संविधान रक्षाकै लागि पाँच दलीय गठबन्धन : मन्त्री चौधरी
तानसेन : सहरी विकास मन्त्री मेटमणी चौधरीले संविधानको रक्षा गर्न पाँच दलीय गठबन्धन बनेको बताएका छन्।
नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा बुधबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री चौधरीले संविधान रक्षाकै लागि पाँच दलीय गठबन्धन बनेको दावी गरे। उनले सबैखाले निर्वाचनमा गठबन्धनलाई अझै सशसक्त बनाउने बताए।
उनले भने, ' केपी शर्मा ओली पक्षले चुनाव जितेमा मुलुकको संविधान, संसदीय प्रणाली सिध्याउने चिन्ताकै कारण संविधान रक्षाका लागि गठन भएको ५ दलीय गठबन्धन सबैखाले निर्वाचनमा अझैं सशक्त भएर अघि बढिरहेको छ।'
नेताहरुमा गलत संस्कार, गलत प्रवृत्ति, सक्षम नेतृत्वको अभावका कारण व्यवस्था परिवर्तन भएपनि शासन व्यवस्थामा सुधार नआएको मन्त्री चौधरीले बताए । संविधान र संसदीय व्यवस्था रक्षाका लागि एकै ठाउँमा उभिएको ५ दलीय गठबन्धन अझै विस्तारको चरणमा रहेको उनको भनाइ छ।
गठबन्धनमा रहेका ठूला पार्टी, साना पार्टी एक्लाएक्लै मैदानमा उत्रिदा सबैको अस्तित्वमा खुम्चिने भएकाले आफ्नो अस्तित्व जोगाउन गठबन्धन अनिवार्य भएको मन्त्री चौधरीले खुलासा गरे । जनताले राम्रो माने पनि नमाने पनि अबको १० वर्षसम्म नेपालको राजनीति दुई ध्रुवमा, दुई कित्तामा विभाजन भइरहने अवस्था रहेको मन्त्री चौधरीले बताए ।
उनले २०७४ सालमा गठबन्धन गर्ने प्रमुख शक्ति एमाले थियो भने अहिले कांग्रेस भएको बताए। अहिलेसम्मको अवस्था आउँदा पार्टीको सिद्धान्त विचारभन्दा पनि आ-आफ्नो अस्तित्व रक्षाका लागि गठबन्धन भइरहेको मन्त्री चौधरीले बताए ।
कार्यक्रममा मन्त्री चौधरी पेट्रोलियम पदार्थको मुल्य अचाक्ली बढेको भन्दै मूल्य घटाउनेबारे मन्त्रिपरिषद बैठकमा कुरा उठाउने प्रतिवद्धता व्यक्त गरे ।