सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक बस्दै
काठमाडौं : आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो २ बजे कार्यदलको बैठक बस्ने एकीकृत समाजवादीका महासचिव एवम् कार्यदलका सदस्य बेदुराम भुसालले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए।
उनका अनुसार बैठकमा कुन मोडालिटीमा सिट बाँडफाँट गर्ने भन्ने विषयमा छलफल हुने छ। सत्ता गठबन्धनले साउनभित्रमा सिट बाँडफाँटको खाका तयार गर्न गठन गरेको कार्यदलको दोस्रो बैठक बस्न लागेको हो।
गठबन्धनका दलहरूबीचमा प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै क्षेत्रमा गठबन्धन गर्ने तय भएको छ। गठबन्धनभित्र कुन मोडालिटीमा सिट बाँडफाँट गर्ने र निर्वाचनमा कसरी जाने भन्ने विषय भने टुंगिन सकेको छैन।
सिट बाँडफाँट गर्दा १ सय ६५ सिटमध्ये कांग्रेसको भागमा १०० सिट हुनुपर्ने पक्षमा कांग्रेसका अधिकांश नेताहरू छन्। माओवादी केन्द्रले दोस्रो ठूलो दलका रुपमा दाबी गरेको छ। स्थानीय तहको निर्वाचनबाट कांग्रेस मात्र नभई माओवादी केन्द्र पनि हौसिएको छ।
गठबन्धन दलमा सिट बाँडफाँटका विषयमा दुईवटा मोडेलमा छलफल सुरु भएको छ। पहिलो, स्थानीय तहको निर्वाचनका आधारमा जसको प्रभाव जहाँ राम्रो छ, त्यहीअनुसार अघि बढ्ने। दोस्रो, ०७४ सालको संघीय निर्वाचनमा आफूले जितेका क्षेत्रमा दाबी यथावत् राख्ने। स्थानीय तहको निर्वाचनको नतिजाले कांग्रेस एक्लैले पनि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एकल बहुमत ल्याउन सक्ने भन्दै कांग्रेसका केही नेताहरू गठबन्धनबिरुद्ध पनि बोल्न थालेका छन्। तर, कार्यदल नै बनिसकेकाले गठबन्धनका दलहरू बढीभन्दा बढी सिट आफूले कसरी लिने भन्ने ध्याउन्नमा छन्।
यसअघि २०७४ मा गठबन्धन दलको निर्वाचनको नतिजा हेर्दा संघीय निर्वाचनमा प्रत्यक्षमा माओवादी कांग्रेस भन्दा अगाडि थियो। त्यतिबेला माओवादीले ३६ सिट ल्याएको थियो। कांग्रेस भने २३ सिटमा सीमित थियो। राष्ट्रिय जनमोर्चाले भने १ एक सिट जितेको थियो। नेकपा एकीकृत समाजवादी भने त्यतिबेला एमालेमा थियो। उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन संघीय समाजवादी पार्टी हाल जनता समाजवादी पार्टीले १० सिट जितेको थियो।
नेकपा एकीकृत समाजवादीले भने सिट बाँडफाँट सम्मानजनक हुनुपर्ने भन्दै आएको छ। सत्तागठबन्धनको सहाराबिना नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चालाई निर्वाचनमा जित हात पार्न सकस भने देखिन्छ। अर्कोतिर कांग्रेसलाई पनि गठबन्धन भित्रकै कम्युनिष्ट दलहरूको सहारा बिना राम्रो सिट ल्याउन सकस हुने प्रष्ट छ।
कार्यदलको संयोजकमा सिटौला
सिट बाँडफाँट गर्न बनेको सत्तागठबन्धनको कार्यदलको संयोजक कांग्रेसका नेता कृष्णप्रसाद सिटौला रहेका छन्। सोमबार बसेको कार्यदलको पहिलो बैठकले सिटौलालाई संयोजक बनाएको हो। कांग्रेसबाट ३ जना सदस्य छन् भने अन्य चार पार्टीबाट दुई–दुई जना सदस्य छन्। जसमा महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौला र सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा छन्।