लोपोन्मुख कुशबँधिया
नेपालगन्ज : आदिवासी/जनजातिको लोपोन्मुख सूचीमा पर्छ, कुशबँधिया। भारतबाट ढुंगा ल्याएर जाँतो, सिलौटो र लोरो बनाएर बेच्ने यो जातिको मुख्य पेशा हो। यी सामग्रीको बिक्री घटेको छ।
‘अहिले मुस्किलले दिनमा एक दुईवटा मात्रै सिलौटो बिक्री हुन्छ। पहाडतिर गएर बेच्नुपर्छ’, जानकी गाउँपालिका–३ कैलाशपुरका ८० वर्षका पटवारी कुशबँधिया गुनासो गर्छन्। पुख्र्यौली पेशा छोडेर धेरै कुशबँधिया ज्याला मजदुरीको काम गर्छन्। उहीहरू अवधि र हिन्दी भाषी हुन्।
कुशबँधिया उत्थान संघ केन्द्रीय कार्य समिति नेपालगन्जका कोषाध्यक्ष कुँडुवा कुशबँधियाका अनुसार बाँकेमा नेपालगन्ज उपमहानगरपालिकाको फुल्टेक्रा र राँझाका साथै जानकी गाउँपालिकाको इन्द्रपुरमा २५० परिवार कुशबँधिया बस्छन्।