कर्म गर फलको आशा नगर !
भाद्रमास भद्रमास भलो काम गर्न प्रेरित गर्ने मास भनौं, हरमानवले सेवा कर्ममा सरिक हुन प्रेरणा दिने समय, ज्ञान, कर्म र भक्तियोगका पुजारी सर्वेश्वर श्रीकृष्णले यस धर्तीमा आमाका कोखबाट जन्म लिएको समय। ज्ञान मष्तिस्क हो, विवेक शून्य हृदयले ज्ञानको प्रयोग गर्दा विज्ञानको दुरुपयोग हुन्छ, विज्ञानको सही उपयोग नगरिएको समय पनि यसैबेला हो। अगस्ट ६ र ९, जापानको हिरोसिमा र नागाशाकीमा हानिएको लिटिल ब्वाई र फ्याट म्यान नामक बमको धूवाँले अहिले पनि सताउँदैछ, पावर इगो, सुपर पावर, सुपर इगो।
गीताको सन्देश कर्म गर फलको आशा नगर, मानवरूपी अर्जुनलाई ईश्वररूपी कृष्णले दिएको सन्देश, युद्ध गर तर तिमी नायक होइनौ, म हुँ, जे गर्छु म नै गर्छु। मलिन भएका अर्जुनलाई निमित्त बनाएर संसारको भार हरण गर्ने कृष्ण शस्त्र ज्ञानमा मात्रै होइन शास्त्र ज्ञानमा पनि निपुण थिए। उनले विश्वलाई नै सन्देश दिए कर्म, ज्ञान र भक्तिको त्रिवेणी नै जीवन हो भनेर। स्थूल जगत् नबुझी सूक्ष्म जीव बुझिँदैन, जीव र जगत्को दोसाँध नै जीवन हो त्यसमा पनि मानव जीवन। र, जीवनमा जे छ जगत्मा त्यही छ केवल फरक थोरै र धेरैको मात्रा मात्र।
सन् १९४५ अगस्ट ६, बिहान ठीक ८ः१५ बज्दै थियो, संसारमा कसैले सोचेकै थिएन, सुपर पावर अमेरिकी युद्धक विमानले जापानमा बम खसाल्यो। १ लाख ४० हजार मानिसको ज्यान गयो। विकीरण समेतबाट प्रभावित थप १ लाख ४ हजारको अकाल मृत्यु भइहाल्यो। युद्धअघि र पछि गरेर अढाइ लाख मानिसको ईहलीला समाप्त भयो। अमेरिकाविरुद्ध युद्ध लडेको जापानले धेरै धनजनको क्षति व्यहोर्नु प¥यो। हिरोसिमा नगरमा खसालिएको बम २० हजार टीएनटी बराबरको र यसको नाम दिइएको थियो लिटिल ब्वाई, युरेनियम २३५, रासायनिक तŒवले भरिपूर्ण शस्त्र, मात्र १० फिट लामो आकारको, यो पारमाणिक अस्त्रलाई इनोला गे उपनामसमेत दिइएको रहेछ। यसलाई बी २९ सुपर फोरेट्स बम वर्षक विमानको बाह्य भागमा झुन्ड्याइएको रहेछ।
अब त समयले थप कोल्टो फेरेको छ र त जैविक र आणविक हतियारको निर्माणमा होडबाजी छ र प्रयोग पनि केवल एक मानवले अर्को मानव सिध्याउनैका लागि। बमजत्तिकै शक्तिशाली अदृश्य कोरोनाले लाखौं मानिसलाई निल्यो तर दृश्य शस्त्रास्त्रले अहिले युक्रेन निल्दैछ, ताइवान चपेटामा परिसकेको छ। त्यसको असरले हाम्रो भान्छाको बिजोक भइसकेको छ, धान्नै नसक्ने महँगीको त्रासमा परेको छ, शान्तिप्रिय नेपाली। उसले बुद्ध र पशुपतिनाथ देखेको छ, सर्जक विष्णुकोे प्रतिमूर्ति कृष्ण गाथा पनि सुनेको छ। आजभन्दा ठीक ५ हजार १ सय २३ वर्षअघिदेखि सुरु भएको कलीको सत्ता र शक्तिको दुरुपयोग पनि देखेको छ, महाभारतको विभिषिकाबाट ब्युँझेको मानवले, महाभारत रचाउने श्रीकृष्णको पावन गाथालाई पनि त भुलेको छैन नि।
हालसालै अमेरिकी संसद्की सभामुख पेलोसीले ताइवानको के भ्रमण गरिन्, चीनको होस् मात्र उडेन, उनको भ्रमणपूर्व नै चीनका राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई आगोमा नखेल्न भने। चीनले पनि देखाइरहेको छ उसको शक्ति कि पाँच दिनको ताइवान र चीन सीमाक्षेत्रको सागरमा गरिएको सैन्य अभ्यासको सफल परीक्षणपछि एकमहिने लगातारको अर्को अभ्यासमा छ ऊ, केवल स्थान फरक उही ताइवान र चीनको बीचको महासागर कोरियाली प्रायद्दीपका बीचमा। र, फेरि अर्को टोली अमेरिकी संसद्को प्रतिनिधिमण्डल त्यहाँ पुगिसकेकोले थप तनाव हुने देखिन्छ। संसारमा शान्ति सन्देश दिने यूएनओलाई मसला भएको छ अहिले युक्रेन, रसिया, चीन, ताइवान, सिरिया, अफगानिस्तान मात्रै होइन उसका मसला श्रीलंका मात्रै होइन १० वर्षसम्म राताम्मे दृश्य देखिएको सानो तर कोमलभूमि नेपाल पनि, जहाँ १७ हजारभन्दा बढीले यो संसार छोडे सशस्त्र युद्धकै नाममा।
मस्तिष्कको दुरुपयोग ज्ञान भएर के गर्नु विवेक नभएपछि, सेप्टेम्बर ११ का विन लादेनहरू पनि जन्माउने यही धर्ती हो, अमेरकाकै ट्विन टावरको कुरो गर्दा आङ्ग जिरिंग गर्छ सबैको। आज चीन, अमेरिका, रसियाजस्ता राष्ट्रप्रमुखहरूले आपूm भ्रमण गर्दा कालो ब्याग लिने गरेका छन् रे, त्यसमा कति परमाणुबराबरको शक्ति छ हिसाब छैन। संसारमा युद्ध हिजो थियो प्रथम र दोस्रो महायुद्ध तर छनक देखिएको छ तेस्रोतिरको पनि आखिर शस्त्रास्त्र बनाएपछि त्यसको प्रयोग नभए खिया लाग्छ भन्ने तिनको सोच होला। बुद्धका विवेक अनि कृष्णका गीता अमृतको दुरुपयोग भइरहेछ किन ? जुन शास्त्रको संसारभरि थरीथरीका भाषामा प्रचार भएका छन् त्यही मर्म बिर्संदैछ मान्छे केवल विज्ञान र ज्ञानका नाममा, उसलाई थाहा छैन ज्ञानको गलत प्रयोग भनेको सर्जक र संसारप्रतिको वितृष्णा हो जसले दियो मस्तिष्क उसैप्रतिको कृतघ्नता नभने के भन्ने ?
विज्ञान मानिसको मस्तिष्कको खेल हो भने मस्तिष्कको पिता त उही सर्जक ईश्वरै त हो, धर्ती उसकी माता भइहालिन्, धर्तीमा रहने तमाम प्राणी ईश्वरका सन्तति भए र त भगवानरूपी उही श्रीकृष्ण गाथा गाइएको भागवतमा ईश्वरले भनेको छ ‘अहँ सर्वेषु भुतेषु’, अर्थात् म सबै प्राणीमा छु। मान्छे पढ्छ, पढेपछि भुसुक्कै बिर्सिदिन्छ, अहिलेसम्म भएको प्रगति यही हो संसारको, र त मान्छे आज कसैसित डराउँदैछ भने मान्छेबाटै, हिंस्रक प्राणीबाटभन्दा पनि आज मानवलाई मानवबाटै पीडा छ, ढाँेगी मानव अनेकानेक कानुन बनाउँछ तर ईश्वरीय कानुनलाई भने धोती लगाइदिन्छ र आपराधिक कुकर्मका कारण धर्तीले धान्नै नसकेको अवस्था छ।
यस्तै योभन्दा बढी संसारभरको कुकर्मले आत्तिएकी धर्तीले आफ्नो वेदना बताउन गाईको रूप लिएर स्वयं सर्जक ब्रह्मा सामु पुगेकी, उनको समस्या समाधानको सामथ्र्य नहुँदा ब्रह्मा र गोरूपी धर्ती संरक्षक क्षीर सागरवासी श्रीविष्णु सामु पुगेर अनुनय विनय गरेपछि दुष्टहरूको संहार गर्छु भन्दै क्षीर सागरवासी जलाशयी श्रीविष्णुले संसारको पालना भनौं रक्षा गर्न र दुष्ट शासकहरूलाई निमिट्यान्न पार्न द्वापर युगमा देवकी बसुदेवका गर्भबाट जन्म लिएको प्रसंग र सो कुरा पनि चाल पाएपछि गर्भैमा सिध्याउँछु भनी लागेको असुर दानव कंशको काल कोठरीमा छद्म भेषमा जन्म लिएको प्रसंग नै जन्माष्टमी हो। युद्धका छिटाहरू, असंगति, दुर्गति, विनाश, विकृति के के छ के के यो संसारमा तर यो कास्टिङ मात्रै हो। झुरेस्ट भइसकेको छैन, अभैm पनि आशा छ सप्रने दिनहरू खोजी गरे बिग्रिसकेको छैन। तर, प्रकृति विकराल छ विषादीका कारण। धर्ती अम्बर विकराल छ जलवायु परिवर्तन। कोही भोकै छन्, कोही नांगै छन्। कसैलाई भ्याइनभ्याइँ भएको छ। आर्थिक समृद्धिको हरहिसाब राख्न कसैलाई नाना, खाना, छानाकै चिन्ता छ, रोग त छँदैछ। भोक पनि छ र त भनिन्छ यो संसारमा सन्तान थरीथरीका।
राजनीतिमा निपुण श्रीकृष्णको चरित्र सबैले पढ्छन्, महाभारत, गीता एवं धेरै ग्रन्थ। तर, हाम्रै राजनीति लाजनीतिमा परिणत भएको छ, यहाँ पानी, फोहोर, नुन, मल, पद र प्रतिष्ठामा सबैमा राजनीति हुन्छ। यो टिकाउ र बिकाउ राजनीतिले आमनेपालीको मन छुन सकेको छैन, बरु चिमोटिरहन्छ। त्यो दर्द, दुःख, कष्ट र हैरानीले हदैसम्मको ताडनाले पिल्सिएका छन् नेपालीहरू। र त खाडीमा पोखिएका छन्। उनको नोट चल्छ भोट चल्दैन।