कालोपत्रे हुँदै मदन भण्डारी मार्ग
बुटवल : प्यूठान, गुल्मी र अर्घाखाँचीमा मदन भण्डारी राजमार्ग निर्माण अघि बढ्ने भएको छ। राजमार्ग सम्पन्न भएपछि यहाँका विकट बस्तीको मुहार बदलिने स्थानीय बताउँछन्।
लामो समयदेखि निर्माणाधीन राजमार्गले निरन्तरता पाउने भएको हो। प्यूठानको पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी, अर्घाखाँचीको सुपादेउराली र गुल्मीको रेसुंगालाई छोटो दूरीमा जोड्ने झिमरुक–१ सौतामारेका वडाध्यक्ष धु्रवराज खनालले बताए। गुल्मीको मदाने सिमलटारीदेखि प्यूठानको झिमरुक मच्छीसम्मको ३१.८ किलोमिटर सडक कालोपत्र गर्न टेन्डर आह्वान भइसकेको छ।
मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय ललितपुरले १ अर्ब ९२ करोड रुपैयाँमा ठेक्का खोलेको हो। यस्तै सन्धिखर्क—भण्डार—रतनमारे—गोखुंगा सडकअन्तर्गत २७.२६ किलोमिटर सडक पनि कालोपत्र हुनेछ। यसका लागि १ अर्ब ७२ करोड विनियोजन भएको छ। मच्छीदेखि बाग्दुलासम्म अर्को महत्त्वपूर्ण योजना बाग्दुला—भिमगिठे सडकले कालोपत्रे गर्नेछ। यस योजनाअन्तर्गत ७ मिटरको दुईतर्फी सडक निर्माण हुने निर्देशक अशोक तिवारीले जानकारी गराए।
‘यो बहुवर्षीय योजना हो’, तिवारीले भने, ‘तीन वर्षभित्र पूरा गर्ने लक्ष्य छ।’ वर्षौं अघिदेखि चर्चामा रहे पनि सडक निर्माणको कामले गति नलिएपछि यस क्षेत्रका स्थानीयले सडक बन्नेमा ढुक्क थिएनन्। तर, टेन्डरको सूचना प्रकाशन भइसकेपछि स्थानीयमा आशा पलाएको हो।