घाउ बल्झाइरहने बीभत्स ती दृश्य
हिरोसिमा सहरमा सूर्य उदाएर झलमल्ल हुँदै थियो, त्यति नै बेला अमेरिकी बमवर्षक बिमानबाट बम खसालियो र पूरै सहर आगोको लपेटामा परिणत भयो। यसरी ताप र विकिरणमा जकडियो।
दिदिन, महिना र वर्ष हुँदै समय दौडिरहेको हुन्छ। यसरी समयको दौडाइमा दूरीहरू पार हँुदै गर्छन्। कैयौं दशक लामा दूरीहरू जति टाढा पुगे पनि सम्झनाको आलोपन मनभरि अवतरण भइरहन्छ। समयको शिखरमा तीतामीठा सम्झनाहरूको त्यही पिरामिड स्वरूप देखिन्छ। मानव सभ्यताको इतिहासमा अति नै पीडादायक घटनाहरू समयसमयमा घटिरहेका हुन्छन्। पिरामिड बनेर बसेका तिनको सम्झना आइरहेकै हुन्छ। सन्दर्भ हो अत्यासलाग्दो झन्डै आठ दशक पुग्न लागेको प्रलयकारी घटनाको हो, अर्थात् जापानको हिरोसिमा र नागासाकी।
प्रत्येक वर्षको अगस्ट महिनाको पहिलो सप्ताह सुरु हुनै लाग्दा अति नै दर्दनाक घटनाको स्मृति बोकेर आउँछ उही हिरोसिमा र नागासाकी। जसले मानव मस्तिष्कमा ठूलो चोट आजपर्यन्त दिइराखेको छ। आज जापानको हिरोसिमा र नागासाकी सहरमा परमाणु बमले ध्वंस मच्चाएको ७७ वर्ष पुग्दैछ। मानव जातिले जापानमा भोग्नु परेको त्यो कहरको प्रभाव आजसम्म स्थिर बन्न नसकेको महसुस हुन्छ। त्यो बीभत्स घटनाको घाउ सदा बल्झिरहेको महसुस हुन्छ। ज्ञान–विज्ञानका रचनात्मक उत्पादनलाई विध्वंसको औजार बनाइएका घटना इतिहासमा अनेकौं छन्। तिनीहरूमा सबैभन्दा खतरनाक र दीर्घकालीन प्रभाव पार्ने घटना जापानका यी दुई सहरमाथि गराइएको परमाणु बम प्रहार नै हो।
विश्वव्यापी रूपमा विज्ञान र प्रविधिको पहुँच बढिरहेको छ। मान्छेबीच अनेकौं भेदभावका बाबजुद आर्थिक, सामाजिक र सांस्कृतिक पृथकता घट्दो क्रममा छ। भूमण्डलका सबै जातजाति, राष्ट्र र समुदायहरू एकअर्कामा निर्भर र एकअर्काबाट प्रभावित छन्। तर पनि अन्याय शोषण विद्यमान छ। बलिया र कमजोरबीच, सपन्न र विपन्नबीच अनि राष्ट्र–राष्ट्रबीच प्रभुत्वको द्वन्द्व छ। यसैगरी, राष्ट्रिय अहंकार तथा अन्तर्राष्ट्रिय प्रभुत्व कायम गर्ने र प्राकृतिक स्रोतसाधन उपभोगका लागि मात्र नभएर आजको युगमा त अन्तरिक्षमा समेत द्वन्द्वको प्रवृत्ति बढ्दो छ। यी द्वन्द्वहरूबाट निर्दोष जनता नै मारमा पर्छन्।
सत्तामा बस्नेहरूका लागि आमजिन्दगीहरूको वास्ता कुन तहसम्मको हुन सक्ने रहेछ ? कसरी शासकहरूले आफ्नो राग–द्वेष साट्न अगाडि बढ्न सक्दा रहेछन् ? भन्ने प्रश्नको ज्वलन्त उदाहरणमध्येको एउटा बीभत्स प्रतिनिधि घटना हो, हिरोसिमा र नागासाकी। जहाँ ताण्डव नै मच्चाइएको थियो भन्न सकिन्छ। विज्ञान र प्रविधिको क्षेत्रमा बिसौं शताब्दीमा चमत्कारपूर्ण आविष्कार र नवप्रवर्तनहरू भएका हुन्। तर, भयावह हुनेगरी विज्ञान र प्रविधिका चरम दुरुपयोग गरिएको उदाहरण हो, जापानमा घटाइएको परमाणु बमकोे विस्फोट। यसको कहरले त्यहाँ प्रत्यक्ष उत्पन्न गरेको अकल्पनीय भोगाइसम्म पुग्दा त्यस पृष्ठभूमिमा एकफेर घोत्लिनु आवश्यक देखिन्छ।
सन् १९१४ मा अस्ट्रियाका फ्रान्ज फर्डिनान्डको सर्वियामा भएको हत्याबाट प्रथम विश्वयुद्धको बीजारोपण भयो। हुन त विभिन्न देशमा हुर्कंदै गरेको अन्ध राष्ट्रवाद, साम्राज्यवाद, देशहरूबीच गुट समूहहरूको निर्माण र सैन्यवादजस्ता थुप्रै कारण होलान्। उक्त हत्याले आगोमा घिउ थप्ने काम गरेको थियो। जसले सम्पूर्ण युरोपमा अस्थिरता निम्त्यायो। पहिलो विश्वयुद्ध (सन् १९१४–१९१८) ले युरोपमा पैदा गरेको अस्थिरताले अन्तर्राष्ट्रिय द्वन्द्व सिर्जना गरेको थियो। त्यसको दुई दशकपछि दोस्रो विश्वयुद्ध सुरु गरायो।
सत्तामा बस्नेहरूका लागि आमजिन्दगीहरूको वास्ता कुन तहसम्मको हुन सक्ने रहेछ ? कसरी शासकहरूले आफ्नो राग–द्वेष साट्न अगाडि बढ्न सक्दा रहेछन् ? भन्ने प्रश्नको ज्वलन्त उदाहरणमध्येको एउटा बीभत्स प्रतिनिधि घटना हो, हिरोसिमा र नागासाकी। जहाँ ताण्डव नै मच्चाइएको थियो भन्न सकिन्छ।
प्रथम विश्वयुद्धलाई अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेलेको सन् १९१९ मा भर्सेलिस सन्धि भएको थियो। सन्धिमा भएका विभिन्न प्रावधानहरूले गर्दा जर्मनीमा जनतामाझ एक प्रकारको असन्तोष उत्पन्न भएको थियो। जर्मन जनताको असन्तोषको प्रतिनिधित्व गर्दै भर्सेलिस सन्धिको उल्लंघन गर्दै आपूmलाई सर्वोच्च नेताको रूपमा उभ्याउँदै जर्मनीका हिटलर अगाडि बढ्दै गर्दा सेप्टेम्बर १, १९३९ मा जर्मनीले पोल्यान्डमाथि आक्रमण गर्यो। त्यसको दुई दिनपछि बेलायत र फ्रान्सले हिटलरको नाजी जर्मनीसित युद्धको घोषणा गरे र दोस्रो विश्वयुद्धको सुरुवात भयो।
त्यति नै बेला जापानी सैन्य साम्राज्यवाद पनि बेरोकटोक अगाडि बढिरहेको थियो। त्यसभन्दा अगाडि सन् १९३९ मै हिटलर र सोभियत संघका जोसेफ स्टालिनले एकअर्काको देशमा आक्रमण नगर्ने सन्धि गरेका थिए। त्यस कुराले बेलायत र फ्रान्सलाई सशंकित बनाएको थियो। पोल्यान्डमाथि आक्रमण गर्ने हिटलरको योजना पहिलादेखि नै थियो। बेलायत र फ्रान्सले पनि त्यस्तै परिहाले सैन्य सहयोग गर्ने वचन पोल्यान्डलाई दिएका थिए।
दोस्रो विश्वयुद्धको सुरुवाती वर्षमा संयुक्त राज्य अमेरिका आन्तरिक सशक्तीकरणमा लागेको हुनाले युद्धमा प्रत्यक्ष सामेल भएको थिएन। दोस्रो विश्वयुद्ध अगाडि बढ्दै जाँदा युरोपमा हिटलर नेतृत्वको नाजी जर्मनी केन्द्रविन्दुमा रहन पुग्दा जर्मनीद्वारा अस्ट्रिया, तत्कालीन चेकोस्लोभाकिया, बेल्जियम, डेनमार्क र नर्वे आदि देशहरूमा कब्जा तथा आक्रमणका प्रयासहरू भए। त्यसैगरी, एसिया महादेशमा ‘एसिया एसियालीहरूको’ भन्ने भावना जागृत भइरहेको अवस्था थियो भने त्यो समयमा जापान एसियाको महाशक्ति राष्ट्रको रूपमा थियो।
आफ्नो साम्राज्य र सैन्य शक्ति बढाउँदै लगेको प्रतीत भइरहेको थियो। सोही अवस्थामा दोस्रो विश्वयुद्धमा प्रत्यक्ष संलग्न नदेखिएको अमेरिकाको हवाई राज्यको पर्लहार्बरमा एक्कासि र कल्पनै नगरिएको जापानी आक्रमणपछि दोस्रो विश्वयुद्धमा नयाँ र खतरनाक मोड आएको थियो। अमेरिकाको शक्तिशाली जल तथा वायुसेनालाई ध्वस्त पारेर एसिया प्रशान्त क्षेत्रमा आफ्नो प्रभुत्व विस्तार गर्ने हेतुले जापानले डिसेम्बर ७, १९४१ आइतबारका दिन अमेरिकाको हवाई राज्यको पर्लहार्बरमा सेनाको सैन्य अखडामा अप्रत्याशित र निर्मम आक्रमण गरेको थियो। पर्लहार्बर हवाई राज्यको होनुलुलु सहरको नजिकै पर्छ। यहाँ अमेरिकी सेनाको ठूलाठूला जंगी युद्धपोतहरू राखिएको थियो। लाखौं ग्यालन तेल भरिएका जंगी जहाजहरू पनि राखिएका थिए र त्यहाँको आक्रमणमा ती तेलबाहक जंगी जहाज डुबाइएका थिए। जसबाट तेल रसाइरहेको
अहिले पनि देख्न सकिन्छ।
पर्लहार्बर आक्रमणको समयमा शनिबारको साँझ नै उल्लेख्य संख्यामा सैनिकहरू होनुलुलु सहरका रात्रिकालीन मनोरञ्जन केन्द्रमा गएको मौका पारी अपेक्षाकृत कम सैनिक रहेको र कल्पनै नगरिएको अवस्था परेको हुँदा पर्लहार्बरमा ठूलो संख्यामा पानीजहाज, हवाईजहाज र युद्धपोतहरूको क्षति गराइएको थियो। लगभग दुई हजार चार सयको मृत्यु र एक हजार जना घाइते भएका थिए। त्यसको लगत्तै एक दिनपछि डिसेम्बर ८ का दिन संयुक्त राज्य अमेरिकाका तत्कालीन राष्ट्रपति फ्रेंकलिन रुजवेल्टले पनि जापानविरुद्ध युद्धको घोषणा गरे।
विश्लेषक र इतिहासकारहरूले पर्लहार्बर घटना नै परमाणु बमको निर्माण र त्यसको ध्वंसात्मक प्रयोगको कारक र सुरुआत रहेको बताएका छन्। पर्लहार्बर आक्रमणपछि राष्ट्रपति रुजवेल्टको निर्देशनमा अमेरिकाले बम बनाउने कामको लागि अति गोप्य रूपमा म्यानहाटन परियोजना सुरु गर्यो। वास्तवमा म्यानहटन परियोजना भनेको दोस्रो विश्वयुद्धमा प्रयोग गर्न चाहिने परमाणु बमको विकास र निर्माणको सांकेतिक नाम थियो। म्यानहटन परियोजनाका लागि अमेरिकी राष्ट्रपति फ्रैंकलिन रुजबेल्टले डिसेम्बर २८, १९४२ मा स्वीकृति दिएका थिए।
त्यस महत्त्वाकांक्षी परियोजनाका लागि तमाम वैज्ञानिकहरू र सैन्य अधिकृतहरूलाई परमाणु बम बनाउने काममा खटाइएको थियो। यो यति गोप्य परियोजना थियो कि राष्ट्रपति रुजबेल्टले आफ्ना उपराष्ट्रपति ह्यारी ट्रुम्यानसम्मलाई पनि थाहा दिइएन। सोही क्रममा युरेनियम–२३५ र प्लुटोनियम–२३९ प्रयोग गरिएका बमहरू बनाउन सफलता प्राप्त गरिसकेपछि तिनको सफल परीक्षण पनि न्यु मेक्सिको राज्यको दूरदराजको मरुभूमिजस्तो बिरानो ठाउँमा गरिएको थियो।
युरोपतिर सन् १९४५ को अप्रिल महिनातिरै युद्घ मत्थर भइसकेको थियो भने एसिया प्रशान्त क्षेत्रमा जापान र अमेरिकाको बीचमा चर्किरहेको अवस्था थियो। अप्रिल १२, १९४५ मा अमेरिकी राष्ट्रपति रुजबेल्टको निधनपछि राष्ट्रपति बनेका ट्रुमेनले जापानलाई आत्मसमर्पण वा कुनै ठूलो क्षति व्यहोर्नका लागि धम्कीको घोषणा गरेका थिए। जसलाई पोस्टड्याम घोषणाको नामले जानिन्छ। त्यो बेलाका ठूला विश्वशक्ति राष्ट्रहरू नाजी जर्मनीलाई युद्धमा हरएपछि जर्मनीको एउटा ठूलो सहर पोस्टड्याममा सन् १९४५ को जुलाई १७ देखि अगस्त २ सम्म विश्व युद्धपछिको शक्ति सन्तुलनको बारेमा छलफल गर्न भेला भएका थिए। जसलाई पोस्टड्याम सम्मेलन भनेर जानिन्छ। यो वास्तवमा कुनै तरिकाले जापानलाई आत्मसमर्पण गराउने र भविष्यको शक्ति सन्तुलनबारे शक्ति राष्ट्रबीच विचार विमर्श गर्न बोलाइएको सम्मेलन थियो।
नागासाकीको त्यो विपत्मा ४० हजार जनसंख्याको तत्कालै मृत्यु भएको थियो। मानव इतिहासकै सबैभन्दा भयंकर नयाँ तथा क्रूर घटना थियो त्यो। पछिल्ला प्रभावहरू तापको राप र रेडियो विकिरणका कारण हिरोसिमामा १ लाख ५० हजार र नागासाकीमा ७५ हजार जनाको मृत्यु भएको थियो।
जुलाई २६, १९४५ का दिन यो घोषणामा जापानलाई बिनासर्त आत्मसमर्पण गर्न चेतावनी दिइएको थियो। यो घोषणामा अमेरिका बेलायत र चीनले समर्थन जनाएका थिए। पोस्टड्याम घोषणाको दुई दिन पहिला जुलाई २४ का दिन ट्रुम्यानले सोभियत नेता जोसेफ स्टालिनको छेउमा गएर मसिनो स्वरमा अमेरिकाले निकै शक्तिशाली ध्वंसात्मक हतियारको निर्माण गरेको र त्यो कुनै पनि बमभन्दा बढी शक्तिशाली छ भनेका थिए। जापानले यदि आत्मसमर्पण गरेन भने यो नयाँ बनाइएको प्रलय ल्याउन सक्ने हतियार जापान माथि प्रयोग गरिनेछ भनेर भनेको कुरा विश्वयुद्धको इतिहासमा उल्लेख छ। यसर्थ अमेरिकाले बनाएको खतरनाक भनिएको परमाणु बमको प्रयोग एकैचोटी संसारले थाहा पाएको हैन रहेछ भन्ने बुझिन्छ। यसको संकेत तत्कालीन सोभियत संघले पाइसकेको रहेछ।
पोस्टड्याम सम्मेलनबाट देशहरूबीच आपसी र बहुपक्षीय शंकाहरूको बीजारोपण भएको बुझ्न सकिन्छ। अमेरिकी राष्ट्रपति ट्रुम्यानले सोभियत संघप्रति कडा नीति अवलम्बन गर्नैपर्ने सोच राखेको र अर्कोतिर सोभियत नेता जोसेफ स्टालिनलाई अमेरिका र बेलायत मिलेर आफू र आफ्नो देशविरुद्ध षड्यन्त्रका तानाबुना बुन्न लागेको हो कि भन्ने शंका उत्पन्न भएको थियो। युद्धविराम नभएपछि विश्व इतिहासमा भयानक कालो दिन र समय पनि आयो। त्यो हो अगस्ट ६, १९४५ जापानी समयअनुसार बिहानको ८ बजे।हिरोसिमा सहरमा सूर्य उदाएर झलमल्ल हुँदै थियो त्यतिनै बेला अमेरिकी बमवर्षक विमानबाट बम खसालियो र पूरै सहर आगोको लपेटामा परिणत भयो। यसरी ताप र विकिरणमा जकडियो। जसमा लगभग ९० प्रतिशत हिरोसिमा सहर पुछियो र तत्कालै करिब ८० हजारभन्दा बढी मानिसले ज्यान गुमाए। जापानलगायत विश्वभरि कोलाहल मच्चियो। स्वयं जापानीहरू अप्रत्याशित र कल्पनाबाहिरको घटना मानिरहेका थिए। यसबीच तीन दिनपछि ९ अगस्तका दिन नागासाकीमा अर्को बम खसालियो। बम दुई पहाडको बीचमा खस्न पुगेकाले तुलनात्मक रूपमा कम क्षति भएको थियो।
नागासाकीको त्यो विपत्मा ४० हजार जनसंख्याको तत्कालै मृत्यु भएको थियो। मानव इतिहासकै सबैभन्दा भयंकर नयाँ तथा क्रूर घटनाले जापानी सम्राट् हिरोहितोले अगस्त १५ का दिन रेडियो सन्देशबाट आत्मसमर्पण गरेको घोषणा गर्नुपर्यो। पछिल्ला प्रभावहरू तापको राप र रेडियो विकिरणका कारण हिरोसिमामा १ लाख ५० हजार र नागासाकीमा ७५ हजार जनाको मृत्यु भएको थियो।
रुस र युक्रेनको युद्धमा भयानक त्रासदी व्यहोरिरहेको वर्तमान अवस्थामा विश्वमा अहिले पनि यस्तै खालका ध्वंस गर्ने हिसाबले अझ विकास गरिएका पारमाणविक हातहतियारहरूको डरलाग्दो होडबाजी चलिरहेको छ। रुस र युक्रेन दुवै परमाणु हतियार भएका मुलक भएकाले परमाणु हतियारको प्रयोग होला कि भन्ने त्रास पनि कायमै छ। संयुक्त राष्ट्रसंघमार्फत यस्ता क्रियाकलाप तथा होडबाजीलाई निस्तेज पार्न पहल गर्न प्रयास गरिए तापनि वास्तविक धरातलमा त्यो सफल हुन सकिराखेको छैन। भोक र गरिबीबाट मुक्त हुन एउटा ठूलो हिस्सा संघर्ष गरिरहेको छ भने हतियारको होडबाजीमा ठूलो धनराशि खर्च भइराखेको छ।
७७ वर्षपहिले घटेको घटनाको दीर्घकालीन प्रभाव अहिले पनि परिराखेको छ। शारीरिक विकृति, रक्त क्यान्सरलगायत तमाम आणुवंशिक रोगहरू र उत्परिवर्तनका घटनाहरू देखिएका छन्। शत्तिका कारणले नागरिकको ख्याल नगरी सनकको भरमा कसरी ठूलो क्षति पुग्न जाँदो रहेछ भन्ने उदाहरण हुन् यी।
परमाणु हतियार शक्ति सम्पन्न राष्ट्रहरूले नै भण्डारण गरेको हुनाले र यस्तै हतियारहरूको विकास र तिनका परीक्षणहरूले पनि मानव सभ्यतालाई विभिन्न कोणबाट चुनौती थपिँदै गएका छन्। संयुक्त राष्ट्रसंघ शक्ति राष्ट्रहरूको सन्दर्भमा कठोर बन्न सकेको देखिँदैन। ७७ वर्षपहिले घटेको घटनाको दीर्घकालीन प्रभाव अहिले पनि परिराखेको छ। शारीरिक विकृति, रक्त क्यान्सरलगायत तमाम आणुवंशिक रोगहरू र उत्परिवर्तनका घटनाहरू देखिएका छन्। जो अहिले क्रमशः कम हुँदै गएको वैज्ञानिकहरूको ठहर छ।
शक्तिका कारण नागरिकको ख्याल नगरी सनकको भरमा कसरी ठूलो क्षति पुग्न जाँदो रहेछ भन्ने उदाहरण पर्लहार्बर, हिरोसिमा र नागासाकीजस्ता प्रतिनिधि घटनाले स्पष्ट पार्छन्। हिरोसिमा र नागासाकीको त्यो प्रलयकारी घटना र त्यसबाट मानव जातिले चुकाउनु परेको पीडा कति गहिरो बनेर मनमस्तिष्कमा छ भन्ने कुराको अनुमान मात्र पनि लगाउन गाह्रो हुन्छ। सैन्य शक्तिको वलमा प्राकृतिक स्रोतसाधन कब्जासँगै आफ्नो प्रभुत्व जमाउन खोज्ने शक्तिको ठूलो हार भयो र आत्मसमर्पण गर्नु पर्यो। जापानी सम्राट् हिरोहितो त्यस बीभत्स घटनापछिका दिनहरूमा जीवनभर दुःखी रहनुपर्यो। विश्वयुद्धताकाका जापानी प्रधानमन्त्री तोजो हिँडेकीलाई आत्महत्याको प्रयास गर्नुपर्ने तहसम्म पुर्यायो। जापानको हारको कारक ठान्दै पछि मृत्युदण्डको सजाय दिइएको थियो।
प्रत्येक घटना साना वा ठूला किन नहुन् तिनको अन्तर्यमा धेरै कुरा लुकेका हुन्छन्। दोस्रो विश्वयुद्घ चलिरहँदा चीनमा माओत्सेतुङको नेतृत्वमा सामाजिक तथा राजनीतिक रूपान्तरणको क्रान्ति चलिरहेको अवस्था थियो। जो अहिले एसियाली राष्ट्रमध्ये महाशक्तिको रूपमा उदीयमान छ। जापानमा घटेको त्यो बीभत्स घटनाले जापान सँगै युरोपको पनि हार भयो। बीसांै शताब्दीको मध्यतिर अब्बल रहेको युरोपको विज्ञान तथा प्रविधि अमेरिकातिर सर्न पुग्यो। आर्थिक रूपमा पनि अमेरिका एक महाशक्ति राष्ट्र बन्न पुग्यो। साथै विश्वमा रहेका विभिन्न क्षेत्रका बौद्धिक केन्द्र (थिंक ट्यांक) पनि अमेरिका सरेको मान्न सकिन्छ।
दोस्रो विश्व युद्धपछि मध्यम विश्वशक्ति ठानिएको अमेरिका विश्वको नेतृत्व गर्ने शक्तिशाली देशको रूपमा उभिन पुग्यो। तीव्ररूपमा शक्ति र प्रभावमा भएको बढोत्तरीका कारण अमेरिकाका थप जिम्मेवारीहरू विश्वमाझ बढेर गए। जसलाई अमेरिकी युग भनेर पनि बुझ्न थालियो। खासमा भन्ने हो भने बेलायतको विश्वमा रहेको हैकम विस्तारै कम हुँदै गयो। बेलायतले उपनिवेश बनाएका देशहरूमा स्वतन्त्रताको आन्दोलन चर्कंदै गयो। यो पनि एउटा कारण हो। बेलायतलाई उछिनेर अमेरिका अगाडि लाग्यो।
१९४५ अक्टोवरमा संयुक्त राष्ट्रसंघको गठनमा पनि संयुक्त राज्य अमेरिकाको नेतृत्वदायी भूमिका रह्यो। द्वितीय विश्व युद्धपछि विश्व खासगरी दुई धु्रवीय बन्नेतिर गयो। पुँजीवादी खेमाको नेतृत्व अमेरिकाले र समाजवादी खेमाको नेतृत्व तत्कालीन सोभियत संघले गर्दैगर्दा लामो समयसम्म शीतयुद्धको चपेटामा विश्व पर्यो। तर पनि हिरोसिमा र नागासाकीजस्ता अप्रिय घटना हुन पाएनन्। सतहमा हेर्दा पर्लहार्बरको घटना हिरोसिमा नागासाकी त्रासदिका कारक भए पनि तत्कालीन सोभियत संघ, जापान तथा युरोपका देशहरूले गरेका विकास र प्रगतिको हानथाप छ।
परमाणु बम विस्फोटको घटना व्यहोरिसकेको विश्वले अर्को घटना व्यहोर्न नपरोस् भन्ने कुरामा संयुक्त राष्ट्रसंघलगायत सम्बन्धित सबै पक्ष थप जिम्मेवार बन्न आवश्यक देखिन्छ। वर्तमान विश्वमा ऊर्जाको बढ्दो माग पूरा गर्न परमाणु शक्तिको शान्तिपूर्ण उपयोग अपरिहार्य बन्दै छ। नेपालका छिमेकी भारत, चीन र पाकिस्तान पनि परमाणु शक्ति सम्पन्न राष्ट्रहरू हुन्। त्यसैले त्रिकोणात्मक द्वन्द्वमा जानी नजानी हुन सक्ने सम्भावित दुर्घटनाद्वारा बाँच्न नेपालले अँगाल्नुपर्ने नीति तथा कार्यक्रमका बारेमा पनि सचेतना अपनाउनु आवश्यक छ। मानव सभ्यतामा घट्न पुगेको परमाणु बम प्रयोगको त्यो महाप्रलयकारी घटना अन्तिम हुनुपर्छ भन्ने कामना गरौं।
भुसाल त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्र केन्द्रीय विभागका प्राध्यापक हुन्।