कार्यदलले टुंग्याउन सकेन सिट बाँडफाँट
काठमाडौं : सत्ता गठबन्धनको सिट बाँडफाँटको खाका तयार गर्न बनेको कार्यदलले शीर्ष नेतासँगको गृहकार्य निष्कर्षमा नपुगेपछि उक्त विषय टुंग्याउन सकेको छैन । प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० सिटका लागि सिट बाँडफाँटको मोडालिटी बनाउने जिम्मेवारी पाएको कार्यदलले साउन मसान्तसम्म सिट बाँडफाँटको मोडालिटीसहित सुझाव दिने भने तापनि गठबन्धनका शीर्ष नेताबीच गृहकार्य नपुगेको कारण देखाउँदै समय लम्ब्याएको छ।
साउन २० गते सत्तारूढ गठबन्धन दलहरूले सिट बाँडफाँटका लागि खाका तयार गर्न ११ सदस्यीय कार्यदल गठन गरेको थियो। साउन २३ गते कार्यदललाई व्यवस्थित बनाउने भन्दै कांग्रेसका शीर्ष नेता कृष्णप्रसाद सिटौलालाई कार्यदलको संयोजक तोकेका थिए। यद्यपि, १३ दिनसम्म पनि कार्यदलले कुनै किसिमको खाका तयार पार्न सकेको छैन। संयोजक सिटौलाले भने गठबन्धन दलका शीर्ष नेताहरूसँग छलफल गरिराखेको भएपनि कुनै नेतालाई सिट बाँडफाँटको खाकाको आधार पनि चित्त बुझेको छैन।
एकपटक संयोजक ज्यूले गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरेपछि एउटा खाका तयार हुन्छ। - ज्ञानेन्द्रबहादुर कार्की, सञ्चारमन्त्री
अधिकांश शीर्ष नेतासँग भने छलफल गर्न बाँकी नै रहेकाले उनीहरूको धारणा नबुझी खाका तयार गर्न नसकिएको कार्यदलकै सदस्य जनता समाजवादी पार्टीका नेता रामसहाय यादवले बताए। कुन विषयमा चित्त नबुझेको हो ? भन्ने प्रश्नमा उनले एकीकृत समाजवादी र माओवादीलाई स्थानीय निर्वाचनको आधार चित्त नबुझेको बताए। ‘उहाँहरू अघिल्लो संघ र प्रदेशको निर्वाचनलाई प्रमुख आधार बनाइनुपर्ने बताए,’ यादवले भने, ‘कांग्रेसकै शीर्ष नेताहरू पार्टीले राखेको अभिमूखीकरण कार्यक्रमका लागि भन्दै ३ दिन व्यस्त हुनुहुन्छ। माओवादी, समाजवादीका नेता पनि आ–आफ्नै आन्तरिक गठजोडमा लाग्नुभएको छ। सिट बाँडफाँटको कुन आधारमा चित्त नबुझेको हो ।’ उनले थपे, ‘कार्यदलका सदस्यसँग पनि हाम्रो भेट भएको छैन। ढिलो हुनुको प्रमुख कारण त्यही हो।’
बैठकमा कार्यदलका सदस्यहरूबीच विभिन्न मोडालिटीमाथि छलफल यथावत छ। छलफललाई अन्तिम रूप दिन कार्यदलका संयोजक सिटौलाले पुनः शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन्।
सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यदललाई दिइएको जिम्मेवारी आगामी शनिबार अथवा भदौ ४ गतेसम्म पूरा गरिने बताए। ‘जुन जिम्मेवारी कार्यदललाई सुम्पिएको थियो। हामी त्यो जिम्मेवारी पूरा गर्ने चरणमा पुगेका छौं,’ मन्त्री कार्कीले भने, ‘छलफल निष्कर्ष नजिक छ। एकपटक संयोजक ज्यूले गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरेपछि एउटा खाका तयार हुन्छ। गठबन्धन दलबीचको सिट बाँडफाँटमा सबैलाई न्याय हुने मन्त्री कार्कीले बताए। कार्यदलले अहिलेसम्मको सिट दाबी गर्ने संख्याको आधार २०७४ सालको संघ र प्रदेशको निर्वाचनलाई बनाएको छ।
कार्यदललमा कांग्रेसबाट सञ्चारमन्त्री कार्कीसहित कांग्रेसका शीर्ष नेता कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा, माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन्।
नेकपा एकीकृत समाजवादीले निर्वाचनमा आफ्नो पार्टीबाट चुनाव लड्न ७ मापदण्ड बनाएको छ। बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले तोकिएका सातवटा मापदण्डभित्र पर्ने व्यक्तिलाई मात्र पार्टीको उम्मेदवार बनाउन सकिने प्रवक्ता जगन्नाथ खतिवडाले बताए। पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिवद्ध, पार्टी निर्माणमा योगदान र विद्रोहमा सक्रिय भूमिका खेलेको, क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक र नैतिक आचरण राम्रो भएको, जनतामा स्थापित र लोकप्रिय, स्वच्छ छवि र कार्यक्षमता र सक्रियता राम्रो गरी ७ ओटा मापदण्ड हुन् ।