'श्रीमानको अनावश्यक दबाबले आत्महत्या'
बझाङ : बझाङको बुंगल नगरपालिका-९ रारुकी गीता पार्की पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहितसहित घर नजिकै रुखमा झुण्डिएको अवस्थामा भेटिइन्। साउन २५ गते बुधबार बिहान तिनै जना झुण्डिएको अवस्थामा भेटिएको थियो।
बुधबार राति श्रीमान भित्रनु र त्यसै राति एक्कासि घटना घट्नुले सबैको ध्यान केन्द्रित हुनु स्वाभाविक थियो। घटनास्थल निकै टाढा भएकाले सदरमुकाम चैनपुरबाट गएको प्रहरी टोली साँझ मात्र पुग्यो।
प्रहरीका अनुसार गत वर्ष साउन १९ मा पुष्कर घरमा नभएका बेला गीता जबर्जस्ती करणीको शिकारसमेत भएकी थिइन्। पुष्करका दाई गणेश पार्कीका अनुसार त्यो बेला गीताले गाउँकै स्थानीय झलक नेपालीले राती मदिराको तालमा घरभित्र छिरेर आफूमाथि अपराध गरेको बताएकी थिइन्। त्यसपछि झलक नेपालीलाई स्थानीयले प्रहरीको जिम्मा लगाएका थिए। उनी अहिले पुर्पक्षका लागि बझाङ कारागारमा छन्।
यता यो घटनापछि एकाएक शंकालु बनेका पुस्करले उनलाई मदिरा सेवन गरी फोन गर्ने र शंका गर्ने गर्थे। मदिरा सेवन गरेर पुष्कर राति १२ बजे घर पुगेका थिए। बाटामा आउँदै गर्दा पुस्करले फोन गर्दा गिताको फोन व्यस्त देखिएको र उनले घर पुगेपछि गीताको चरित्रमाथि प्रश्न उठाए। पछि विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।
बुधबार घर पुगेपछि विवाद उत्पन्न भइसके आफू खाना खाएर सुतेको र बिहान घरमा छोराछोरी र श्रीमती नदेखेपछि खोज्दै जाँदा सबै मृत फेला पारेको पुष्करले प्रहरीलाई बयान दिएका छन्। राति श्रीमतीसँग झगडा भएपछि खाना खाएर सुतेको बताएका पुष्करले बिहान मात्रै श्रीमती र छोराछोरी घरबाट निस्केको थाहा पाएको दाबी गरेका छन्।
मृतक गीता केही वर्षअघि मात्रै विवाह गरेर बुंगल गएकी थिइन्। गीताको जन्म घर बित्थडचिर गाउँपालिका हो। माइती स्रोतका अनुसार गीताले पुष्कर पार्कीसँग प्रेम भएको बताएपछि दुवै परिवारको मन्जुरीमा विवाह भएको थियो।
विवाहपछि पुष्कर भारतको पिथौरागढतिर रोजगारीका लागि हिँडेका थिए। उनी त्यहाँ मजदुरी गरेर घरखर्च चलाउँदै आएका थिए। उनी केही महिना पिथौरागढमा काम गरेर बेलाबखतमा घर फर्किने गर्थे। उनी घरमा आएर खेतिपाती लगाएर फेरि उतै जान्थे।
शरीरमा कुनै निलडाम र घाउ नदेखिएको र मृतक तीनै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बझाङमा राखिएको प्रहरी जनाएको छ।