मिसन मंसिर ४, को कता ?
काठमाडौं : कुनै चमत्कार भएन भने मंसिर ४ मा निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुई ‘शक्ति’ आमनेसामने हुनेछन्। एउटा सत्ता गठबन्धन (जसको नेतृत्व कांग्रेसले गर्दैछ)। अर्को विपक्षी एमाले (जसले खास–खास क्षेत्रमा सहकार्यको प्रयत्न) गरिरहेको छ। सत्ता गठबन्धनले कुन पार्टीले कति सिट पाउने र कुन क्षेत्रमा कुन पार्टीले चुनाव लड्ने भन्नेमा कार्यदल नै बनाएर गृहकार्य गरिरहेको छ। अर्कातिर एमाले खास–खास क्षेत्रमा चुनावी सहकार्यको प्रस्तावसहित आफ्नो टिम पनि ‘बलियो’ बनाउँदैछ। त्यसका लागि केही साना पार्टी र समूहसँग वार्ता अगाडि बढाइरहेको छ।
एमालेले राप्रपा र हृदयेश त्रिपाठी नेतृत्वको पार्टीसँग छलफल तीव्र पारेको नेताहरू बताउँछन्। राप्रपासँग झापा र त्रिपाठीसँग नवलपरासीलगायत क्षेत्रमा चुनावी सहकार्यको प्रस्ताव एमालेले गरेको छ। मधेसका केही ‘कमजोर’ देखिएका क्षेत्रमा अरू पार्टीका नेताहरू नै प्रवेश गराएर चुनावी मैदानमा उत्रने रणनीतिमा एमाले देखिएको छ। ‘खास–खास क्षेत्रमा खास–खास पार्टी वा समूहसँग सहकार्य गर्छौं’, एमालेका एक पोलिटब्युरो सदस्य भन्छन्, ‘अरू क्षेत्रमा एमाले एक्लै चुनावमा जान तयार छ।’
साना दल/समूह पनि दुई ठूला ध्रुवको ओत खोजिरहेका छन्। गठबन्धनभित्रै पनि आफ्नो शक्ति ठूलो पारेर ठूलो भाग लिने दाउपेच चल्दै छ। यसकै लागि माओवादी अध्यक्ष पुष्पकमल दाहालले डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई आफूतिर तानेका छन्। दुवै नेतालाई माओवादीको चिन्हमा चुनाव लड्न सहमत गराएका छन्। यीबाहेकमहन्थ ठाकुर नेतृत्वको लोसपा, सीके राउत नेतृत्वको पार्टी पनि दुवै ध्रुवतिर ‘बार्गेनिङ’ मा छन्। लोसपा सत्ता गठबन्धनतिरै सहकार्यको पक्षमा रहेको कांग्रेस नेता बताउँछन्। नेत्रविक्रम चन्द नेतृत्वको पार्टी संसदीय निर्वाचनमा भाग लिने कि नलिने भन्ने दोधारमा देखिन्छ। विवेकशील साझामा विवाद छ। स्थानीय चुनावमा स्वतन्त्रहरूको विजयबाट हौसिएकाहरू धमाधम स्वतन्त्रबाट उम्मेदवारी घोषणा गर्दैैछन्।
गठबन्धनका कारण सहजै चुनाव जितिने निष्कर्षमा नेताहरू छन्। माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनका सहयात्री हुन्। यी दलबीच स्थानीय निर्वाचनमा पनि गठबन्धन भएको थियो। त्यति बेलाको परिणामबाट सत्ता गबठन्धन हौसिएको छ। त्यसकारण उनीहरूले कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा कार्यदल बनाएर भागबन्डाको गृहकार्य सुरु गरेका छन्। तर, माओवादी अध्यक्ष दाहालले कुनै पनि बेला अप्रत्याशित निर्णय लिन सक्ने भन्दै गठबन्धनका नेता आशंका व्यक्त गर्छन्।
- कांग्रेस ध्रुवमा ५ दल,
- खास–खास क्षेत्रमा सहकार्यको पक्षमा एमाले
गठबन्धनमा जोडिन लोसपाका नेता प्रधानमन्त्रीसँग निरन्तर छलफलमा छन्। लोसपाकै जोडबलमा सरकारले नागरिकता विधेयक फटाफट संसद्बाट पारित गरेको थियो। उसले टीकापुर घटनामा मुछिएका रेशम चौधरीको रिहाइको माग सरकारसँग राखेको छ। उक्त मागप्रति प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएका छन्। तर, लोसपालाई गठबन्धनमा ल्याउन जसपा अध्यक्ष उपेन्द्र यादव ‘उदार’ नदेखिएको बालुवाटार स्रोतले बतायो।
राजनीतिलाई कायापलट गर्ने भन्दै वैकल्पिक ‘शक्ति’ जन्मिए। सशस्त्र युद्धबाट उदाएको माओवादी देशकै ठूलो दलसमेत भयो। तर, पछिल्लो समय घुमीफिरी राजनीतिका केन्द्रमा आइपुगेका छन् मुख्य दुई दल– एमाले र कांग्रेस। चुनाव जित्न तिनकै वरिपरि गोलबद्ध हुन चाहन्छन् बाँकी अधिकांश दल। त्यसैले चुनावी राजनीति दुई ध्रुवमा विभक्त भएको छ। गठबन्धनका कारण स्वतः कांग्रेस नेतृत्वमा बढी दल जुटेका छन्। एमालेसमेत पाए/मिलेसम्म अन्य दलसँग खास ठाउँमा सहकार्यको पहलमा छ। संविधानपछिको दोस्रो संघीय÷प्रदेश चुनावको रोचक प्रतिस्पर्धा, हेरौं कहाँ पुगेर के हुने हो !
एमाले महासचिव शंकर पोखरेलले राजनीति दुई दलमा ध्रुवीकृत हुनुपर्ने धारणा राख्दै आएका छन्। एक ध्रुवको नेतृत्व एमाले र अर्कोको नेतृत्व कांग्रेसले गर्नुुपर्ने उनको भनाइ छ। राजनीतिक विश्लेषक खगेन्द्र प्रसार्इं निर्वाचनमा फाइदा लिन दलहरूबीच धु्रवीकरण नभई समीकरण मात्रै भइरहेको बताउँछन्। ‘संसद्को गणितमा लाभ लिन समीकरण बनेका हुन्,’ प्रसार्इं भन्छन्, ‘धु्रवीकरण हुन त दुईवटा सैद्धान्तिक शक्ति हुनुप¥यो। यसमा कुनै सैद्धान्तिक आधार नै छैन। यो धु्रवीकरण होइन।’ सत्ताका लागि बनेका समीकरण स्थायी नहुने प्रसार्इं बताउँछन्। ‘सैद्धान्तिक समीकरण नभएकाले जति खेर पनि भत्किन सक्छन्,’ उनी भन्छन्।
डा. भट्टराई थपिँदा हौसिए दाहाल
‘वामपन्थी र कम्युनिस्ट आन्दोलनमा बाबुराम र प्रचण्डसँगै उभिने कुराको धेरै ठूलो अर्थ र महत्व छ,’ दाहालले मंगलबार अर्को घोषणा गरे, ‘हामी उभियौं। अब कसैले रोकेर रोक्न सक्दैन। चुनावपछि एउटै केन्द्र बनाउने सहमति भएको छ।’ प्रचण्डजत्ति नै डा. भट्टराई पनि हौसिएका छन्। जसपाबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन गरेका भट्टराईलाई माओवादीको मात्रै होइन, सत्ता गठबन्धनकै साथ हुनेछ।
नेकपा विभाजनपछि नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका वामदेव गौतम पनि माओवादी केन्द्रकै चुनाव चिन्हबाट चुनाव लड्न सहमत भएका छन्। डा. भट्टराई र गौतम थपिएपछि आफ्नो शक्ति अझ ठूलो रहेको भन्दै गठबन्धनमा बार्गेनिङ गर्न प्रचण्डलाई सहयोग पुगेको नेताहरू बताउँछन्। बैकल्पिक शक्ति स्थापना गर्ने भन्दै माओवादी छोडेका डा. भट्टराई पुनः माओवादीकै चुनाव चिन्हबाट लड्ने भएका छन्।
सत्तागठबन्धनमा दलहरू थपिँदै जाँदा कांग्रेसका नेताहरू खुसी हुनुपर्नेमा अधिकांश चिन्तित देखिन्छन्। जति नेता वा पार्टी थपिँदै जान्छन्, कांग्रेसको भाग घट्दै जाने हो कि भन्ने चिन्ता उनीहरूमा छ।
गौतम २०७४ सालमा बर्दिया–१ मा पराजित भएका थिए। तत्कालीन नेकपाले झन्डै दुईतिहाइ सिट जित्दा पनि गौतम ‘सुरक्षित’ मानिएको क्षेत्रमै पराजित भए। त्यसपछि उनी चुप लागेनन्। उपनिर्वाचन गरेर प्रतिनिधिसभामा आउन प्रयास गरिरहे। पछि राष्ट्रियसभामा जाने चाहना राखे। राष्ट्रियसभामा पठाउने कि नपठाउने भन्नेमा तत्कालीन नेकपामा तीव्र विवाद भयो। राष्ट्रपतिबाट मनोनीत कोटामा गौतमलाई राष्ट्रियसभामा त पठाइयो। तर, नेकपा विभाजन भयो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ मा प्रतिनिधिसभा विघटन गर्दा गौतम कतै लागेनन्। २०७७ फागुन २३ मा नेकपा विघटन भएपछि पार्टीमा सक्रिय भएनन्। २०७८ भदौ २ मा एमाले पनि विभाजन भयो। माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी बन्यो। गौतमका विश्वासपात्रहरू एकीकृत समाजवादीमा लागे। तर, उनी निष्कृय रहे। पार्टीको राष्ट्रिय एकता अभियान त चलाए। छुट्टै पार्टीको अभ्यास गरे। हालै निर्वाचन आयोगमा पार्टी दर्ता गराए। यो पार्टीको अवस्था खासै बलियो नदेखेपछि उनी माओवादीसँग मिलेर चुनाव लड्ने निष्कर्षमा पुगेका हुन्। ‘चुनाव जित्नका लागि माओवादीको चुनाव चिन्ह लिने कुरा भएको हो,’ गौतम भन्छन्। उनी प्युठान वा बर्दिया–१ मध्ये एक ठाउँबाट चुनाव लड्ने नेताहरू बताउँछन्।
ओली–लिङ्देन सहकार्यमा छलफल
एमाले र राप्रपाबीच चुनावी तालमेलको गृहकार्य सुरु भएको छ। स्थानीय निर्वाचनमा टाढिए पनि चुनावमा सहकार्य गर्नेबारे एमाले र राप्रपाबीच कुराकानी भएको हो। एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच गत शनिबार (साउन २८ गते) ओली निवासमा चुनावी तालमेलबारे कुराकानी भएको थियो।
ओली र लिङ्देन दुवै जना झापाका हुन्। ०७४ को निर्वाचनमा दुवैले एकार्कालाई सघाएका थिए। लिङ्देन ३ र ओली ५ मा चुनाव लडेका थिए। दुवै विजयी भए। स्थानीय निर्वाचनमा भने ओलीले राप्रपाबाट छुट्टिएर बनेको कमल थापा नेतृत्वको राप्रपा नेपालसँग तालमेल गरे। तर, त्यसबाट परिणाम सोचे अनुरूप आएन। संघ र प्रदेशमा भने लिङ्देन नेतृत्वको राप्रपासँग तालमेल गर्ने विषयमा कुराकानी भइसकेको राप्रपाका एक नेताले बताए।
एमालेको पर्खाइमा त्रिपाठी
तमलोपाबाट अलग भएपछि त्रिपाठीले ०७४ को निर्वाचनमा स्वतन्त्र राजनीतिक विचार समूह गठन गरे। एमालेसँग तालमेल गर्दै त्रिपाठीसहित उनको समूहका ५ जनाले एमालेको सूर्य चिन्हमा चुनाव लडे। त्रिपाठी र बृजेशकुमार गुप्ताले चुनाव पनि जिते। त्रिपाठी ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन र स्वास्थ्यमन्त्री बने। तत्कालीन नेकपामा विवाद बढेपछि उनले ०७८ मंसिर २८ मा आफ्नै नेतृत्वमा जनता प्रगतिशील पार्टी गठन गरे। यसपटक भने पार्टीको अस्तित्व जोगाउन आफूले सूर्य चिन्ह लिएर चुनावमा नजाने त्रिपाठी बताउँछन्।
‘सहकार्य भयो भने एमालेसँगै हुने हो,’ त्रिपाठी अन्नपूर्ण पोस्ट्सँग भन्छन्– ‘एउटा पार्टीको अध्यक्षले अर्को पार्टीको चुनाव चिन्ह लिएर लड्ने कुरा आउँदैन। गठबन्धनका लागि एमाले तयार हुनुपर्छ। त्यस्तो नभए हाम्रो पार्टी आफ्नै ढंगले चुनावमा जान्छ।’ ०७४ को निर्वाचनमा सूर्य चिन्हबाट जितेका गुप्ता भने एमाले प्रवेश गरिसकेका छन्।
तेस्रो ध्रुवीकरणको प्रयास असफल
माओवादी अध्यक्ष दाहालले एमालेबाहेक कम्युनिस्ट र समाजवादी शक्तिलाई समेटेर तेस्रो राजनीतिक शक्ति बनाउने प्रयास गरे। उनले त्यसलाई समाजवादी केन्द्रको नाम दिए। एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, वामदेव गौतम, विप्लवलगायतलाई समेटेर समाजवादी केन्द्र बनाउने पहल गरे।
तर, त्यसो गर्दा दाहाल एकल रूपमा ‘हावी’ हुने भन्दै अरू नेताहरूले स्वीकार गरेनन्। केन्द्र नबन्ने भएपछि दाहालले गठबन्धनभित्र उपगठबन्धनको अर्को ‘कार्ड’ फ्याँके। तर, त्यसले पनि ठोस रूप लिएन। गौतम र डा. भट्टराईलाई भने सहमतिमा ल्याए।
बैकल्पिक फापेन, नेतृत्वबाटै धोका
डम्बर खतिवडा, केशव दाहाल, डिल्लीराम सिग्देल र मोहन तिमल्सिनाले २०६६ सालमा वैकल्पिक विचार मञ्च स्थापना गरे। उनीहरूले बैकल्पिक शक्तिका ७ सिद्धान्त भनेर पुस्तिका नै निकाले। यसपछि उज्जल थापाले विवेवशील नयाँ पार्टी खोले। ठूलो तामझामसहित बैकिल्पक शक्ति बनाउने भन्दै डा. भट्टराईले नयाँ शक्ति पार्टी घोषणा गरे। रवीन्द्र मिश्रले साझा पार्टी खोले। पछि साझा र विवेकशील नेपाली दलबीच एकीकरण भयो। तर, यी सबै प्रयास ‘असफल’ भए। वैकल्पिक भनिएका शक्तिकै अस्वित्व संकटतिर छ।
लामो समय बैकिल्पक राजनीतिमा लागेका खतिवडा नेतृत्वकै धोकाका कारण बैकल्पिक शक्ति कमजोर भएको बताउँछन्। उनका अनुसार नेतृत्वले वैकल्पिक शक्तिप्रति नै धोका दिए। बैकल्पिक शक्ति नेतृत्व कर्ता मिश्र राजावादी भए। डा. भट्टराई पनि थाकेर माओवादीतिर। नयाँ शक्तिलाई उपेन्द्र यादवको संघीय जनअधिकार फोरममा समावेश गराएर संघीय समाजवादी पार्टी बनाए। अनि संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको एकीकरण पनि गराए। जनता समाजवादी पार्टी(जसपा) बनाए। जसपा फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी भयो। त्यसपछि जसपामा डा. भट्टराई टिक्न सकेनन्। नेपाल समाजवादी पार्टी बनाए। तर, वर्षदिनै निर्वाचनमा जाने हिम्मत गरेनन्। ‘राजावादी र कम्युनिस्ट दुवै परम्परावादी लाइन हो, न राजावादी न कम्युनिस्ट वैकल्पिक शक्ति हुन्, खतिवडा भन्छन्।
स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका, धरान उपमहानगरपालिका र धनगढी उपमहानगरपालिकामा स्वतन्त्रले चुनाव जिते। रवि छामिछानेले ‘स्वतन्त्र’ पार्टी नै गठन गरेर चुनाव केन्द्रित गतिविधि गरिरहेका छन्। काठमाडौंलगायत विभिन्न क्षेत्रमा ‘स्वतन्त्र’ हरू धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन्।
मधेस केन्द्रित दल गठबन्धनकै पक्षमा
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा समाजवादी फोरम र राजपाले ३३ सिट जिते। तत्कालीन संघीय समाजवादी फोरम १० र राष्ट्रिय जनता पार्टीले प्रत्यक्षमा ११ सिट जितेका थिए। समानुपातिकमा फोरम र राजपाले ६/६ सिट पाए। मधेस प्रदेशमा यी दुई दलले बहुमत ल्याएर सरकार बनाए। पछि यी दुई दल एकीकरण भएर जनता समाजवादी पार्टी बन्यो। तर, एकीकरणको एक वर्ष पनि नपुग्दै विभाजित भयो। अहिले यादव नेतृत्वको जसपार ठाकुर नेतृत्वको लोसपा दुई पार्टी छन्। उनीहरूबीच तिक्तता छ।
डा. सिके राउतले नेतृत्व गरेको नेपाल जनमत पार्टी पनि मधेसमा क्रियाशील छ। स्थानीय निर्वाचनमा ‘सोचे जस्तो’ परिणाम भने यो पार्टीले पनि ल्याउन सकेन। ओली सरकारको पालामा पृथकतावादी आन्दोलन छोडर राउत मूलधारमा आएका थिए। राउतले आगामी चुनावमा तालमेलका लागि ठाकुर र यादव नेतृत्वको दुवै पार्टीमा प्रस्ताव गरेका छन्।
एक्लो बृहस्पति नेमकिपा
नेपाल मजदुर किसान पार्टी भने दुवै ‘ध्रुव’ मा समावेश छैन। उ एक्लो बृहस्पति छ। उसको भक्तपुर जिल्लामा प्रभाव छ। स्थानीय निर्वाचनमा भक्तपुर नगरपालिकामा चुनाव जितेको थियो। ठूला भनिएका दलका उम्मेदवारको जमानतसमेत जफत भएको थियो।
भक्तपुर १ मा नेमकिपाको एकल बहुमत छ। २ नम्बर क्षेत्रमा पनि ‘मुख्य प्रतिस्पर्धी’ मानिन्छ। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर १ बाट नेमकिपाका प्रेम सुवाल निर्वाचित भएका थिए प्रदेशसभा १(क) पनि नेमकिपाले नै जितेको थियो।
धेरै थपिँदा कांग्रेसमा चिन्ता
सत्तागठबन्धनमा दलहरू थपिँदै जाँदा कांग्रेसका नेताहरू खुसी हुनुपर्नेमा अधिकांश चिन्तित देखिन्छन्। जति नेता वा पार्टी थपिँदै जान्छन्, कांग्रेसको भाग घट्दै जाने हो कि भन्ने चिन्ता उनीहरूमा छ। यसबाट डा. शेखर कोइराला पक्ष अझ बढी सशंकित छ। त्यही कारण कोइराला पक्षले छुट्टै भेला गरी ४० प्रतिशत सिट आफ्नो पक्षलाई दिन देउवा पक्षमाथि दबाब बढाएको छ।
त्यसैकारण कोइराला पक्षधर नेताहरू गठबन्धनको विपक्षमा छन्। तर, कांग्रेसले नगरे अरू पार्टी गठबन्धन गर्ने र त्यसो हुँदा कांग्रेसको पक्षमा चुनाव परिणाम नआउने बुझाईमा संस्थापन देउवा पक्ष छ। पार्टी प्रवक्ता डा. प्रकाशशरण महत भन्छन्, ‘कांग्रेस ठूलो पार्टी त हो। तर, अरू सबै मिल्दा एक्लै जित्ने अवस्थामा छैनौं। त्यसैकारण गठबन्धन बनाउनु परेको हो।’