म्याग्दीमा बाढी-पहिरो : सात जलविद्युत आयोजनाको निर्माण प्रभावित
बेनी : पहिरोका कारण म्याग्दीका सातवटा जलविद्युत आयोजना निर्माण प्रभावित भएका छन् ।
अरबौं लगानीमा निर्माणाधिन आयोजनाहरुको काम नियमित नहुँदा निर्माण अवधी लम्बिने र लागत बढ्ने देखिएको छ ।
रघुगंगा गाउँपालिकामा- ४ धवलागिरीका दुई र मालिकाको एक जलविद्युत आयोजना निर्माण प्रभावित बनेको हो ।
म्याग्दीमा तीन सय ५३ मेगावाट क्षमताका ११ वटा जलविद्युत आयोजना निर्माणाधिन छन् । जलविद्युत आयोजनाका पहुँचमार्गमा पहिरो जाँदा इन्धन, निर्माण सामग्री र सुरुङ खन्न आवश्यक पर्ने विष्फोटक पदार्थ ढुवानीमा समस्या भएको हो ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरद्धारा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाका व्यवस्थापक राज बिष्टले बाँध र दुईवटा अडिटबाट सुरुङ निर्माण रोकिएको बताए ।
‘दग्नामबाट खसेको पहिरोका कारण झिँको सिमानामा रहेको बाँध, अडिट १ र २ को सुरुङ निर्माण रोकिएको छ,' उनले भने,'पावर हाउस र अन्य अडितको काम भने निरन्तर भइरहेको छ । बाँधतर्फ जाने पहुँचमार्गमा पैदल हिँडेर पनि जान नसकिने पहिरो खसेको छ ।’
राहुघाट नदीमा आएको बाढीले ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्सले भाडामा लिएको डोजर बगाएको थियो । तुँदी पावर कम्पनी प्रर्वद्धक रहेको ३७ मेगावाट क्षमताको राहुघाट मंगले, ४८.५ मेगावाटको अपर राहुघाट र संयुक्त उर्जा प्रालीले निर्माण गरिरहेको २१.३० मेगावाट क्षमताको ठुलोखोला जलविद्युत आयोजना निर्माण स्थल जोड्ने पहुँचमार्ग अवरुद्ध भएका छन् ।
तुँदी पावरका इञ्जिनियर प्रकाश तिमिल्सीनाले दग्नामको औरी, चिमखोला र मलाङको पहिरोका कारण डिजेल, सिमेन्ट, रड र विष्फोटक पदार्थ ढुवानी हुन नसकेको बताए । भएका सामान सकिएपछि भरिया र खच्चरमा बोकाउँदा महँगो पर्न गएको इन्जिनियर तिमिल्सीनाले बताए ।
धौलागिरि कालिका हाइड्रो लिमिटेडले मालिका गाउँपालिकामा निर्माण गरिरहेको २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाका आवासीय इञ्जिनियर बालकुमार रोकाले पहिले दैनिक तीनपटक विष्फोटक हुने गरेकोमा बर्खा लागेपछि एक पटक मात्र गर्न सकिएको बताए ।
धवलागिरी र मालिका गाउँपालिकामा अपर म्याग्दी हाइड्रोपावर लिमिटेडले निर्माण थालेको ५३.५० मेगावाट क्षमताको अपर म्याग्दी पहिलो र हाइड्रो इम्पायर प्रालीले धवलागिरी गाउँपालिका–४ मा निर्माण गरिरहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलबिद्युत आयोजना स्थल पनि सडक सम्पर्क बिच्छेद भएको छ ।
नेपाल विद्युत प्राधिकरणले निर्माण थालेको १३२ केभी क्षमताको डाडाखेत सवस्टेशन निर्माण स्थल जोड्ने सडक पनि अवरुद्ध भएको छ । निरन्तरको वर्षात्का कारण दिनमा मर्मत गरिने सडक रातमा भत्किने गर्छन् । निर्माण सामग्री र इन्धनको व्यवस्थापन गर्न नसक्दा आयोजनाका निर्माण कम्पनीहरुले मजदुर घटाएका छन् ।
अन्नपूर्ण गाउँपालिकामा सञ्चालित ७१ मेगावाट क्षमताको निलगिरी क्यासकेड, ३८ मेगावाट क्षमताको निलगिरी पहिलो, १४ मेगावाट क्षमताको घारखोला र ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना निर्माण कार्यलाई भने निरन्तरता दिइएको प्रर्वद्धकहरुले जनाएका छन् ।
विद्युत विकास विभागका अनुसार ४९ मेगावाट क्षमताका तीनवटा जलविद्युत आयोजना सञ्चालनमा आइसकेको म्याग्दीमा ७००.८३ मेगावाट क्षमताका १७ आयोजनाले निर्माणका लागि अनुमति लिएका छन् ।
३४६.०३ मेगावाट क्षमताका ६ वटा आयोजना निर्माणको तयारी र प्रक्रियामा छन् । ८३.५ मेगावाट क्षमताका तीनवटा आयोजनाले निर्माणका लागि अनुमति मागेका छन् । जिल्लाभर १४०.१३ मेगावाट क्षमताका १४ वटा आयोजना सर्बेक्षणको क्रममा छन् ।
सबैभन्दा बढी १० वटा जलविद्युत आयोजना रहेका अन्नपूर्ण गाउँपालिका- ४ नारच्याङमा ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ५ मेगावाटको घलेम्दीखोला र २ मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना सञ्चालनमा छन्।