सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्न बनेको कार्यदलको पहिलो बैठक आज बस्ने
काठमाडौं : आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँट गर्न बनेको कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ। सत्ता गठबन्धनले साउनभित्रमा सिट बाँडफाँटको खाका तयार गर्न गठन गरेको कार्यदलको पहिलो बैठक बस्न लागेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो ३ बजे बैठक बस्न लागेको एकीकृत समाजवादीका महासचिव एवम् कार्यदलका सदस्य बेदुराम भुसालले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए। कार्यदलमा कांग्रेसबाट ३ जना र अन्य दलबाट २–२ जनाको प्रतिनिधित्व रहेको छ।
कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा, माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन्।
सरकारले आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको थियो। प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० सिट छन्। गठबन्धनभित्र अब सिट बाँडफाँटका विषयले अब स्थान पाउनेछन्।
सिटको बाँडफाँट हरेक निर्वाचन क्षेत्रको धरातलीय यथार्थका आधारमा हुने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बताउँछन्। ‘सिट बाँडफाँटका विषयमा अब बल्ल छलफल सुरु हुन्छ। सिट बाँडफाँट गर्दा हरेक निर्वाचन क्षेत्रको अवस्था, विगतको मत र अहिले कसले चुनाव जित्न सक्छ भन्ने परिस्थितिको समीक्षा हुन्छ। जुन स्थानमा जसको माहोल राम्रो छ उसैलाई टिकट दिनुपर्छ’ पौडेल भन्छन्।
धरातल हेरेर दाबी गर्न पनि नेता पौडेल बताउँछन्। ‘कांग्रेसले मात्र जित्न सक्ने सिट एक सय छ। ती ठाउँमा अन्य दलका साथीहरूलाई उठाउन मिल्दैन। अहिलेको चुनाव परिणाममा केन्द्रित हुन्छ।’ नेता पौडेलले भने।