बदलिँदो राजनीतिक कोर्स

बदलिँदो राजनीतिक कोर्स

पञ्चायतदेखि गणतन्त्रसम्म आइपुग्दा देशमा दलीय तन्त्रप्रति मानिसको आकर्षण ओझेल पर्न खोजेको हो कि भन्ने आशंका जन्मिएको छ। दलहरूप्रति जनताको वितृष्णा बढिरहेको देखिन्छ। यसबीचको समयलाई विश्व इतिहाससँग दाँजेर हेर्दा द्रुत गतिमा परिवर्तन भएको आभास जो कसैले गर्न गाह्रो छैन। नेपाली समाजको एउटा भिन्न स्वभाव पनि छ। त्यो के हो भने परिवर्तन समयभन्दा छिटो भई यदाकदा दुर्घटनाको सिकार बन्न गएको छ। २००७ सालको परिवर्तन २०१७ मा मासिनु यसको उदाहरण हो। तर, समय व्यापक परिवर्तनशील छ। आजको २५ वर्षे नवजवानले माओवादी द्वन्द्व सुन्न मात्र पाएको छ, देख्न पाएको छैन। राजपरिवारको वंशनाश भएको घटना उसले सुनेको होला तर त्यो समय महसुस गर्न पाएको छैन। पुरानो पिँढीमाथि मनोवैज्ञानिक दबाब छ यतिबेला। जे भए पनि नेपालमा बालेनहरूको उदय हुने क्रम जारी छ। यसबाट लोकतान्त्रिक प्रक्रियामा हिँडिरहेका सम्पूर्ण दलहरूले केही पाठ सिक्नु जरुरी छ। अझै भनौं दल हाँक्ने नेताहरूले धेरै सिक्न जरुरी छ।

यसरी स्वतन्त्र उम्मेदवार नेपालमा हावी हुँदै जाने हो भने देश र प्रणाली संवेदनशील अवस्थामा पुग्न सक्छ। यसलाई जनता जनार्दनले बुझ्नु जरुरी छ। वास्तविकता के हो भने कैयौं दशकदेखि एउटै नेतृत्व स्वीकार्दै हिँड्ने दलहरू आफू परिवर्तन हुन सक्छन् त ? यदि त्यो प्रणाली कायमै रहने हो भने व्यवस्था परिवर्तन भए पनि उही व्यक्तिहरूको समूहले दल हाँकिरहने र राज्यसत्ता चलाइरहने काम हुन्छ। त्यसो हुँदा नवजवानको आवाज यसरी नयाँ स्वरूप उदाउँदै जानेछ। अन्तत्वोगत्वा पार्टी कमजोर र व्यवस्था अस्थिर हुने पक्का छ। उमेरको हेक्का राख्दै अनुभवलाई संग्रहालयमा राख्नुपर्ने व्यक्तित्वहरू फेरि नेतृत्वमा आइरहँदा आजको पिँढीले सूचना प्रविधिको घेराभित्र खरो रूपमा उतारिरहेको युवा जमातमध्येबाटै नेतृत्वमा आउँदैनन् भन्नु गलत हुनेछ।

नेपालमा अहिले जन्मिएको प्रवृत्तिले दुईवटा अर्थ राख्दछ। पहिलो, हामी युवा राजनीतिभन्दा टाढा छैनौं र हामी पनि राजनीतिमा आउन सक्छौं भन्ने सन्देश छ। दोस्रो, दलहरूले जहिले पनि पुरानो र असफल व्यक्तिहरूबाट दल र देश चलाइरहेको अवस्थामा जनतामा दल होइन, नेताप्रतिको वितृष्णाको रूपमा बुझ्न सकिन्छ। त्यसैले दल र सुस्त गतिमा चलिरहेको दल चलाउने नेतृत्वले आफूलाई उकास्न जरुरी छ। दलहरूले यसरी यो नयाँ प्रवृत्ति रोक्ने हो भने मूलजरो फाल्न जरुरी छ। त्यसको मतलव नयाँ स्वतन्त्र युवा नेतृत्व नजन्मियोस् भन्ने कदापि होइन। बरु सहवरण गर्न जरुरी छ। सहवरण प्रक्रिया पनि त्यति सजिलो छैन। कतै नेतृत्व पछि हट्नुपर्ला, कतै धमिलो पानीलाई सङ्लो बनाउनु पर्ला। कतै आफ्नो अस्तित्व विलिन गराउँदै नयाँ बालेनहरूको अस्तित्व स्वीकार्नुपर्ने हुन्छ। के यो सबै सम्भव छ त ? निर्वाचनको पछिल्लो फरक परिणाम दलहरूप्रतिको आक्रोश र वितृष्णाको सन्देश हो। खेलकुदको मैदानमा दर्शकले गरेको हुटिङजस्तै हो। मैदानमा खेल्न त खेलाडीले नै पर्छ र गोल पनि आफैं गर्नुपर्ने हुन्छ। गोल गर्दा दर्शकदीर्घामा खुसीयाली छाउँला नै, विपक्षीको अनुहारमा भने नैराश्यता अवश्य देखिन्छ। राम्रै खेलाडी रहेछ भने सन्तोष गर्ने ठाउँ चाहिँ हुन्छ नै।

अर्को पक्षबाट हेर्ने हो भने काठमाडौंका जनताले तराईवासीको आगमनलाई सहज स्वीकारेको छ भन्ने सन्देश पनि बालेनबाट स्थापित भएको छ। ‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, तराईमा आँधी आए पहाडले छेक्नुपर्छ’ भनेजस्तै भएको छ। अरूप्रति घृणा र वितृष्णा नजगाई कुनै व्यक्ति वा समूहप्रति पटक्कै लाञ्छनामा नलगाई शालीन र भद्र शैलीमा पेसागत पहिचानसहित प्रस्तुत हुँदाको अर्थलाई राजनीतिले बुझ्नुपर्छ। २०७४ सालको निर्वाचनमा भोट हाल्नुको सट्टा ‘म देश बनाउन जान्छु र म मेरो भोट अर्को निर्वाचनमा आफैंलाई दिनेछु’ भनी घोषणा गर्दै गरेको लामो तयारीले पनि उनलाई सफल बनाउन सहयोग गरेको देखिन्छ। परम्परागत शैलीको प्रचार–प्रसारको तरिकामा जसलाई गाली गर्नुपर्ने हो, त्यही विपक्षीहरूसँग पनि आशीर्वाद लिन जानुले समाजमा राम्रो छाप छोडेको स्पष्ट देखिन्छ। उनी सफल हुन सके अरू धेरै बालेन अगाडि सर्नेमा निर्विवाद छ। तर, बालेनवाद पनि व्यक्तिवाद, परिवारवाद, समूहवाद र पार्टीवाद हुँदै जाने हो र आर्थिक पारदर्शिता तथा चुस्त दुरुस्त विकास निर्माणतर्फ ध्यान नदिने हो भने फेरि पनि महानगरवासी नानीमैयाँ दाहालको जितपछि झुक्किएजस्तै हुनेछन्। सम्पूर्ण दल राजनीति गर्न तत्पर रहनु जरुरी छ। अरूको सामना गर्नुभन्दा पनि आफ्नो प्रवृत्तिलाई सुधार्नु जरुरी छ। बिनाराजनीतिक दल कुनै पनि देशले आर्थिक, सामाजिक, सांस्कृृतिक, विज्ञान तथा प्रविधि वा अन्य महत्त्वपूर्ण विषयमा विकास गर्नु असम्भव प्रायः छ। विश्वका धेरै देशमा यस्तै फरक नेतृत्व यदाकदा जन्मने गर्छन् र देश विकास भएका नमुना पनि नभएका होइनन्। केजरीवाल, नरेन्द्र मोदीजस्ता व्यक्तिले पार्टीमा रहेर पनि देशलाई विश्वसामु शक्तिशाली राष्ट्रको रूपमा परिणत गर्दैछन्। अमेरिकाको अश्वेत राष्ट्रपति बाराक ओबामाको कार्यकाल पनि सम्झन लायक छ। तर नेपालका राजनेताहरूले देशपछि दल राख्नुपर्नेमा दलपछि देश राख्ने प्रवृत्तिबाट पछि परिरहेका छन्। उनीहरूको सदाबहार ऐशआरामको जिन्दगीको व्यवस्था राज्यले गरिदिनु पर्नाले पनि जनतामा एक खालको उकुसमुकुस थियो।

राजनीतिक दलहरूले आज पनि स्वतन्त्र व्यक्तिको जितप्रति परिपक्व व्यवहार गर्न सकिरहेका छैनन्। जितपछि बधाई दिन पनि कञ्जुस्याइँ गर्ने प्रतिद्वन्द्वीहरू कमजोर मानसिकताको सहायता लिइरहेका छन्। नयाँ यो प्रवृत्तिलाई निरन्तरता दिने हो भने आंशिक विकास त होला तर समग्रमा समानुपातिक, समयानुकूल विकास हुन भने दलको विकल्प छैन। दलहरूले के बुझ्नुपर्छ भने आफ्नो दल स्वच्छ छविका नवजवानहरूको थलो बन्न जरुरी छ। राजनैतिक दलहरूको साथ र सहयोगबिना केही गर्न सकिँदैन भन्ने जमात पनि मनग्गे भेटिन्छ। सुशासन, आर्थिक पारदर्शिता, समानुपातिक समयानुसार वैज्ञानिक ढंगबाट विकास गर्ने हो भने स्वतन्त्र विजेतालाई पनि सबै दलले साथ दिनै पर्छ।

सञ्चारकर्मी रवि लामिछानेले कर्मथलोलाई नयाँ पुस्तामा हस्तान्तरण गरी राजनीतिमा होमिने घोषणा गरेर अघि बढेका छन्। चर्चित कलाकर्मी तथा वरिष्ठ विमान चालक विजय लामादेखि हाँस्य कलाकार सीताराम कट्टेल धुर्मुस पनि यही पथमा छन्। यदि यसरी नै देशभरबाट अधिकांश अर्थात् संसद्मा बहुमत हुने गरी उदय हुने हो भने स्थिति कस्तो रहला ? यथार्थमा चित्रण गर्ने हो भने माउबिनाको बथानजस्तो हुने हो कि ? चिन्ता लाग्नु पनि स्वाभाविक हो। यसतर्फ बेलैमा दलहरू सचेत भई पुस्तान्तरणमा जानु समयको माग देखिन्छ। देशको मूलधारमा स्पष्ट, स्वच्छ छवि भएका व्यक्तिहरूद्वारा सत्ता सञ्चालन गर्न अति जरुरी भएको संकेत स्थानीय निर्वाचनले सबैलाई सिकाएको पाठ हो। जीवनभर आफैंले मात्रै पार्टीलाई नेतृत्व दिइरहनुपर्छ भन्ने संकीर्ण विचारलाई आजकै दिनदेखि त्याग्नु जरुरी छ। टेलिग्राम, टेलिफोन, पेजर, मोबाइलदेखि सामाजिक सञ्जालमा पुगेजस्तै राजनीतिले पनि आफ्नो कोर्सलाई समयमैत्री बनाउनै पर्ने देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.