पाइला र मनका मान्छे!
जाउँ कि नजाउँ ? दोमन भएथें
मन जड्नेबित्तिकै पाइला उचालिए
सिंगो शरीर लसकलसक हिँडें
अहिले प्रिये,
यहाँसम्मै आइपुगें
जहाँ मैले तिमीलाई भेटें!
लग्न थालिरहेछ–
कि आफूलाई आफैंले हिँडाउन
पाइलामा मन जड्न सक्नुपर्दो रै’छ
पाइलामा मन जड्नेबित्तिकै
यात्रा भरिँदो रैछ–
यहाँसम्मकै स्वःस्फूर्त मान्छे
पाइला र मन; मन र पाइला ।
एकसाथ गाँसिएको मान्छे!
साँच्चै, अब त विश्वस्त छु
कि सिंगो मान्छे बन्न
खुट्टा र पाइला मात्र पनि पर्याप्तिँदो रै’नछ
अझै विश्वस्त बनेछु, प्रिय–
कि मै मनले मात्र पनि अपुग हुँदो रै’छ
सिंगो मान्छे बोकेको मानिस बाँच्न!
धरोधर्म प्रिय–
अब त मलाई किन किन... ?
सिंगो मान्छे बोकेको
मानिस बाँच्ने रहर छ!
कि एक फेरा मरेर पनि
यहीँ पुनर्जन्म लिन मन लागिरैछ
भविष्य दर्शनका रहरले कुत्कुत्याइरहेछ!