भीरबाट खसेर दुई जनाको मृत्यु
स्याङ्जा : स्याङ्जामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको वालिङ-९ भुषालथोकका पूर्णबहादुर न्यौपाने र आँधीखोला गाउँपालिका-२ का देवनारायण सार्कीको भीरबाट खसेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। दुवैको शव शनिबार साँझ भेटिएको हो।
वालिङ-१२ मा बस्दै आएका ६५ वर्षीय न्यौपाने आफ्ना छोराको घरमा जान्छु भनी हिँडेका थिए। उनी तीन दिनदेखि सम्पर्क विहीन भएपछि खोजी गर्दा लामपातेस्थित गोरेटो बाटोबाट करिब ५० मिटर तल मृत अवस्थामा भेटिएको उनले जानकारी दिए।
यसैगरी आँधीखोला गाउँपालिका-२ रंगेठाटीमा घाँस काट्ने क्रममा खसेर ६१ वर्षीय सार्कीको पनि भीरबाटै खसेर मृत्यु भएको प्रहरीको भनाइ छ। घरदेखि करिब दुई किलोमिटर पर रहेको पाखोबारीमा घाँस काट्दै गर्दा करिब ८० मिटर तल खसेपछि उनको मत्यु भएको प्रहरीको भनाइ छ।