रेमिट्यान्सका पराकम्पन
वि.सं १८७२ मा नेपाल–अंग्रेजबीच सुगौली सन्धिमा हस्ताक्षर भयो। ब्रिटिस सेनामा ४ हजार ६ सय ५० नेपाली युवाले प्रवेश पाए। त्यही बेलादेखि औपचारिक रूपमा नेपालीहरू वैदेशिक रोजगारमा जान थालेका हुन्। देशभित्र गरिने कामलाई महŒव नदिने तथा सरकारी तहबाटसमेत आत्मनिर्भर बन्नका लागि प्रेरित नगर्ने वातावरण सिर्जना भएपछि वैदेशिक रोजगारीमा जाने दक्ष, अर्धदक्ष र अदक्ष नागरिकको संख्या बढ्दै गयो। विसं २०५२ बाट देशभित्र सिर्जना भएको द्वन्द्वात्मक अवस्थाले उद्योगधन्दाहरू फस्टाउन सकेनन् र युवाहरू विदेश पलायन हुन थाले। हाल वैदेशिक रोजगारीमा कति नेपाली संलग्न छन् भन्ने कुराको स्पष्ट विवरण त छैन। तर, भारतबाहेक अन्य मुलुकमा करिब ४३ लाख नेपाली नागरिकले काम गरिरहेको अनुमान गरिन्छ। नेपालको कुल गार्हस्थ्य उत्पादनमा विप्रेषणमार्फत प्राप्त रकमको २३ दशमलव २३ प्रतिशत योगदान देखिन्छ। नेपालका ५६ प्रतिशत घरपरिवारले विप्रेषण बुझ्ने गरेका छन्। वैदेशिक रोजगारी अहिले नेपाली जनजीवनको अभिन्न अंग बनेको छ। कुनै बेला कृषिमा आत्मनिर्भर रहेको देश अहिले सबैजसो कुरामा परनिर्भर देखिन्छ।
नुनदेखि सुनसम्म र गुन्द्रुकदेखि जनैसम्म विदेशबाट आयात गर्ने नेपालले निर्यात गर्ने गरेको मुख्य वस्तु भनेकै मानव जनशक्ति हो। संसारमा आफ्ना देशका नागरिकलाई वैदेशिक रोजगारीमा जान प्रेरित गर्ने र उनीहरूमार्फत प्राप्त भएको वैदेशिक मुद्राले देशको अर्थतन्त्रलाई चलायमान राख्ने नीति भएका देशहरू अत्यन्त कम छन्। नेपाल एउटा त्यस्तो देश हो जहाँ घरपरिवार आफन्त र नातेदारलाई छोडेर पैसा कमाउने उद्देश्यले कामका लागि विदेश जानुलाई गौरवका रूपमा लिने गरिन्छ। परिणामतः युवा पुस्तालाई विदेशमा पठाउने र बुढाखाडाले शासन गर्ने अवस्थाको सिर्जना भएको छ। विदेशबाट प्राप्त भएको विप्रेषणबाटै देशको अर्थतन्त्र चलायमान भइरहेको वर्तमान सन्दर्भमा वैदेशिक रोजगारीलाई अर्थतन्त्रको महत्त्वपूर्ण अंगका रूपमा स्वीकार गर्ने गरिन्छ तर यसले सामाजिक संरचना, पारिवारिक सन्तुलन र सांस्कृतिक मूल्यमा पारेको प्रभाव र असर न्यूनीकरणका लागि कुनै पनि निकायबाट भूमिका खेलिएको छैन।
पछिल्लो समय वैदेशिक रोजगारीका कारण नेपाली घर परिवारले आर्थिक रूपमा सबल बन्ने अवसर पनि प्राप्त गरेका छन् तर कलकलाउँदो जवानीमा बिदेसिएको युवा जनशक्तिको अभावमा गाउँघरको उर्वर भूमिसमेत बाँझो रहने गरेको छ। यतिमात्र होइन, भर्खर जवानी चढ्दै गरेको अवस्थामा वैवाहिक सम्बन्धमा गाँसिएर विदेश यात्रामा लाग्ने युवाहरूको संख्या पनि उल्लेख्य देखिन्छ। केही समय विदेशमा कडा परि श्रम गर्ने र छोटो समयमा कमाएको धनले परिवारसँग रमाउने सपना पालेर बिदेसिएका धेरै युवाहरू वर्षौंपछि घर फर्कँदा घर न घाटको अवस्थामा पनि पुगेका छन्। परिवारको एक सदस्य वैदेशिक रोजगारीमा जानासाथ रूखबाट पात बटुले जसरी धनसम्पत्ति जम्मा गर्ने हो क्यारे भन्ठानेर परिवारका सदस्यहरूले फजुल खर्च गर्ने तथा तडकभडक देखाउने र विप्रेषणबाट प्राप्त रकम अनुत्पादक क्षेत्रमा लगानी गर्ने गरेको देखिन्छ। श्रीमान् विदेशमा भएको बेला श्रीमती डेरा लिएर छुट्टै बस्ने तथा श्रीमान्ले श्रम र पसिना बेचेर कमाएको सम्पत्ति श्रीमतीले दुरुपयोग गर्ने गरेका घटना पनि बढेका छन्। विदेशबाट पठाइएको धनसम्पत्ति केही परिवारमा उपयोगी भए पनि धेरैजसो घरपरिवारमा पारिवारिक विग्रहको कारण बन्न थालेको छ। यौवनावस्थामा नवविवाहित श्रीमान्सँग टाढिएर बस्नुपर्दा जैविक र मनोवैज्ञानिक आवश्यकता पूर्ति गर्न विवाहेत्तर सम्बन्धमा रहने र यसैका माध्यमबाट पारिवारिक दुर्घटना निम्तिने गरेका घटना पनि यत्रतत्र देखिन थालेका छन्। त्यसो त घरकी श्रीमतीको चरित्रमाथि अनेक किसिमका शंका गर्ने पुरुषहरूको संख्यासमेत कमी छैन।
सामाजिक सञ्जालको विकाससँगै परपुरुष र परस्त्री सम्बन्ध झ्यांगिनका लागि सहज वातावरण बन्दै गएको छ। सञ्जालमा भेटिएका अनेक सूचनाहरू तथा अनेक किसिमका अश्लील भिडियोहरूका कारण वैवाहिक सम्बन्धमा रहेका श्रीमान् श्रीमतीले एकआपसमा शंका गर्ने वातावरण सिर्जना भएको छ। वैदेशिक रोजगारीले आर्थिक रूपमा सबल बन्नका लागि सहयोग पुर्याएको भए पनि सामाजिक, सांस्कृतिक र आचारगत मूल्यलाई भञ्जन गर्ने काम पनि गरिरहेको छ। रोजगारीमा गएका युवायुवती र परिवारमा कुनै न कुनै किसिमको झगडा, द्वन्द्व र बेमेलले बास गरेकै हुन्छ। पारिवारिक विखण्डनसँगै बालबालिकाको मनोविज्ञान, उनीहरूको शिक्षादीक्षा र लालनपालनमा समेत प्रत्यक्ष प्रभाव पर्छ। पारिवारिक सामीप्यको अभावका कारण छोराछोरीहरू लागूपदार्थ दुव्र्यसनीमा लाग्ने र व्यावहारिक कामबाट पलायन हुने क्रम पनि बढेको देखिन्छ। यतिमात्र होइन, बलात्कार र हत्याहिंसासम्मका अपराधहरूसमेत बढ्दै गएका छन्। श्रीमान् बिदेसिएपछि श्रीमतीसँग आकर्षित हुन खोज्ने परपुरुष तथा क्षणिक आकर्षणका कारण पारिवारिक सम्बन्ध नै धराशायी बन्ने अवस्थाले वृद्धवृद्धा र बालबालिकाहरू बेवारिसे हुने क्रम बढ्दै गएको छ।
वैदेशिक रोजगारीबाट फर्केका युवाले पारिवारिक कलहका कारण आफ्नै परिवारका सदस्यको हत्या गरी आत्महत्या गरेका समाचारहरू अहिले प्रत्येक हप्ताजसो सुनिन थालेका छन्। काठमाडौँको तारकेश्वर नगरपालिका पदमसालमा बस्दै आएका दिनेश पाण्डे आफू विदेशमा रहेका बेला श्रीमतीको अर्कैसँग सम्बन्ध भएको आशंकामा स्वदेश फर्केपछि पनि घरपरिवारमा सहज अवस्थामा रहन सकेनन्। उनको परिवारमा श्रीमान्श्री मतीबीचको अविश्वासले चरम निराशा र तनावको अवस्था सिर्जना गरेको देखिन्छ। लामो समयसम्मको विवादपछि पारिवारिक विखण्डनको अवस्था सिर्जना भई सम्बन्धविच्छेद हुने अवस्थामा पुगेका कारण तनाव व्यवस्थापन गर्न नसकी श्रीमान्ले नाबालक छोराछोरी र श्रीमतीको हत्या गरी आत्महत्या गरेको प्रारम्भिक रिपोर्ट प्रकाशित भएको छ। त्यसो त केही दिनअगाडि चितवनको भरतपुरमा पनि वैदेशिक रोजगारीबाट फर्केका श्रीमान् र श्रीमतीबीचको विवादका कारण श्रीमतीको हत्या गरी श्रीमान्ले आत्महत्या गरेका थिए।
चलचित्रमा मात्र देखिने गरेका आन्तरिक कलह द्वन्द्व र तनावका कारण आफ्नै परिवारका सदस्यको हत्या गरी आत्महत्या गर्ने घटनाहरू विगत केही वर्षदेखि सामान्य नै मानिन थालेका छन्। यी सबै घटनाका पछाडि वैदेशिक रोजगारी कारक तत्त्वका रूपमा देखा पर्छ। यद्यपि आत्महत्याजन्य आपराधिक घटनाका प्रमुख कारणका रूपमा मानसिक रोगलाई लिने गरिन्छ। समग्र आपराधिक र आत्महत्याजन्य घटनाका ८०५ कारणहरू मानसिक हुने गरेको अध्ययनहरूले देखाएका छन्। नेपालका सन्दर्भमा डिप्रेसन, एन्जाइटीलगायतका मानसिक रोगका कारकका रूपमा पारिवारिक बिछोड, विचलन, तनाव र सम्पत्तिसँग जोडिएका विषयहरू पर्ने गरेका छन्। युवावस्थामा घर परिवारबाट टाढा बस्दा सिर्जना हुने मानसिक समस्या तथा परिवारका सदस्य विदेशमा रहँदा आफन्तमा सिर्जना हुने असामान्य अवस्थाले मानसिक रोगहरूसमेत बढ्दै गएका छन्। पतिपत्नीका बीचमा सम्पत्ति र अनैतिक सम्बन्धको आशंकामा बढ्दै गएका दरार र अविश्वासलाई सही रूपमा व्यवस्थापन गर्न नसक्दा आपराधिक घटना बढिरहेका छन्। केही युवाहरूमा वैदेशिक रोजगारीमा रहँदा अवस्था सामान्य देखिए पनि रोजगारीबाट फर्केपछि घरमा सिर्जना भएको अविश्वास र मनमुटावका कारण उदासीनता, निराशा, चिन्ता, त्रास र छट्पटीले पारिवारिक आत्मीय सम्बन्धमा धमिलोपन बढाइदिएको देखिन्छ। संयुक्त परिवारबाट एक्लिने, लोग्ने वा श्रीमती विदेश भएको बेलामा एक्लै बस्ने युवायुवतीबाट नैतिक मर्यादा उल्लंघन हुँदा सम्बन्धविच्छेद, विवाहेत्तर सम्बन्ध र आपराधिक जालझेल बढ्दै गएका छन्।
आध्यात्मिक, नैतिक र सांस्कृतिक मूल्यमा आएको ह्रासका कारण धनसम्पत्तिप्रतिको मोह बढ्दै जाँदा मानिस यान्त्रिक बन्न थालेको छ। अरूलाई विश्वास गर्न नसक्ने, हरेक कदममा शंकालु बन्ने र स्वार्थी भावनाले आक्रान्त हुने व्यक्तिले मानवीय मूल्यका रूपमा रहेका सहयोग, सहिष्णुता, दया, मायाजस्ता कुरालाई बिर्सेको आभास हुन्छ। फलतः सांस्कृतिक मूल्य–मान्यता र नैतिक मर्यादाका कुराहरू ओझेल पर्दै गएका छन्। यिनै कारणहरूले समाजमा असन्तोष पनि बढ्दै गएको छ। वैदेशिक रोजगारीले तत्काल आर्थिक सबलीकरणका लागि सहयोग गरे पनि दीर्घकालीन रूपमा यसैबाट उत्पन्न भएका अनेक समस्याहरूले सामाजिक सम्बन्धलाई विषाक्त बनाउँदै लगेको छ। वैदेशिक रोजगारी तत्कालका लागि आकर्षणको विषय भए पनि यसले समाजमा सिर्जना गर्ने बेमेल, अविश्वास, शंका र कलहका कारण पारिवारिक मूल्यमा स्खलन आएको छ। श्रीमान् श्रीमती र घरपरिवारका सदस्यहरूसमेत आफ्नै परिवारबाट असुरक्षित हुँदै आएका छन्। चरम निराशा र वितृष्णाका कारण प्रतिशोधको भावनाले बढावा पाएको छ।
प्रतिशोधी र असहिष्णु भावनाले ग्रस्त भएपछि व्यक्ति मानसिक रूपमा असन्तुलित हुन पुग्दछ। फलतः परपीडक कामका लागि उद्यत् हुन्छ। नैतिक मूल्य, आध्यात्मिक चरित्र र सामाजिक–सांस्कृतिक सम्बन्धले व्यक्तिलाई मर्यादित बन्न बाध्य पार्दछन्। धन सम्पत्तिलाई नै जोड दिने नेपाली समाजको पछिल्लो प्रवृत्तिले नैतिक, सांस्कृतिक र सामाजिक सम्बन्धहरूलाई कमजोर बनाएको छ। यसैले व्यक्तिले आफ्ना इच्छा आकांक्षा पूरा नहुने देखेपछि असन्तुलित, असंयमित र असामान्य मानसिक अवस्थामा पुगी हत्या र आत्महत्याजस्ता क्रियाकलापमा संलग्नता देखाउँछ। सामाजिक सम्बन्धमा आएको विकारले व्यक्तिलाई मानसिक रूपमा स्वस्थ बन्न नदिने तथा तिनै समस्याका कारण आत्महत्या र हत्याका घटनाहरू बढ्दै गएका छन्।
समाजमा दिनानुदिन यस्ता घटनाहरू बढ्नु राम्रो होइन। आर्थिक विपन्नतामा प्राप्त हुने खुसीभन्दा आर्थिक सम्पन्नतामा बढेका असन्तोष, बेखुसी र पीडा राम्रा हुन सक्दैनन्। यसैले वैदेशिक रोजगारीमा युवाहरूलाई धकेल्न उत्साहित हुने नीतिनिर्माता र राजनेताले देशभित्रको शान्तिसुरक्षा, पारिवारिक प्रेम र आफन्तका बीचको सुमधुर सम्बन्धलाई कसरी जोगाउन सकिन्छ भन्ने कुरामा ध्यान दिनु आवश्यक छ। मानवशक्ति निर्यात गरेर क्षणिक रूपमा राष्ट्रिय अर्थतन्त्रलाई निर्वाहमुखीसम्म बनाउन सकिएला तर यसले सिर्जना गर्ने सामाजिक र पारिवारिक द्वन्द्वले तीव्र रूप लिन थालेपछि राष्ट्रको अस्मिता, एकता र सुसम्बन्धका डोरीहरू चुँडिन बेर लाग्दैन। आर्थिक रूपमा कमजोर व्यक्तिले अवसर पाए छोटै समयमा उन्नति गर्न सक्छ तर संस्कार र सांस्कृतिक मूल्यबाट च्युत भएको व्यक्तिले जीवनभर आफूलाई सन्तुलित राख्न सक्दैन। यसैले मानव जनशक्तिलाई विदेश पलायन गराउने होइन, देशभित्रै श्रम र सिप पोख्न उत्प्रेरित हुने वातावरण सिर्जना गर्नुपर्छ। यसका लागि रोजगारमूलक शिक्षा प्रवर्धन गर्ने तथा स्वरोजगार बन्न चाहने युवायुवतीलाई राज्यका तर्फबाट आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रमहरू तय गरिनुपर्छ। देशभित्रको शान्तिसुरक्षाको अवस्था बिग्रँदै गयो भने यसको प्रत्यक्ष प्रभाव देशको अर्थतन्त्र, राजनीति र कर्मचारीतन्त्रमा पर्छ। सबै क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले अबका दिनमा वैदेशिक रोजगारीलाई होइन, विदेशमा रोजगारी गरिरहेका नागरिकलाई समेत स्वदेशमै अवसरहरू दिएर देशभित्रै केही गरौँ भनी आह्वान गर्न सक्नुपर्छ। राज्यसंयन्त्र सधैं निष्क्रिय बस्ने हो भने वैदेशिक रोजगारी सिर्जित समस्याहरूका कारण पारिवारिक विखण्डन, हत्या र आत्महत्याका समाचारका अझै बढ्दै जानेछन्। अब हत्याहिंसाका घटनाको साक्षी बन्ने होइन, सामाजिक प्रकार्यलाई सुसंगठित पार्न सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्नै पर्छ।