नाकाबाट भित्रिँदै कोरोना
धनगढी : भारतमा कोरोना बढेसँगै सीमा नाकाहरूबाट नेपालमा पनि कोरोना भित्रिन थालेको छ। कैलालीको गौरीफन्टा नाकाबाट मात्रै साउनको ३० गतेसम्म २ सय ३९ जना कोरोना सत्रंmमित नेपाल आएका छन्। गौरीफन्टा नाकामा राखिएको हेल्थ डेस्कले दिएको जानकारीअनुसार असारको महिनाभरी १७ जनामा मात्रै कोरोना देखिएकोमा साउनको १ देखि ३० गतेसम्म २३९ जनामा कोरोना देखिएको हो।
हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदले दैनिक डेढ/दुई सय जनाको एन्टिजेन परीक्षण गर्दा १५/२० जनामा कोरोना देखिरहेको बताए। साउनको १५ पछि नेपाल फर्किनेहरूमा कोरोना बढेको हो। साउनको १४ गते १ सय ४३ जनाको एन्टिजेन परीक्षणमा १० जनामा कोरोना देखिएपछि सीमा नाकामा सर्तकता अपनाइएको छ। साउनको १५ गते ९ जना, १६ गते ३ जना, १७ गते पनि ३ जना, १८ गते ६ जना, १९ गते १४ जनामा कोरोना देखिएको हो। १९ गतेयता पनि परीक्षण गरिएकोमा ५ देखि १० प्रतिशतसम्म कोरोना पोजेटिभ आइरहेको छ।
कोरोनाको पहिलो भेरियन्टका बेलादेखि नै सीमा नाकाहरूमा हेल्थ डेस्क राखिएका छन्। सुदूरपश्चिममा कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटमा कोरोना जाँच भइरहेको छ। क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार सोमबार (साउन ३० गते) मात्रै प्रदेशभरि १ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ। सीमा नाका र विभिन्न अस्पतालहरूमा गरिएको एन्टिजेन र पीसीआर परीक्षणका क्रममा यो संख्या देखिएको हो।
निर्देशनालयको तथ्यांकअनुसार सोमबारसम्म सबैभन्दा बढी कैलालीमा २२४ जना कोरोनाका बिरामी छन्। कञ्चनपुरमा १ सय ६८ जना, अछाममा ८ जना, बैतडीमा १७ जना, बझाङमा ५ जना, डँडेल्धुरामा ४ जना, र डोटीमा १ जना कोरोनाका सक्रिय संक्रमित छन्। प्रदेश स्वास्थ्य निर्देशक डा.जगदीश जोसीले भारतबाट आउने हरेक नागरिकलाई एन्टिजेन परीक्षण गर्न नसकिए पनि, भारतको हटस्पटबाट आएकाहरूलाई भने कोरोना जाँच गरेर मात्रै नेपाल आउन दिइरहेको बताए।