स्याङ्जामा भलिबल रेफ्री प्रशिक्षण
स्याङ्जा : स्याङ्जामा जिल्लास्तरीय भलिबल रेफ्री तालिम सुरु भएको छ। यहाँका निर्णायकलाई भलिबल खेलसम्बन्धी पूर्ण जानकार गराउने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको हो।
जिल्ला भलिबल संघ र जिल्ला भलिबल रेफ्री कमिसन स्याङ्जाको आयोजनामा चारदिने भलिबल रेफ्री प्रशिक्षण सञ्चालन गरिएको हो। रेफ्री प्रशिक्षणको उद्घाटन गर्दै गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउन सुझाव दिए।
असोज २८ देखि गण्डकी प्रदेशमा सुरु हुने प्रतियोगितामा समावेश ३६ वटा खेलमध्ये केही खेलहरू कास्की बाहेकका जिल्लामा पनि गर्न सकिने उनले बताए। धेरै वर्षपछि पोखरामा प्रतियोगिता सञ्चालन गर्न पाएको अवसरलाई उपयोग गर्नसमेत उनले सझाव दिए।
प्रतियोगितालाई लक्षित गर्दै पहाडी तथा हिमाली भेगमा खेलाडीलाई प्रशिक्षित गराउनेगरी प्रदेश सरकारले तयारी सुरु गरिसकेको उनले बताए। ‘प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा खेल मैदान, खेलाडीलाई भूगोल सुहाउँदो खेलमा प्रशिक्षण, रोजगारयुक्त खेलमा जोड, अपांगता भएका ब्यक्तिलाईसमेत खेलमा सहभागी गराउनेगरी योजना अघि बनाएका छौं’, मन्त्री गुरुङ्ले भने।
कार्यक्रममा प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ, प्रमुख जिल्ला अधिकारी राजु पौडेल, अन्तर्राष्ट्रिय रेफ्री गौतमराज लासिवा, जिल्ला भलिबल संघ स्याङ्जाका अध्यक्ष वीरेन्द्र खड्कालगायतले सबै जिल्ला र तहमा सहज रुपमा खेलाउन सकिने भलिबल भएकाले यस खेल सम्बन्धमा खेलाडी तथा रेफ्रीलाई आ–आफ्नो जिम्मेवारी र कर्तब्य बुझाउन प्रशिक्षण आवश्यक रहेकोमा जोड दिएका थिए।
सहभागी वक्ताले तालिममा सिकेको सीपलाई ब्यवहारमा उतारी अनुशासनमा रही खेलकुदका कर्ममा जुट्न समेत सुझाव दिएका थिए। प्रशिक्षण कार्यक्रममा तनहुँ, पर्वत र स्याङ्जाका एक सय जना सहभागी छन्। भदौ ४ गतेसम्म सञ्चालन हुने तालिममा गौतमराज लासिवाले प्रशिक्षण दिनेछन्।