रोदनको ‘अभिवन्द्य’ प्रयोगवादी निबन्धकारिता
नेपाल प्रज्ञाप्रतिष्ठानको नेपाली बृहत् शब्दकोष (संशोधित र परिवर्तित संस्करण–२०६९) ले अभिवन्द्यको अर्थ अभिवन्दना गर्न लायक, आदर तथा सम्मान गर्नुपर्ने भनेर परिभाषा गरेको छ। अर्थात् समाज वा राष्ट्रमा रहेका वन्दनीय पात्रका बारेमा गरिने स्तुति र प्रशंसा नै ‘अभिवन्द्य’ हो। नेपाली समाजमा रहेका विभिन्न क्षेत्रका केही विशिष्ट र उदाहरणीय व्यक्तित्वहरूद्वारा निर्वाह भएका अतुलनीय योगदानमाथि कदर र सम्मान प्रकट गर्नेक्रममा वरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले तयार पारेका ४१ वटा शब्दचित्रको संग्रह हो– प्रस्तुत कृति ‘अभिवन्द्य’।
४१ जना विशिष्ट सरस्वतीपुत्र – पुत्रीहरूको अक्षरवन्दना गरिएको प्रस्तुत कृतिलाई श्रीओम श्रेष्ठ ‘रोदन’ ले व्यक्ति निबन्धसंग्रह भनेर परिभाषित गरेका छन्। रोदनद्वारा वन्दना गरिएका व्यक्तित्वहरू सिद्धिचरण श्रेष्ठ, डायमनशमशेर राणा, राष्ट्रकवि माधव घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी, पूर्णप्रसाद ब्राह्मण, स्वामी प्रपन्नाचार्य (काले राई) बद्रीविक्रम थापा, कृष्णचन्द्रसिंह प्रधान, कमलमणि दीक्षित, बालकृष्ण पोखरेल, तेजेश्वरबाबु ग्वंग, उपेन्द्र श्रेष्ठ, नगन्द्रराज शर्मा, गोविन्द भट्टराई, कृष्णप्रसाद पराजुली, प्रचण्ड मल्ल, इन्दिरा श्रेष्ठ, राममणि रिसाल, रोचक घिमिरे, तुलसी दिवस, कुमारबहादुर जोशी, मनु ब्राजाकी, परशु प्रधान, डा.ध्रुवचन्द्र गौतम, मञ्जुल, शशि भण्डारी, क्याप्टेन जनकबहादुर राणा, मदनदास श्रेष्ठ, डा.बिहारीलाल श्रेष्ठ, प्रकाश कोविद, गोरखबहादुर सिंह, निर्माेही व्यास, अशेष मल्ल, रामचन्द्र गौतम, शम्भु राई, श्रीविक्रम राणा, गोपाल अश्क, डा.चिन्तामणि योगी, डा.हरिप्रसाद पोखरेल, डा.लक्ष्मणप्रसाद गौतम र रमेश श्रेष्ठ छन्।
लघुत्तम वाक्य गठनकारिता, काव्यिक शिल्पकारिता, शब्दबिम्बकारिता, निर्बन्धीय गति क्रीडाशीलता, सांस्कृतिक आवहनियता, वाक्भूषणीय सम्प्रेषणियता, जीवन्त आद्यरूपात्मकता र कलामनोहारिताजस्ता चमत्कारिक रसमाधुर्यका अलौकिक व्यञ्जनहरू पस्किएको छ, ‘अभिवन्द्य’ ले। ऋग्वेदले सुसंस्कृत जीवनशैली, नीतिसंगत आहारविहार र साधना संकल्पका बारेमा निर्देशित गरेको छ, हामी र हाम्रा सनातनीय मूल्य र परिधिलाई। रोदनले त्यही सुसंस्कृता, त्यही आदर्श सोपानता र त्यही शारदेय आराध्यताका प्राञ्जल भाषा प्रकट गरेका छन्, आफ्ना गुरुकुलीय धरोहरहरूप्रति।
व्यक्तिनिबन्ध भनिए पनि यसभित्र रोदनले छनोट गरेका ती सबै छविहरू संस्थामा रूपान्तरण भइसकेका छन्। उनले अप्राकृतिक–अस्वाभाविक चरित्रचित्रण नगरी वस्तुगत विशिष्टतागत तिनका उद्घाटन हुन बाँकी रहेका सत्कर्ममाथि निरीक्षण गर्ने प्रयास थालेका छन्। श्रीओमका प्रस्तुत ‘अभिवन्द्य’लाई निर्बन्ध निबन्धकारिताको अनुपम दृष्टान्तका रूपमा लिन सकिन्छ। उनले निर्माण गरेका निबन्धमार्ग समकालीनहरूभन्दा भिन्न, प्रयोगवादी ढंगबाट अगाडि बढेको छ। यसमा एकैनास अनुभूतिको राग मात्र प्रवाह भएको छैन। वक्तव्यताको झिँजो लाग्ने वाक्पटुता मात्र व्याख्यायित छैन। श्रीओमले प्रयोग गरेको शब्दकारिता काव्यालङ्कारका सूत्रतामा सम्प्रषित छ, प्रयुक्त बिम्बकारिता आख्यानिक धरातलमा उद्घाटित छ।
सिद्धिचरण श्रेष्ठ हुन् वा डायमन शमशेर, स्वामी प्रपन्नाचार्य हुन् वा बद्रीविक्रम थापा, सत्यमोहन जोशीदेखि रमेश श्रेष्ठसम्म ती सबैका योगदान र कृतित्वमाथि सूक्ष्म निरीक्षण थालिएको छ। यिनका अतिरिक्त अन्य वन्दनीय पात्रताहरूको पनि यथोचित प्रशंसा गरिनुलाई ‘अभिवन्द्य’ को सार्थकता र उपलब्धि पुष्टि भएको मान्न सकिन्छ।
वि.सं.२०३६ देखि कविताकारिताबाट साहित्यिक यात्रा प्रारम्भ गरेका रोदनले ‘ललिता’ कवितासंग्रह २०४५ र ‘सरगम’ कवितासंग्रह सार्वजनिकी गरिसकेपछि २०५४ मा ‘अर्थहीन अर्थहरू’ निबन्धसंग्रहबाट आफ्नो गद्यकारिताको विशिष्ट परिचय दिएका छन्। कविता र निबन्धसँगसँगै वि.सं. २०५८ मा ‘आँखीझ्याल’ लघुकथासंग्रह प्रकाशन गरेर आफ्नो आख्यानकार छवि स्थापित गरिसकेका छन्। उनले नेपाली साहित्यका समालोचक र विश्वविद्यालयका प्राध्यापकहरूबाट उपेक्षा गरिएको लघुकथा विधालाई आख्यान विधामा एक सुरक्षित स्थान प्रदान गर्न अभियन्ताकै भूमिका निर्वाह गरेका रोदनले देशव्यापीरूपमा यसका अन्य प्रक्रियाहरू प्रारम्भ गरेका छन्।
युवा वर्ष मोती पुरस्कार, शंकर लामिछाने युवा निबन्ध पुरस्कार, उत्तमशान्ति पुरस्कार, सुप्रबल जनसेवा श्री, प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार, गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कारलगायत दर्जनौं पुरस्कारहरूबाट सम्मानित रोदनले लघुकथा समाजको स्थापना गरेर लघुकथाको विकास र लघुकथाकारहरूलाई संगठित तुल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। एक सिद्धान्तनिष्ठ, कर्मशील, मिलनसार मृदुभाषी श्रीओम श्रेष्ठ ‘रोदन’ ले मधुपर्क मासिक र गोरखापत्र दैनिकमा आफ्नो सम्पादक व्यक्तित्वको कुशल भूमिका प्रदर्शन गरेर सम्पादक संगठकको विशिष्ट परिचय दिइसकेका छन्।
‘अभिवन्द्य’को माध्यमबाट ४१ प्रकृतिका स्रष्टा, संस्कृतिकर्मीहरूका व्यक्तित्व र कृतित्वका अनेक पाटाहरूमाथि सूक्ष्म विचरण गरेर नेपाली साहित्य, संस्कृति र समाजलाई प्राप्त हुने प्रतिफलबारे रोदनले पाठक अध्येताको ध्यानाकार्षण गरेका छन्। उनले इंगित गरेका यी राष्ट्रिय प्रतिभाहरूबारे जान्न बुझ्न सुरुचिपूर्ण भाषा प्रयोग गरिएको छ र तिनबाट भविष्यका सन्ततिहरूका लागि पनि ऊर्जा र प्रेरणा प्राप्त हुने कुरामा विश्वस्त हुन सकिन्छ।
‘जहीँ सम्झिन्छन् सिद्धिचरण’ लाई पढ्दा सिद्धिचरणको प्रेरक भूमिकाले नेपालका विशिष्ट व्यक्तित्वहरू गणेशमान सिंह, जनकविकेशरी धर्मराज थापा, वासु शशी, राष्ट्रकवि माधव घिमिरे, धर्मरत्न यमी र हरिकृष्ण श्रेष्ठजस्ता आदर्शपुरुषहरूले प्राप्त गरेका ऊर्जा र प्रेरणाबाट उनीहरूलाई सार्थक र उपलब्धिपूर्ण जीवनतर्फ डोर्याएको देखिन्छ। पूर्णप्रसाद ब्राह्मणको प्रसंग पनि कम रोचक छैन। लघुकथाका सूत्रधार ब्राह्मणले राणाकालीन परिवेशलाई उद्घाटन गरेका छन्। ‘एक्काइस कथा’, झिल्का’, ‘म लोग्न हुँ’ आदिका माध्यमबाट ब्राह्मणले भोग्नुपरेका कालखण्ड कम जोखिमयुक्त थिएन। सबै ती चित्रबिम्ब कथाले प्रकट गरेका छन्।
प्रपन्नाचार्यको कथा अझ चाखलाग्दो छ। उनको शिक्षाप्रतिको मोह, जीवनसंघर्ष गाथा, सामाजिक जागरणप्रति अटुट प्रयत्नता, काले राईबाट प्रपन्नाचार्यमा रूपान्तरितता यावत् रोमाञ्चकारी परिघटनाहरू, कुण्ठा र नैराश्यमा रहेकाहरूका लागि प्रेरणास्पद प्रसंग बनेको छ। बद्रीविक्रम थापा समाजसेवाका पर्याय नै थिए। उनलाई नेपाली समाजले बिर्सन नसकिने कुरा रोदनले पुष्टि गरेका छन्। तेजेश्वरबाबु ग्वंग, उपेन्द्र श्रेष्ठ, नगेन्द्रराज शर्मा, गोविन्द भट्टले नेपाली वाङ्मयको संवद्र्धन र उन्नयनमा निर्वाह गरेका भूमिकामाथि गम्भीर बहस हुनुपर्ने सन्दर्भ उठान गरेको छ रोदनले। यसैगरी कृष्णप्रसाद पराजुुलीले नेपाली भाषाको उत्थानमा पुर्याएको योगदान, नेपाली नाट्य क्षेत्रमा प्रचण्ड मल्लको भूमिका, इन्दिरा श्रेष्ठले समाजसेवा र सांगीतिक क्षेत्रमा गरेका समर्पण, राममणि रिसालद्वारा प्राध्यापन सेवा र निबन्धकारितामा राखेको उपस्थिति अत्यन्त सतर्कतापूर्वक विश्लेषण गरिएको छ यस कृतिमा।
नित्य नवीन लेखकहरू जन्माउने रोचक घिमिरेको साहित्यिक पत्रकारिता, विदेशमा नेपाल चिनाउने तुलसी दिवसको कविकारिता, महाकविविज्ञका रूपमा कुमारबहादुर जोशीको उदय र उत्कर्ष, स्वाभिमानी, निर्भीक स्रष्टा मनु ब्राजाकीको परिचयनको खोजी, ध्र्रुवचन्द्र गौतमका उद्भट आख्यानकारिता, मञ्जुलको क्रान्तिकारी कवि चरित्रताजस्ता अनेक विशिष्ट विषयवस्तुहरूमाथि रोदनले निकटबाट निरीक्षण एवं परख गरेका छन्।
राष्ट्रका अमूल्य यी निधिहरूमाथि सामान्य निरीक्षण मात्र होइन यो। उनले नेपाली साहित्य संस्कृतिका पाठक अध्येताहरूलार्र्र्र्ई– ती ओझेलमा परेका प्रसंग र घटना नखोलिएका इतिहास, समाजशास्त्र आदि जानकारी गराएर राज्यको समेत ध्यानाकर्षण गराउने सराह्रनीय कार्य गरेका छन्।
नाटककार अशेष मल्लको नाट्यकारिता र सर्वनाम योगदान, रमेश श्रेष्ठको काव्यकारिता र चित्रकारिता, लक्ष्मणप्रसाद गौतमको सर्जक–समालोचक भूमिका, त्यागका प्रतिमूर्ति डा.हरिप्रसाद पोखरेलको दृष्टान्तता, कर्मयोगी चिन्तामणिको दार्शनिक व्यक्तित्व विशिष्टता, गोपाल अश्कको साहित्य संस्कृतिमोह, श्रीविक्रम राणाको कला पत्रकारितामाथि दीर्घ समर्पण र उनको अस्तव्यस्त जीवनशैली, उत्कृष्ट सर्जक भएर पनि ओझेलमा पारिएका गोरखबहादुर सिंहको प्रभावकारिता, चिकित्सा क्षेत्रमा डा.बिहारीलाल श्रेष्ठको उत्कृष्ठ उपचार पद्धति, कलाकारितामा मदनदास श्रेष्ठको विशिष्ट छवि, क्याप्टेन जनकबहादुर राणाको संस्मरणकारिताजस्ता गम्भीर व्यक्तित्व र तिनका रोचक विषयमाथि प्रकाश पारेर पाठकलाई लाभान्वित तुल्याइएको छ।
भैरव अर्याल, शंकर लामिछाने, बालकृष्ण पोखरेल, कृष्णचन्द्रसिंह प्रधान, मनुजबाबु मिश्र, डा.तारानाथ शर्मा, कमल दीक्षित, तेजेश्वरबाबु ग्वंग, डा.माधव पोखरेल, किशोर नेपालजस्ता विशिष्ट निबन्धकारहरूपश्चात समकालीन पुस्ताका नरेन्द्रराज पौडेल, विमल निभा, डा.सुधा त्रिपाठी, माधव काफ्ले, युवराज नयाँघरे, डा.दामोदर पुडासैनी ‘किशोर’, डा.हरिप्रसाद सिलवाल, गोपी मैनाली, दिल पौडेल आदिका बीच एक भिन्न र विशिष्ट शैलीको छवि निर्माण गरेर श्रीओम श्रेष्ठ ‘रोदन’ ले आधुनिक नेपाली निबन्धलाई समृद्ध तुल्याउन गरेको प्रयत्न सुखद र सराहनीय छ।
पछिल्लो समयमा सार्वजनिकी तुल्याइएको यो ‘अभिवन्द्य’ ले नेपाली वाङ्मयको विकास र विस्तारमा लागिपरेका विशिष्ट व्यक्तित्व र तिनका कृतित्वमाथि प्रकाश पार्र्ने दृष्टान्तीय कार्य गरेको छ, जसले भावी पुस्तालाई नखोतलिएको इतिहास बताउन मद्दत गरेको छ।