यहाँ छि हमर जनकपुर !
जनकपुरधाम : जनकपुरको गंगासागर मिरमिरे साँझसँगै झिलिमिली हुन थाल्छ। सफा र शान्त पोखरीका चारैतिर बनेका सुन्दर घाटमा चहलपहल बढ्छ। केही बेरमै देशी र विदेशी पर्यटकले भरिभराउ हुन्छ गंगा सागर।
प्रत्येक साँझ करिब ७ बजेदेखि एक घण्टा गंगा आरती चल्छ। यही आरतीले पर्यटकलाई आकर्षण गर्न थालेको छ। पहिला जनकपुर आएर जानकी मन्दिर दर्शन गरी एक दिनमै फर्किन्थे। अहिले आरतीमा सहभागी हुनकै लागी बास बस्न थालेका छन्। तीनवटा मण्डपमा भव्य दीप प्रज्वलन गरी तीन पण्डितले संगीतको धुनमा एकसाथ आरती वाचन गर्छन्। आरती सुरु गर्नुअघि दर्शनार्थीमध्ये इच्छुक व्यक्तिबाट पूजा संकल्प विधि गराइन्छ। यस विधिमा सहभागी हुन दर्शनार्थीहरू पालो कुरेर बस्छन्। पूजा संकल्प गरेसँगै आरतीको विधि सुरु हुन्छ। त्यस क्रममा मैथिली भाषामा गाइने गीतले यसलाई अझ बढी मनोरम र रोचक बनाउँछ।
मात हृदय सँ गाबि माहे गंगा तोहर आरती जय हो गंगा माँ, जय हो गंगा माँ !
यो ठाउँमा नौ वर्षअघिसम्म नगरभरिको फोहोर फालिन्थ्यो। त्यसरी फोहोरको डंगुर बनेको ऐतिहासिक गंगासागर पोखरी स्थानीयवासीकै अगुवाईमा सफा र स्वच्छ बनाइएको हो। २०७० फागुन ११ मा सरसफाइ अभियानीहरूको अगुवाईमा जनकपुरवासीको निःस्वार्थ रूपमा गंगासागर सरसफाइ अभियान सुरु गरे। लगातार तीन महिना चलेको सफाइ अभियानको क्रममा पोखरीबाट टनका टन फोहोर निकालियो। अभियानमा स्थानीय सञ्चारकर्मी, प्रहरी, सेना, अधिकारकर्मीहरू र सर्वसाधारणको व्यापक सहभागिता हुने गथ्र्याे। पोखरी सफाइपछि यसलाई पर्यटकीय थलो बनाउन ‘गंगा आरती जल संरक्षण अभियान’ को थालनी भयो।
‘यस पोखरीलाई सधैंभरि स्वच्छ र पावन बनाइ राख्न हामीले गंगा आरतीको अवधारणा ल्याएका थियौं’, मधेसका प्रदेश सांसद एवं गंगासागर सरसफाइ अभियानका अभियन्ता रामआशिष यादवले भने ।
यो पोखरी कुन प्रयोजनका लागि निर्माण गरियो भन्नेमा एकमत छैन। अधिकांश जानकार यो त्रेताकालीन पोखरी रहेकोे बताउँछन्। कतिपय भन्छन्– रामजानकी विवाहकै बेला जानकीको आग्रहमा रामले वाणले गंगालाई जनकपुरमा बोलाएका थिए। मैथिल वैवाहिक विधिअनुसार रामसीताको मटकोर गंगासागरमै भएको मान्यता छ। अहिले पनि विवाहपञ्चमी महोत्सवमा मटकोर यसै पोखरीमा हुन्छ।
गंगा आरती सुरु गर्न भारतको बनारसबाट पुजारीहरू जनकपुर ल्याइएको थियो। उनीहरूले यहाँका पुजारीलाई आरतीको विधि सिकाए। ९ वर्ष पूर्व २५ जेठ दशमी तिथिको अवसर पारि सेभ द हिस्टोरिकल जनकपुरको अगुवाइमा गंगा आरती सुरु भएको हो। आरतीलाई भक्तिमय र मनोरम बनाउन मैथिली गायक सुनिल मल्लीकको स्वरमा साहित्यकार डा. राजेन्द्र विमलद्वारा लिखित सुन्दर भजन गीतहरू बनाइयो। प्रत्येक साँझ आरतीस्थलमा बज्ने यी गीतहरू जनकपुरको पहिचान बन्दै गएका छन्।
नमन करि ओई माइटके हम,
जे गर्भमे रखलैन सीताके
जनक जत छैथ हर चलोने धर्ती परम पुनिताके !
ओई धर्ती सँ सटल जेना हम चुट्टी आर मधुर
यहाँ छि हमर जनकपुर,
यी सीता के जनकपुर !
यी जनकके गाँम जनकपुर, यी हमर अहाँके जनकपुर !!