कृष्ण मन्दिरमा जन्माष्टमीको तयारी
काठमाडौं : कृष्णा जन्माष्टमीका लागि पाटनस्थित कृष्ण मन्दिरलाई पूर्णरुपले सजाइएको छ। कृष्ण जन्माष्टमीको अवसरमा सो मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। काठमाडौं उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट कृष्ण मन्दिरमा दर्शनार्थी आउने गरेका छन्।
विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा रहेका स्मारकमध्ये कृष्ण मन्दिरलाई महत्वपूर्ण मानिन्छ। ढुंगैढुंगाले बनेको कृष्ण मन्दिरलाई शिखर शैलीको उत्कृष्ट नमूनाका रूपमा मानिन्छ। मन्दिरमा २१ गजुर रहेका छन्।
१७औँ शताब्दीमा पाटनका राजा सिद्धिनरसिंह मल्लले मन्दिर निर्माण गर्न लगाएका थिए। उनले कृष्ण मन्दिर बनाउनेसँगै कृष्ण लीलामा आधारित नाच सञ्चालन गरेका थिए। जसलाई कात्तिक नाच पनि भनिन्छ। कृष्ण मन्दिर तीन तला रहेको छ। बीचको तलामा कृष्णको मूर्ति रहेको छ। मूर्तिको वरिपरि विष्णुका १० अवतारका मूर्ति छन्। मन्दिरका थामहरुमा विभिन्न देवी-देवताका मूर्ति कुँदिएको छन्।