के हो फेन्सिङ ?

के हो फेन्सिङ ?

काठमाडौं : सेतो पोसाक लगाएर दुई व्यक्तिबीच प्रतिस्पर्धा हुने फेन्सिङ खेल १५औं शताब्दीबाट फौजी संगठनबाट सुरु भएको खेल हो। यसको सुरुवात कहाँबाट भयो भन्नेमा अहिले पनि विवाद छ। ऐतिहासिक प्रमाणका आधारमा १५औं शताब्दीको अन्त्यतिर जर्मनीको फ्याङकफटमा पहिलोपल्ट फेन्सिङ प्रतियोगिता आयोजना भएको पाइन्छ। 

फेन्सिङ इजिप्टबाट सुरु भएको भन्ने दाबी छ। तर, यहींबाट सुरु भयो भन्ने एकिन तथ्यांक भने पाइँदैन। स्पेन, इटाली, फ्रान्समध्ये एउटा देशबाट सुरु भएको हो भन्नेमा सबैको एकमत रहेको नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठ बताउँछन्। ‘फेन्सिङ त्यहींबाट सुरु भएको हो भन्ने एकिन तथ्यांक छैन। यस खेलमा फ्रेन्च शब्दको प्रयोग हुने भएकाले युरोपबाटै सुरु भएको हो भन्ने मान्न सकिन्छ’, महासचिव श्रेष्ठ भन्छन्, ‘फेन्सिङ सुरुमा युद्धमा तरबारवाजीका रुपमा सुरु भएको थियो। यसैलाई परिस्कृत गरी खेलकुदका रुपमा प्रयोग गरिएको हो।’ सन् १८९६ मा ग्रिसको एथेन्स शहरमा भएको मोर्डन ओलम्पिकमा समावेश गरिएका नौ खेलमध्ये फेन्सिङ पनि एक थियो। त्यही कारण फेन्सिङलाई ओलम्पिककै सबैभन्दा पुरानो खेलका रुपमा पनि लिने गरिन्छ। 

विधा

फेन्सिङका तीन विधा छन्, ईपी, फोयल र साबर। तीन वटै विधामा टिम र व्यक्तिगत प्रतिस्पर्धा हुन्छ। विधा अनुसार खेलाडीको पोसाक र सोड (तरबार) पनि फरक फरक हुन्छ। ईपीमा टाउकोदेखि खुट्टासम्म जहाँ छोए पनि अंक आउँछ। फोयलमा सेन्सर भएको इलेक्ट्रिक ज्याकेटभित्र पाँच सयदेखि सात सय ५० ग्रामको फोर्सले छोए मात्र अंक आउँछ। साबर सबैभन्दा फास्ट गेम हो। यसमा फोयलसँगै हात र टाउकामा छोए पनि अंक बटुल्न सकिन्छ। तीन मिनेटको समयमा जसले पहिले ५ अंक पु¥याउँछ, उसैले खेल जित्छ। तर, नकआउट चरणका लागि भने १५ अंक आवश्यक पर्छ। फेन्सिङमा जम्मा १२ स्वर्णका लागि प्रतिस्पर्धा हुन्छ। 
विश्वमा सुटिङपछि सबैभन्दा 
‘फास्टेस्ट’ खेल फेन्सिङलाई मानिन्छ। युरोपियन मार्सल आर्ट्सका रुपमा हेरिने फेन्सिङ मार्सल आर्ट्सका सबैभन्दा सुरक्षित खेल पनि हो। ‘टाउकोदेखि खुट्टासम्म सम्पूर्ण सुरक्षा उपकरण लगाएर खेलिने भएकाले फेन्सिङमा खेलाडी घाइते हुने जोखिम हुँदैन’, महासचिव श्रेष्ठ भन्छन्, ‘त्यही कारण यसलाई सुरक्षित खेल मानिन्छ।’

नेपालमा कसरी सुरु भयो फेन्सिङ ?   
नेपालमा सन् २००९ बाट औपचारिक रुपमा फेन्सिङ खेल सुरु भएको हो। दोहा एसियन गेम्समा एनओसी एम्बेसडरका सुजनलाल श्रेष्ठ सहभागी भएका थिए। त्यो बेला भारतीय फेन्सिङ संघका तत्कालीन महासचिव अरुण भिजेले नेपालमा फेन्सिङ खेल सुरु गर्न प्रस्ताव गरेको सुजनलाल सम्झन्छन् । ‘दोहा एसियन गेम्समा सहभागी हुँदा भारतका अरुण भिजेले नेपालमा पनि फेन्सिङ सुरु गर्न प्रस्ताव गरेका थिए। त्यसपछि पनि उनले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएपछि हामीले नेपालमा सुरु गरेका हौं’, महासचिव सुजनलाल भन्छन्। सुरुमा फेन्सिङ संघ जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको थियो। यही वर्ष अन्तर्राष्ट्रिय मान्यता पाएपछि अभिषेक कार्की वल्र्ड च्याम्पियनसिपमा सहभागी भएका थिए। यस्तै सन् २०१० मै पहिलो दक्षिण एसियाली फेन्सिङ च्याम्पियनसिपमा नेपालले टिम इभेन्टमा कांस्य पदक जित्न सफल भएको थियो। त्यसअघि फेन्सिङ बालुवाटारमा रहेको शिवपुरी स्कुलबाट सुरु भएको हो। त्यही स्कुलका विद्यार्थीलाई प्रशिक्षण दिइएको थियो। सन् २०१४ मा इन्चोन एसियाली खेलकुदमा नेपालका चार खेलाडी सहभागी भएका थिए। त्यसपछि फेन्सिङ राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको थियो। यस्तै सन् २०१८ को जाकार्ता एसियाली खेलकुदमा पनि फेन्सिङ सहभागी भएको थियो। जसमा नेपालका आठ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। फेन्सिङ २०७३ मा पूर्वाञ्चल विकास क्षेत्रमा आयोजना भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो पटक समावेश गरिएको थियो। त्यतिबेला पूर्वाधार अभावका कारण फेन्सिङका प्रतिस्पर्धा काठमाडौंमै भएको थियो। त्यसयता राखेप च्याम्पियनसिप, आठौं राष्ट्रिय खेलकुदलगायतका प्रतियोगितामा नियमित रुपमा समावेश हुँदै आएको छ। ‘हामी ओलम्पिक मान्यताप्राप्त कान्छो संघ हौं। स्थापनादेखि नै यस खेलको विकासका लागि सक्रिय रुपमा लागेका छौं। सपछिल्लो समय फेन्सिङले राम्रै नतिजा पनि दिइरहेको छ’, श्रेष्ठ भन्छन्। 

उपलब्धि
सन् २०१९ मा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा फेन्सिङले ऐतिहासिक सफलता हासिल गरेको थियो। १३औं सागमा फेन्सिङले चार रजत र ६ कांस्य पदक जितेको थियो। रविना थापाले महिला सेबरमा रजत पदक जितेकी थिइन्। यस्तै महिला टिम सेबर, महिला टिम फोयल र महिला टिम ईपीमा नेपालले रजत पदक जितेको थियो। यस्तै इन्दिरा पौडेल र जानुका स्याङतानले ईपी, रमा सिंहले फोयल र अस्मिता बस्नेतले सेबरमा कांस्य पदक जितेका थिए। नेपालले पुरुष टिम फोयल र पुरुष टिम सेबरमा पनि कांस्य पदक जितेको थियो। 
यस्तै थाइल्यान्डमा भएको सियो ओपन च्याम्पियनसिपमा एक रजत र एक कांस्य तथा दक्षिण एसियाली च्याम्पियनसिपमा एक कांस्य पदक जितेको थियो। सन् २०२४ को पेरिस ओलम्पिकका लागि फेन्सिङ खेलाडी पायस योञ्जन ओलम्पिक छात्रवृत्तिका लागि छनोट भएका छन्। उनी साबर विधाका खेलाडी हुन्। यसैगरी विश्व फेन्सिङ महासंघअन्तर्गतको विश्व च्याम्पियनसिपमा पनि नेपालले नियमित रुपमा सहभागिता जनाइरहेको छ।


खेलाडी विदेशिदा समस्या

सुजनलाल श्रेष्ठ, महासचिव, नेपाल फेन्सिङ संघ

नेपालको सन्दर्भमा फेन्सिङ नयाँ खेल हो। स्थापनाको छोटो समयमै १३औं सागमा हासिल गरेको उपलब्धि हेर्दा हामीले छोटो समयमै फड्को मार्न सफल भएका छौं। तर, दुःखको कुरा एउटा खेलाडी बनाउन ४–५ वर्ष लाग्छ। खेलाडी राम्रो भएपछि उनीहरू विदेश गइदिन्छन्। यसले गर्दा हामीले समस्या भोग्नु पर्छ। राम्रा खेलाडी हामीसँग हुँदैन। हामीसँग खेलाडी कम भएको अवस्थामा भएका खेलाडी नै विदेश गइदिँदा धेरै समस्या हुन्छ। पछिल्लो समय केही स्कुलमा फेन्सिङ खेल समावेश गर्दै छौं। त्यसपछि हामीलाई खेलाडीको कमी नहोला र अहिले भोग्दै आएको समस्या पनि भोग्नु नपर्ला।

पछिल्लो समय फेन्सिङमा राम्रो स्कोप छ। नयाँ खेल र खेलाडी पनि कम भएकाले नयाँ आउन चाहनेहरूलाई धेरै स्कोप छ। हालै मात्र नेपाल ओलम्पिक कमिटीले एक खेलाडीलाई छात्रवृत्ति पनि दिएको छ। यसले गर्दा अरु खेलाडीलाई पनि उर्जा र होसला बढ्ने देखिएको छ।

हामीसँग भौतिक पूर्वाधार नै छैन। केशव विष्ट सदस्यसचिव हुँदादेखि नै हामीले भौतिक पूर्वाधारका लागि पहल गर्दै आएका छौं। तर, अहिलेसम्म पाउन सकेका छैनौं। हामीलाई राष्ट्रिय खेलकुद परिषद्ले जग्गा मात्रै उपलब्ध गराइदिए हुन्छ, हल हामी नै बनाउँछौं। यसैगरी प्राविधिक जनशक्तिको पनि कमी छन्। प्रशिक्षक, निर्णायकको संख्या निकै कम छ। हालै मात्र तीन जना निर्णायकले अन्तर्राष्ट्रिय ‘सी’ लाइसेन्स पाएका छन्। प्रशिक्षकको संख्या भने निकै कम छ। अहिले भएकाहरूले पनि स्वयंमसेवकका रुपमा काम गरिरहेका छन्। 

अन्तर्राष्ट्रिय क्षेत्रमा फेन्सिङको स्कोप धेरै राम्रो छ। यसका लागि नियमित रुपमा प्रशिक्षण हुनुपर्छ। यससँगै दक्ष प्राविधिक पनि हुनुपर्छ। यसो भएमा हाम्रा खेलाडीले पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक जित्न सक्ने छन्। 

फेन्सिङ धेरै महंगो खेल होइन। तर, नेपाली बजारमा यसका केही पनि सामान पाइँदैन। सबै विदेशबाटै मगाउनु पर्छ। यसले गर्दा महंगोजस्तो लाग्नु स्वभाविकै हो। ड्रेस एक पटक किने पुग्छ। यो पटक पटक किन्नु पर्दैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.