पासोमा परेर मर्यो गर्भवती चितुवा, पेटबाट दुई बच्चा भेटिए
बैतडी : बैतडीमा बदेलका लागि थापेको पासोमा परेर गर्भवती चितुवा मरेको छ। जिल्लाको दशरथचन्द नगरपालिकामा ४ बिनासौँ भन्ने स्थानमा बुधबार विहान पासोमा परेको चितुवा बुधबार समयमा उद्धार हुन नसक्दा मरेको हो। उक्त स्थान सदरमुकाम नजिकैको गाउँ हो।
सुरक्षा निकायको टोलीले उद्धार गरिरहेको अवस्थामा चितुवा मरेको हो। ‘सुरक्षा निकायको टोलीले उद्धार गरीरहेको थियो, पिजडामा राखिसकेपछि म¥यो’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक प्रेम शाहीले भने।
चितुवा उद्धारको क्रममै मरेको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी श्यामसुन्दर माझीले बताए। ‘बर्दिया र शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट बिज्ञ टोली आउन ढिलो हुने भएकाले सुरक्षा निकायको टोलीको सहयोगमा उद्धार गरिएको हो, कहिबेरमा मरीहाल्यो,’ माझीले भने।
भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका पशु चिकित्सकहरुको टोलीले चितुवाको शव फरिक्षण गरेको थियो। चितुवाको पेटमा दुई वटा बच्चा रहेको खुल्न आएको छ। ‘पेटमा दुईवटा ‘कव’ (चितुवाको गर्भमा रहेका बच्चा) रहेछन्,’ शव परिक्षण गरेका पशु चिकित्सक विशाल पाठकले भने, ‘पासोमा चितुवाको पेटमा झन चोट पुग्दै गयो, ब्लड सर्कुलेसन पनि रोकिएकाले मर्यो।’
विज्ञहरुले उक्त चितुवा ३ वर्षमाथिको उमेरको रहेको बताएका छन्। चितुवाको पेटमा ५० दिनभन्दा माथिका ‘कव’ हुर्की रहेको पशु चिकित्सक पाठकले बताए। ९८ देखि ११० दिनको बीचमा चितुवाले बच्चा जन्माउने गर्छ।
बिहान ४ बजेको समयमा पासोमा फसेको चितुवाको समयमा नै उद्धार हुन नसकी मरेको हो। उद्धारको लागि बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाटा राष्ट्रिय निकुञ्जको बिज्ञ टोली आउन लागेको थियो। जिल्लाकै सुरक्षा निकायको टोलीले उद्धार गर्ने प्रयास गरेको थियो। उद्धारको क्रममा बेहोस भएर पिजडामा हालेको केही समयमा चितुवा मरेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ।
प्रदेशमा बन्यजन्तु उद्धार केन्द्र छैन
डिभिजन वन कार्यालय बैतडीका अनुसार २०७४ साल यता १२ वटा चितुवा मरेका छन्। कुनै ठाउँमा पासोमा परेर चितुवा मरेको पाइएको छ भने कुनै ठाउँमा कालगतीले पनि चितुवा मरेको डिभिजन वन कार्यालयको भनाइ छ। सबै चितुवाको मृत्युको कारण खुल्न नसकेको उनले बताए। यसका लागि अध्ययन गर्नुपर्ने डिभिजन वन कार्यालय बैतडीका प्रमुख कडेलले बताए।
बन्यजन्तु उद्धार केन्द्र नहुदा पनि बन्यजन्तुहरु समयमै उद्धार नहुँदा मर्ने गरेको पनि डिभिजन वन कार्यालय बैतडीका प्रमुख कडेलले बताए। ‘बुधबार पनि चितुवालाई बचाउन सकिन्थ्यो, बर्दियाबाट उद्धार टोली मगाउँदा समय लाग्ने भयो,’ उनले भने।
सुदूरपश्चिम प्रदेशको अत्तरिया र डडेल्धुरामा बन्यजन्तु उद्धार केन्द्रको लागि पटक-पटक माग गरिएको भए पनि प्रदेश सरकारले बेवास्ता गरेको पाइएको छ।
स्थानीयहरुले मकै जोगाउन बदेलका लागि थापेका हुन्। जंगली जनावरले मकै बाली सखाप पार्ने गरेको दशरथचन्द नगरपालिका ४ का वडा अध्यक्ष भान देव भट्टले बताए। दशरथ चन्द नगरपालिका वडा नम्बर ४ को जर्ग, बिनासौँ, सकाली, माणला लगायतका क्षेत्रहरुमा जंगली जनावर बदेल, दुम्सीलगायतका जनावरले मकैबाली सखाप पार्ने गरेको उनले बताए। बदेल तथा दुम्सी नआओस् भनेर त्यहाँका स्थानीयहरुले पासो थाप्ने गरेका छन्।