्ता ठेक्कापट्टामा महन्त रामतपेश्वरदेखि ‘छोटे महन्त’ भनिएका रामरोशनको मिलेमतो हुने गरेको आरोप छ। दुवै जनाको सेटिङमा हरेक वर्ष एउटै व्यक्तिले यस्ता ठेक्कापट्टा पाउने गरेका छन्।
ठेक्का पाउनेहरू या त महन्त रामतपेश्वर, या त रामरोशनका नजिकका मान्छे मात्रै हुन्छन्। यसैकारण, रामरोशन दास बेलाबेलामा विवादमा आउने गरेका छन्। रामरोशनले मन्दिरको आर्थिक हरहिसाबमा पारदर्शिता नअपनाएको आरोप स्वयं महन्त रामतपेश्वरले पनि लगाउँदै आएका छन्। मन्दिरकै आम्दानीबाट रामरोशनले १ करोड २५ लाख पर्ने इन्भो कारसहित तीनवटा गाडी चढ्ने गरेको आरोप छ।
आम्दानी र खर्चको विवरण छैनजानकी मन्दिर अधीनस्थ पोखरी, बजार, रामजानकी विवाहमण्डप, सांस्कृतिक संग्रहालय, फोटो ठेक्कालगायतबाट बर्सेनि १० करोड अम्दानी हुन्छ। तर खर्चको कुनै लेखाजोखा छैन। २०५४ सालमा रामतपेश्वर दास वैष्णव महन्त बनेपछि मन्दिरको श्रीसम्पत्ति आफ्नो निजी सम्पत्ति झैं प्रयोग गर्दै आएका छन्। त्यसयता जानकी मन्दिरको सम्पत्तिको न कुनै पारदर्शिता छ, न कुनै लेखाजोखा नै छ। महन्त रामतपेश्वर र उनका चेला रामरोशन दासले मनपरी सम्पत्तिको प्रयोग गरिरहेको स्थानीयवासीको आरोप छ।