जाबो जनता !
एकाबिहानै उठेर कराग्रे वसते लक्ष्मीः करमध्ये सरस्वती, करमुले तु गोविन्दः प्रभाते करदर्शनम् गर्नुपर्ने हुन्छ। तर बिहानै मोबाइलले सस्ते महांगे तेलेः मूल्यवृद्धि मध्यराते प्रभाते फेसबुके दर्शनम् पो भन्छ बा। के भो के भो भन्दै म पनि झस्किएँ एक्कासि अनि सँगै बोतलको पानी तताएर गिलासमा हालेर ल खा भन्दै दिएको अझै खन्न भन्छ बा ! हरे शिव के गर्ने होला यसलाई भनेर यसो फेसबुक हेर्दै के थिएँ। छिमेकीले हन तँलाई रातिको पेट्रोलले अझै छोडेन पो भन्छ बा ! दंग परें अनि स्क्रोल गरेको त झन् पल्लो घरको सोमे दाइले पनि तेलको मूल्य अकासियो भनी रा’छ। फेरि उसको बाइक, गाडी, हेलिकप्टर केही पनि छैन।
तँलाई विरोध गर्ने साधन त सस्तै छ त किन सरकारलाई फुक्को गाली गर्छस् ? नेता हुन मन छ कि क्या हो भनेको के थिए। मुसो जसरी भित्र पसेर चुक्कल पो ठोक्छ बा। यति गर्दा गर्दै विष्णु दाइ पो कोठामा टुप्लुक्क आइपुगे। ल दाइ बस्नु भनेको के थिएँ दाइले तीन पोका दूध, एक किलो घिरौंला र एउटा हजमोला पो लिएर आ’का छन्। हन के हो दाइभन्दा मेरो मूल्य बढेछ भनेर खुसी पनि भए। चिया पकाएँ अनि घिरौंलाको तरकारी र खिर बनाएँ। मस्तले खाइयो त्यो पल्लो कारवाला नेता छिमेकी हेरेको हेरेई। बोलायौं उसलाई पनि। अनि अलिकति उसलाई पनि दियौं। खिर खाँदाखाँदै उसले पनि भाउकै गफ नर्छ भन्या। मलाई चित्तै बुझेन अनि दाइले लिएको हजमोला खाएँ। उसलाई चाई यत्रै नि दिइनँ किनकि थाहा थियो उसलाई ग्यास्टिक छ भनेर। यसो गर्दा उसको ग्यास बढ्छ र पछि पाइप लगाएर सिलिन्डरमा पछि भर्न सजिलो होस् भनेर।
विष्णु दाइ देशभक्त छन् अलि त्यसो भएर उनले महँगी बढ्यो अब सबै सर्वहारा किसान, विद्यार्थी मारमा पर्ने भए, हुने खानेलाई त के नै छ र भन्दै नेतासँग आन्दोलनको पो कुरा गर्छन् बा ! सुनिरहें केहीबेर। कुरा अलि चर्किएपछि मलाई पनि अति भयो क्या। त्यसपछि चोर औंला ठड्याउँदै भनें, पख्नोस्। के बढ्या छ रे ? तेल सवारी नहुनेलाई के को तेल ? आन्दोलन रे ? केको आन्दोलन गर्नुपर्यो विद्यार्थीले। सरकारले मूल्य बढ्छ, भाडा भन्ने थाहा पाएर नै ४५ प्रतिशत छुट दिएको हैन र भन्या ? सुनको भाउ बढ्यो खोइ त आन्दोलन ? यहाँ आफूलाई नै अनुदानमा लिलामी गर्नुपर्ने भइसक्यो। कहिल्यै ती वृद्धाश्रम बस्नेले आन्दोलन गरेको सुन्नु भएको छ ? नेतालाई यसो खुवाउनु पर्यो, होटलमा बोलाउनै पर्यो यता नेताको मूल्य बढेको बढ्यै छ। खोइ मैले कहिल्यै किन आन्दोलन गर्नु पर्यो ? न्याय खोज्नेभन्दा नि भाइरल हुनेहरूको मूल्य बढेको बढ्यै छ।
सबै सुरक्षित भइहाल्छ नि। रत्नपार्कमा पनसयमा दुईटा किनेका टि–सर्ट, सयमा तीन जोर मोजा, दुई सय पचासको ट्र्याक पाइन्ट, पनसय पचासमा जुत्ता, सयको पेन्टी, सयमा पेटी। योभन्दा सस्तो के खोज्छौ हो ? रातिमा २० हजारको पेट्रोल भर्न सक्नेले दिउँसोमा दुई सयमा हाल्न नि केको कन्जुस्याइँ ? भन्दाभन्दै नेताले रोक्न खोज्छ बा ! यत्तिकैमा विष्णु दाइ हैन उसो भए किसानलाई पो मार पार्ने भयो ढुवानीमा ? मैले फ्याट्ट जवाफ दियो, हन किसानलाई केको चिन्ता ? एउटा किसान कार्ड बनाइदिए भइहाल्यो नि ? अनि व्यवसायीलाई के गर्ने त ? चोभारमा जाने टाउको ठोक्ने।
‘जाबो जनता भनेको पाँच वर्षमा एक चोटि न चाहिने हुन्। अनि के दैनिक उपभोग्य चिजको मूल्यवृद्धिमा दैनिक कुरा गर्छौं ? जनता मरे के भो र ? पार्टीको झन्डा अलि बढी अर्डर गरौंला, लगेर ओडाइदिउँला। के भयो र ?’ यसो गर्नबाट बचाउन फ्रिको अक्सिजन लिँदै सरकारलाई सलाम हान्ने अनि सहर छोड्ने र गाउँतिर लाग्ने। नत्र तिमीलाई हिँड्न, काम गर्न भगवान्ले दिएका चार हातपाउको के काम ? नत्र झोले बन्ने, यसो पनि नभए जनताविरुद्ध मिडियामा बकम्फुसे कमेन्ट लेख्ने। यहाँ यत्रो भाउ बढीरा’छ तपाईं पचिस तीस रुपैयाँमा अल्झिनु हुन्छ ? ए सरकार ! अब म गाउँमा महँगीको मृत्युमा किरिया बस्न जानुपर्ने भयो। मलाई एउटा महँगो सिट मिलाई दे ल नत्र यति पनि गर्न सकिँदैन भने यहाँलाई मेरो पसिना बेचेर एक बोतल पेट्रोल किनिदिन्छु। किसानको खेतमा गएर मलमाथि किसानको शरीरमा पेट्रोल छर्किएर आगो लगाइदिएर नयाँ कामको सुरुआत गर्दा हुँदैन सरकार यहाँले ? ‘सक्नेले जीवन चलाउने हो नसक्नेले जलाउँदा के फरक पर्ला र ?’
यसरी जनता मर्दा आत्तिनु पर्दैन नि सरकार। यहाँहरूलाई किनकि यसो गर्दा यहाँको सालिक सहिद पार्कमा हैन महँगी पार्कमा राखिन्छ नि। यो त अति भएन र सरकार ? उसो भए ए सरकार ! कि मण्डलामा सिंगल सिंगल कक फाइट खेलौं र ? बरु रेफ्रीहरू चीन, भारत र अमेरिकाबाट बोलाउँला। पशुपतिले समयमै सबैको आँखा उघारुन्। हरे कृष्ण !