चुनावमा एमालेले कसैको काँध थाप्दैन : सूर्य थापा
बुटवल : नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्युठान इन्चार्ज सूर्य थापाले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा कसैको पनि काँध थापेर पार्टी निर्वाचनमा नजाने बताएका छन्। नेकपा एमाले प्युठान-रुपन्देही सम्पर्क कमिटीको कार्यक्रममा उनले एमालेले एक्लै चुनाव लडेर बहुमत ल्याउने ठोकुवा गरे।
पाँच दलीय गठबन्धन होइन, दश दलीय गठबन्धन भए पनि एमालेलाई कुनै फरक नपर्ने थापाको भनाइ छ। गठबन्धनसँग एक्लै चुनाव लडेको एमालेले स्थानीय तहको निर्वाचनमा ल्याएको मतले अबको निर्वाचनमा स्पष्ट बहुमत लिएर देशकै ठूलो पार्टी हुनेसमेत ठोकुवा गरे।
‘०७४ सालको निर्वाचनमा एमालेले प्युठानमा काँध थापेर जितेका जनप्रतिनिधिले जनतासामु बेइमानी गरे। मतदाताको अपमान गरे। विकासमा धोका दिए,’ थापाले भने, ‘अब उनीहरुलाई काँधमा थाप्ने काम पार्टीले भुलेर पनि गर्दैन।’
एमालेको प्युठान इन्चार्ज थापाले आउँदो भदौ २५ गतेसम्म पार्टीले देशभरि पार्टीका उम्मेदवारको टुंगो लगाउनेसमेत जानकारी गराए। ‘प्युठानमा कसले टिकट पाउँछ भन्ने कुरा महत्वपूर्ण होइन,’ उनले भने, ‘जसले पाए पनि फरक पर्दैन्, दलीय संगठनमा व्यक्ति होइन पार्टी ठूलो कुरा हो। पार्टीले जित्ने उम्मेदवारको छनौट गरेर चुनावमा उठाउँछ, एमालेले प्युठानमा चुनाव जित्छ।’
थापाले विभिन्न काम, पेसा र व्यवसायले गर्दा प्युठान छाडेर रुपन्देही क्षेत्रमा आएका जिल्लाबासीलाई आफ्नो मातृभूमीप्रतिको मायालाई नबिर्सन सहभागी जिल्लाबासीहरुलाई सुझाए। उनले क्षमता भएर पनि ओझेलमा परेका जुनसुकै क्षेत्रका प्युठानीहरुलाई राष्ट्रिय चर्चामा ल्याउनका लागि र अवसर दिनका लागि आफ्नो पार्टी जहिल्यै पनि साथमा रहेको उल्लेख गरे।