बर्खे आलु उत्पादन घट्यो

बर्खे आलु उत्पादन घट्यो

बेनी : म्याग्दीबाट निकासी हुने प्रमुख कृषि उपज बर्खे आलुको उत्पादन घटेको छ। क्षेत्रफल विस्तार भए पनि रोग किराको प्रकोपले उत्पादन घटेको हो। यसपालि बन्दामा लाग्ने क्याबेज सेमिलुपर किरा मुख्य समस्याको रूपमा आलु उत्पादन क्षेत्रमा देखिएको थियो। 

अन्नपूर्ण गाउँपालिकाको नागी, राम्चे क्षेत्रमा गरिएको स्थानीय जातको आलुमा ऐजेंरु रोग पनि देखिएको छ। गत वर्षको तुलनामा आधा कम आलु फलेको अन्नपूर्ण–८ राम्चेका फासबहादुर पुर्जाले बताए। ‘हुर्कने र दाना लाग्ने समयमा किराले पात खाएर बिरुवा नष्ट गरेपछि उत्पादनमा असर पुग्यो,’ उनले भने ‘गत सालको तुलनामा आधा उत्पादन घट्यो।’ २० मुरी आलु उत्पादन भएकामा यसपालि १० मुरी मात्र फलेको उनले बताए। उत्पादनसँग आम्दानी पनि घटेको नागीका कृष्ण पुर्जाले बताए। बजारमा मागअनुसार आलु पु¥याउन नसकिएको र आम्दानीमा असर परेको पुर्जाले बताए। नागी राम्चेबाट वार्षिक झन्डै दुई करोड रुपैयाँको आलु निकासी हुने गरेको थियो।  कृषि ज्ञान केन्द्रका अनुसार म्याग्दीमा १ हजार ९५ हेक्टर क्षेत्रफलमा बर्खे र ६ सय २० हेक्टरमा हिउँदे आलु खेती हुने गरेको छ। गत वर्ष १८ हजार १२ बर्खे र ७ हजार २ सय ७१ मेट्रिकटन हिउँदे आलु उत्पादन भएको केन्द्रको तथ्यांक छ। 

उच्च पहाडी क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु पोखरा, काठमाडौंलगायत बजार क्षेत्रमा निकासी हुने गरेको थियो। जिल्लाबाट वार्षिक ६ करोड रुपैयाँ भन्दा बढी मूल्यको आलु निकासी हुने तथ्यांक छ। उत्पादितमध्ये ७० प्रतिशत आलु निकासी हुने गरेको हो। प्रतिकिलो ५० देखि सय रुपैयाँसम्ममा आलु बेच्ने गरेका छन्। व्यापारीले अग्रिम पेस्की दिएर बारीमा नखन्दै आलु खरिद गर्छन्। 

अन्नपूर्ण गाउँपालिकाको शिख, घार, राम्चे, हिस्तान, रघुगंगाको पाखापानी, ठाडाखानी, चिमखोला, कुइँँनेमंगले, कुइँने मंगलाको हिँदी, झाँक्रीपानी, किमचौर, टोड्के, मालिकाको बिम, दिच्याम, धवलागिरिको गुर्जा, मरेनी, बेनीको भकिम्ली, डँडुवा, आलु उत्पादन हुने ठाउँ हुन्। सेमिलुपर र ऐजेंरुका कारण आलुको उत्पादकत्व घटेको कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए। ‘ब्लक, जोन र पकेटका कार्यक्रमबाट आलु खेतीको क्षेत्रफल विस्तार भएकाले समग्रमा १५ देखि २० प्रतिशत उत्पादन घटेको अनुमान गरेका छौं,’ उनले भने ‘ऐजेंरु देखिएको ठाउँमा आलुको उत्पादकत्वमा असर पुगेको छ।’ एकैपटक फैलिएको रोग किरा रोकथामका लागि निःशुल्क विषादी वितरण गरिएको उनले बताए। म्याग्दीमा स्थानीय सेतो, रातो जातको आलु, नीलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रघुगंगा–६, ७ र ८ र अन्नपूर्ण–५, ६, ७ र ८ नम्बर वडामा व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम सञ्चालन गरेको छ। गत आर्थिक वर्षदेखि मालिका गाउँपालिका–६ दिच्याम र ७ बिममा आलु ब्लक कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख किरण सिग्देलले बताए। ब्लकमा आबद्ध किसानलाई मिनिटेलर, थ्रेसर, मिल, बिउ, बोरा छपाइ, चिप्स मेकर, स्पेयर, मल्चिङ प्लास्टिकलगायतका सामग्री अनुदानमा उपलब्ध गराइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.