यात्रामा ब्युँझिएको जीवन
पवन आलोकका नियात्राहरूमा एक किसिमको बेगवान् गति हुन्छ, त्यसैले उहाँका नियात्रा पढ्दा पाठक स्वयं झरिलो जाँगरमा अघि बढिरहन्छ। उहाँका नियात्रामा आत्मीयता महसुस हुन्छन्। नेपाली साहित्यका विविध विधामा कलम चलाउनु हुने पवन सक्रिय लेखक हुन्। सक्रियताको पछिल्लो साक्ष्यको रूपमा साझा प्रकाशनले ल्याएको पवनको नियात्रा संग्रह पहाड र लमतन्न समुद्र हो।
आलोक यात्राका विवरणलाई अनुभूति घोलेर नियात्रा बनाउन खप्पिस नियात्राकार हुन्। यात्राको सर्सर्ती वर्णन यात्रा अभिलेख बन्न सक्छ तर अनुभूति मिसिएन भने त्यो रुख्खासुख्खा र जर्जर बन्न पुग्छ। यस कुरामा आलोक सचेत छन्। पहाड र लमतन्न समुद्रमा दृश्य र अनुभूतिलाई मिहिन र कलात्मक ढंगले अभिव्यक्त गरिएको कारण यसमा संलग्न नियात्राहरू विशेष बन्न पुगेका छन्।
कृतिमा १५ नियात्रा समावेश छन्। स्वदेशका पहाड र तराई क्षेत्रको एवं विदेशका विभिन्न भूभागको भ्रमण गरेर लेखिएका नियात्राहरूले पुस्तकलाई बढी ओजपूर्ण बनाएको छ। नियात्राकारले भ्रमण गरेर मात्र पुग्दैन, नयाँ ठाउँमा भ्रमण गर्दा त्यहाँको भूगोल, आवहवा, संस्कार, संस्कृति, जनजीवनजस्ता विषयमा अत्यन्त जिज्ञासु बन्न जरुरी हुन्छ। स्वदेशमा होस् या विदेशमा पवनका आँखाहरू नयाँ दृश्य र नयाँ ज्ञानप्रति अत्यन्त चनाखा र तृषित भएका कारण पनि संगृहीत नियात्रा उनका निजी अनुभूतिले रंगिएर आकर्षक बन्न सकेका छन्।
आलोकमा नियात्रा भन्ने शैली निकै रुचिकर छ। उनी विषयवस्तुलाई क्रमबद्ध ढंगले उठान गर्ने मात्र नभई रोचक र भावमयी रूपमा शब्दशिल्प प्रस्तुत गर्न सक्षम छन्। एक ठाउँमा यात्रा गर्दा विगतमा भ्रमण गरिसकेका त्यस्तै अरु ठाउँ र घटना तुलना गर्ने क्षमता नियात्राकारमा हुनु राम्रो हो। त्यसको मतलव हरेक नयाँ दृश्य र अनुभूति अघिल्लो स्थान र घटनासँग तुलना गर्नैपर्छ भन्ने छैन। तर, सान्दर्भिकता जोडिनु स्वाभाविक पनि हुन्छ। पवनको नियात्रामा स्मृत्याभास (नोस्टाल्जिया) र तुलनाका पर्याप्त प्रसंगहरू जोडिएका कारण पनि त्यसले बढी रोचकता थपेको छ।
लेखकले लामो समयपछि आफ्नो जन्मथलो भ्रमण गर्दा सानो उमेरमा विद्यालय जाँदाका घटना र हवाईजहाज कराएको सुन्दा डरले थरथर हुँदै हजुरआमाको काखमा डुबेका घटनाहरूले मान्छेलाई भावुक बनाउँछ नै। संखुवासभा, सिन्धुली, जनकपुर, तीनजुरे, मिल्के, जलजले, बाराको वरियारपुरहरूमा लेखक कहिले एक्लै र कहिले साथीहरूको साथमा भ्रमण गरेका छन्। उता बेलायत, स्विट्जरल्यान्ड, फिनल्यान्ड, पाकिस्तान, चीन, थाइल्यान्ड, फिलिपिन्स, अमेरिकाजस्ता देशमा घुम्दा उनी त उत्सुक छन् नै, पाठकलाई पनि शब्दशब्दमा उत्सुकता जगाएर सँगै हिँडाउन समर्थ बनेका छन्। यसले नियात्राको ओजन बढाउन मद्दत पुर्याएको छ।
मान्छे स्वभावैले विचित्रता र विविधता चाहन्छ। आश्चर्य, दुःख र रोमान्सका घटनाहरूसँग जोडिँदा उसले आफूलाई क्रियाशील भइरहेको पाउँछ। यसले मान्छेलाई आनन्द पनि प्रदान गर्छ। पवन आलोकका नियात्राहरू पढ्दा कतै बालसुलभता, कतै आश्चर्यपूर्ण घटनाहरू, कतै नवीन संस्कार, कतै पीडाका गहिरा खोपिल्टाहरूले कोट्याइरहन्छन्। तिनले पाठकलाई मनोरञ्जन र ज्ञानको दोभानमा पौडने वातावरण सिर्जना गरिदिन्छन्। जीवन र जगत्लाई गहिरो ढंगले खोतल्ने र त्यसलाई सुललित ढंगले शब्दचित्रमा उतार्ने कारणले पनि पहाड र लमतन्न समुद्र नेपाली नियात्रा साहित्यमा सफल कृति सावित भएको छ। सूचना र अनुभवजन्य ज्ञानको सम्मिश्रण गरेर नियात्रा उभ्याउनु उनको विशेषता पनि हो।
कृतिका नियात्राको भाषा कोमल छ। सरल र ठिक्क वाक्य प्रयोगको कारण पनि विषय र अनुभूति रोचक ढंगले उभिन सकेका पाइन्छ। सहयात्री हुन् या यात्रा क्रममा भेटिएका पात्रसँग आलोकले आत्मीयता, सहृदयता र अनुशासित ढंगले व्यवहार गरेको पाइन्छ। यसले पाठकलाई समेत सङ्लो र गतिशील मार्गमा अघि बढन उत्प्रेरित गर्दछ।
यो संसारमा सबै मान्छेले कुनै न कुनै रूपमा यात्रा गरिरहेका हुन्छन्। यात्रा वर्णन, यात्रा अभिलेख या नियात्रा तयार गर्ने इच्छा भने थोरै मान्छेमा हुन्छ। यात्रा अभिलेख तयार गरिदिनु भावी पुस्तालाई ज्ञान हस्तान्तरण गर्नु पनि हो। यसले समाज विकासको आधारशिला खडा गर्ने कार्य पनि गर्दछ। यस कृतिले नेपाल, युरोप, अमेरिका र एसियाका समय अभिलेख मात्र दिएको छैन, मान्छेलाई प्रशस्त सम्भावनाका मूलहरू उघिन्ने काम पनि गरेको छ।
सत्य कुरा के हो भने भ्रमणलाई चीरस्थायी बनाउन भ्रमण विवरणलाई शब्दमा ढाल्ने हो। नयाँनयाँ ठाउँ हेरिहाल्ने, नयाँनयाँ जीवनधून बुझिहाल्ने, त्यसमध्ये कति सही, कति बेसही छुट्ट्याइहाल्ने र अरूलाई पनि सत्यका फाँकाहरू पस्किरहने मान्छे नै वास्तवमा सक्रिय हो। नियात्रा लेखक सक्रिय हुन जरुरी छ। यात्रा गर्नेले नयाँ रहन सहन, खानपान र भेषभूषालाई घृणा होइन, आत्मसात् गर्न जरुरी हुन्छ। आलोक सक्रिय यायावर र क्रियाशील लेखक हुन् भन्ने पुष्टि नियात्राले गरेका छन्। मान्छे बाँचेको सही प्रमाण उसको पदचाप हो। यात्रामा कयौं कुरा पाइन्छ, कयौं कुरा गुमाइन्छ। यी नियात्रामा उनी कतै पीडाका लहरहरूमा पौडिएर त कतै खुसीका पहाडहरू चढेर अघि बढेका छन्।