...धन्य हो मालिका

...धन्य हो मालिका

बाजुरा : बादलभन्दा पनि माथि झन्डै साढे ४ हजार मिटरको उचाइ। साउने गर्मीमा पनि मुटु काँप्ने चिसो हावा, आङ जिरिङ हुने अग्ला चुचुरा । हेर्दै मन डराउने अग्ला डाँडा अनि शृंखलाबद्ध पहाडहरू कसरी छिचोल्ने होला ? कसरी पुग्ने होला बडिमालिका ? तर भोक तिर्खा, थकान, पीडा, जाडो सबै गौण हुन्छन्, बडिमालिकाको पदयात्रामा।

पाटनै पाटनले भरिएको सुन्दर स्थान। जता गए पनि पल्टेर बसिरहौं झैं लाग्ने। हरिया र फूलैफूलले ढकमक्क चउरहरू। सायद कसैले लहरै लगाएर रोपेका फूलका थुंगाहरू झैं लाग्ने। हरिया डाँडाकाँडा, फराकिला 
गल्फ मैदान झैं बनेका प्राकृतिक चौर, त्यसैमा सिमसिम पानीसँगको पदयात्रा। यसको आनन्द नै स्वर्गको भन्दा बढी छ। यो हो बाजुरा जिल्लामा पर्ने बडिमालिका शक्तिपीठ।

बडिमालिका शक्तिपीठमा श्रावण शुक्ल त्रयोदशी र चतुदर्शीमा मेला लाग्ने गर्छ। सात बहिनी भगवतीमध्ये बडिमालिका सबैभन्दा कान्छी तर शक्तिशाली मानिन्छिन्। सुदूरपश्चिममा सात बहिनी भगवतीका शक्तिपीठ छन्। बैतडीको त्रिपुरासुन्दरी, मेलौली र निङ्लाशैली, डँडेलधुराको उग्रतारा, डोटीको शैलेश्वरी, बझाङको शुर्मादेवी र बाजुराको बडिमालिका गरी भगवतीका ७ बहिनी रहेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।

सातवटै भगवतीका शक्तिपीठमा फरकफरक पर्वमा मेला लाग्ने गर्छ। बडिमालिका शक्तिपीठको यात्रा यी सबै शक्तिपीठमध्ये कष्टकर छ। नेपालको विभिन्न जिल्ला मात्रै होइन, बडिमालिका दर्शकका लागि भारतको कुमाउ र गढवालबाट समेत हजारौं भक्तजन आउने गरेका छन्। बाजुराको बडिमालिकाको जति चर्चा गरे पनि कमै हुन्छ । धार्मिक आस्था र प्राकृतिक छटाले भरिपूर्ण बडिमालिका अहिले आकर्षक गन्तव्य बन्दै गएको छ।

जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने बडिमालिका यात्राको मौसम भने वर्षायाम हो। बडिमालिका छ नै त्यस्तो। यहाँ पुग्न कठिन। पुगेपछि झर्न कठिन। तर, यी सबै कठिनाइ बडिमालिकाप्रतिको अगाध आस्था, विश्वास र मनै लोभ्याउने हरिया पाटनका अगाडि गौण हुन्छन्। बडिमालिकाको दर्शनले मनले चिताएको पूरा हुने विश्वास छ। सबैभन्दा बढी बडिमालिकाको दर्शन गर्नेमा सन्तान नभएकाहरू पर्छन्। बडिमालिकाको पूजा, आराधनाले सन्तान प्राप्ति हुने धार्मिक विश्वास छ। धन नहुनेलाई धन, दुःखीलाई सुख प्राप्त हुने अगाध विश्वासका साथ बडिमालिकाको दर्शन गर्ने गरिन्छ।

प्राकृतिक सुन्दरता र धार्मिक महत्त्वका दृष्टिकोणले सुदूरपश्चिम प्रदेशको खप्तड, रामारोशन, त्रिपुरासुन्दरी, मालिकार्जुन, उग्रतारा, शैलेश्वरी, वैद्यनाथ, अपी र साईपाललगायतका क्षेत्र निकै महत्त्वपूर्ण मानिन्छन्। त्यसमध्ये पनि बडिमालिकाको स्थान विशिष्ट छ।

बडिमालिकाको त्रिवेणी क्षेत्रमा पर्ने खेतीवेती भन्ने स्थान त झनै अचम्मको छ। परापूर्वकालदेखि नै त्यहाँ रहेको खेत रोपिएको धान, धान रोप्न तयार गरिएका जस्ता गह्राहरू, त्यसबीचमा फालिएका बीउका मुठाहरू जस्ताका तस्तै छन्। परापूर्वकालमा बडिमालिका भगवती र मैसासुर राक्षसको लडाइँ हुँदा खेती लगाउँदै गरेका राक्षसलाई भगाएर यस्तो भएको किंवदन्ती रहेका कुरा यससम्बन्धी वर्षौंदेखि अध्ययन गरिरहेका जाल्पादेवी माविका प्रअ जहरसिंह थापा बताउँछन्।

यी सबै क्षेत्रमा डाँफे र मुनालजस्ता हेरुँहेरुँ लाग्ने दुर्लभ चराचुरुंगी, साथै कस्तुरी र झालरजस्ता लोपोन्मुख वन्यजन्तुको फूर्ति देख्दा त बडिमालिका पुगेका पर्यटक तथा तीर्थालुहरू अझ रमाउने गर्छन्। यस्ता प्राकृतिक दुर्लभ दृश्यहरू सदा अविस्मरणीय रहिरहने बाजुरा जिल्लाका पूर्व प्रजिअ गोपाल अधिकारी बताउँछन्।

कति दिन लाग्छ ?

गुमनाम रहेको बडिमालिकामा पछिल्ला केही वर्षयता व्यावसायिक पर्यटनको सुुरुआत भएको छ। प्रदेशको राजधानी धनगढीबाट बडिमालिकाको यात्रा ७ देखि ९ दिनसम्मको उपयुक्त मानिन्छ। गाडीमा पहिलो दिन धनगढीबाट बाजुरा पुगिन्छ।

पहिलो रात मार्तडी अथवा बाम्का फालासेन बजारमा बास बस्न सकिन्छ। दोस्रो दिन सुरु हुन्छ, पदयात्रा। बाम्का बजार भएर गए विस्तारै हिँड्ने मान्छे दोस्रो रात लादे पाटन वा सोता भन्ने स्थान पुग्छ। तेस्रो रात, त्रिवेणी र चौथो रात बडिमालिका पुग्न सकिन्छ।

  •     बडिमालिका शक्तिपीठमा श्रावण शुक्ल त्रयोदशी र चतुदर्शीमा मेला
  •     गुमनाम रहेको बडिमालिकामा पछिल्ला केही वर्षयता व्यावसायिक पर्यटनको सुुरुआत
  •     बडिमालिकाको पूजा, आराधनाले सन्तान प्राप्ति हुने धार्मिक विश्वास
  •     बडिमालिका जाने बाटोमा कुनै चिह्न र संकेतहरू नभएका कारण तीर्थालुलाई सास्ती
  •     बडिमालिका छ नै त्यस्तो। यहाँ पुग्न कठिन, पुगेपछि झर्न कठिन 
  •     सातवटै भगवतीका शत्तिाmपीठमा फरकफरक पर्वमा मेला

बडिमालिकाबाट विष्णु पानी, चङ्केली, फिरफिरेको अग्लो डाँडा हुँदै, लिस्ने गौडी, बूढीमाईको थान जान सकिन्छ। त्यहाँबाट धर्म घर, बल्ले ढिकुरा, ठूलागडा, धौलपुरी दहबाट पाँचौं दिन नाट्येश्वरी। छैटौं दिन नाट्येश्वरी दर्शनपछि दिपायल र सातौं दिन धनगढी फिर्ता हुन सकिन्छ। चतुदर्शीमा बडिमालिकाको दर्शनपछि जनैपूर्णिमा नाट्येश्वरीको दर्शन गरिन्छ। त्रिवेणी भएर बडिमालिका जानुपर्ने परम्परा भएका कारण कोर्ध भन्ने स्थान भएर जान बेश हुन्छ। कोर्धबाट बुढा कोर्ध, त्यहाँबाट लादे पाटन र अनि आउँछ, सोता।

बडिमालिका जाने बाटोमा कुनै चिह्न र संकेतहरू नभएका कारण तीर्थालुहरूले सास्ती खेप्नु परिरहेको छ। यसतर्फ भने सरकारको ध्यान जान आवश्यक छ।

मेलाको समयमा सोतामा चियाखाजाको व्यवस्था हुन्छ। चिया खाएपछि सुरु हुन्छ, उकालो पदयात्रा। झन्डै एक घण्टाको उकालोपछि आउँछ, घोडा पाटन। आधा घण्टा लामो पाटन क्षेत्रपार गरेपछि झन्डै एक घण्टाको ओरालो। फेरि एक घण्टाको उकालो। त्यसपछि भितो चिर्ना। त्यहाँबाट झन्डै अढाई घण्टामा त्रिवेणी। त्रिवेणीबाट बिहानै हिँडेपछि विस्तारै हिँड्ने मान्छे पनि चार घण्टामा बडिमालिका पुग्छ। बडिमालिकामा त्रयोदशीको राति बास बसेर चतुदर्शीको बिहानै बडिमालिकाको पूजा गरी तीर्थालुहरू नाट्येश्वरीमा जनैपूर्णिमामा लाग्ने मेला भर्न हिँड्छन्।

साथमा के लैजाने ?

बडिमालिकामा होटल तथा आवासको व्यवस्था छैन। होटेल तथा आवास सुविधा नपुगेको स्थानमा कम्तीमा तीन दिन बास बस्नुपर्छ। त्यसकारण न्यानो कपडासहित टेन्ट, स्लिपिङ ब्याग, तयारी खाना, आवश्यक औषधि आफैंले बोक्नुपर्छ।

यात्रा अवधिभर समूहबाट नछुट्टिन समूह नेतृत्वको निर्देशनमा यात्रा गर्नु हितकर मानिन्छ। अधिक उचाइमा पुग्दा मद्यपान, धूमपान नगर्नु राम्रो मानिन्छ। बडिमालिकाका भरिया र स्थानीय पथप्रदर्शक बिना पुग्न कठिन छ। खासगरी जंगलको बाटो हुँदै उकालो लाग्नुपर्ने भएकाले सडक यातायात टुंगिसकेपछिको यात्राका लागि भरिया र पथप्रदर्शक आवश्यक पर्छ।

किन जाने बडिमालिका ?

हिन्दू धर्मावलम्बीहरूको सबैभन्दा बढी आस्थाको केन्द्र हो, बडिमालिका। हरेक वर्ष जनैपूर्णिमाका दिन विशेष मेला लाग्ने गर्छ । नेपालका धेरै जिल्ला, सुदूरपश्चिम प्रदेशका सबै जिल्ला र भारतका विभिन्न ठाउँबाट तीर्थालु पुग्छन्। सतीदेवीको कुम पतन भएको स्थानका रूपमा बडिमालिका शक्तिपीठको स्थापना भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।

मनले चिताएको पूरा हुने विश्वास छ, बडिमालिकाको दर्शनले। सन्तान नभएकालाई सन्तान प्राप्त हुने विश्वास छ, बडिमालिकाको पूजाआराधनाले। धन नहुनेलाई धन, दुःखीलाई सुख प्राप्त हुने अगाध विश्वास छ, बडिमालिकाको प्रार्थनाले। बडिमालिकाको प्रार्थनाले रोग निको हुने विश्वास गर्छन्, हिन्दू धर्मावलम्बी। यसबाहेक प्रकृतिको अपार देन यस यात्रामा देखिन्छ।

पहाड उक्लेपछि देखिने फाँटहरू, मनमोहक पाटन, खेतीबेती, चौंरी र भेडापालनमा रमाइरहेका स्थानीय गोठालाहरूको जीवनशैली रोचक र मन फुरुंग बनाउने हुन्छ। बडिमालिकाबाट देखिने सूर्योदय अर्को आकर्षण हो। बडिमालिका यात्राका दौरान मन्दिर, जडीबुटी, वनस्पति, वन्यजन्तु, पहाड, पर्वत, नदी, खोल्सा, झरनासँग सामीप्यता मिल्छ। खासगरी धर्ममा आस्था विश्वास र प्रकृतिको खोज र अनुसन्धानमा रमाउन चाहनेहरू यस बडिमालिकाको यात्रा गर्छन्।

कहिले जाला राज्यको ध्यान ?

प्राकृतिक सुन्दरता र धार्मिक महत्त्वका दृष्टिकोणले सुदूरपश्चिम प्रदेशको खप्तड, रामारोशन, त्रिपुरासुन्दरी, मालिकार्जुन, उग्रतारा, शैलेश्वरी, वैद्यनाथ, अपी र साईपाललगायतका क्षेत्र निकै महत्त्वपूर्ण मानिन्छन्। त्यसमध्ये पनि बडिमालिकाको स्थान विशिष्ट छ। धार्मिक र पर्यटकीय दुवै हिसाबले हिन्दूहरूको आस्थाको धरोहर बडिमालिका ओझेलमा परेको छ। 

बडिमालिका क्षेत्र संरक्षण, संवद्र्धन र विकासको पर्खाइमा छ। पानी र शौचालयको उचित व्यवस्थापन नहँुदा बडिमालिका क्षेत्र दुर्गन्धित हुँदै गएको छ। बाटोमा र बडिमालिकामा धर्मशाला र बास बस्ने उचित व्यवस्थान नहुँदा भक्तजनहरूले निकै कष्ट खेप्नु परेको छ। बडिमालिका जाने बाटोमा कुनै चिह्न र संकेतहरू नभएका कारण तीर्थालुहरूले सास्ती खेप्नु परिरहेको छ। यसतर्फ भने सरकारको ध्यान जान आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.