किशोरी आमाहरू
जनकपुरधाम : १५ वर्षको उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी मनिषा सदा १८ वर्ष नपुग्दै आमा बनिन्। महोत्तरीको गौशाला नगरपालिका—६ फुलकाहा घर भएकी सदाले ३ महिनाअघि गाउँमै छोरी जन्माइन्। सामाजिक परम्पराअनुसार नै रजय सदासँग विवाह गरेकी मनिषाले पेटमा सन्तान हुँदा स्वास्थ्य चौकी जाने वा चिकित्सकको नियमित सल्लाह लिने जस्तो केही सुविधा पाइनन्। घरमै सासूआमाले आफूले बच्चा पाउँदा भोगेका दुःखसुख सुनाउँदै अनुभवकै आधारमा मनिषाको पनि सुत्केरी गराएकी थिइन्।
मनिषाकै छिमेकी सबिता सदा पनि २० वर्ष नपुग्दै दुई सन्तानकी आमा छिन्। १६ वर्षको उमेरमा पहिलो छोरी पाएकी सबिताको अर्को डेढ वर्षकी कान्छी छोरी काखमा छिन्। गाउँमै मजदुरी गरेर जीविकोपार्जन गर्ने श्रीमान्ले उनलाई छोरीहरूको पालनपोषणमा खासै समय दिएका छैनन्। मजदुरीको भरमा जेनतेन छाक टार्ने सबिताले दुई छोरी पाउँदा न त गर्भवती अवस्थामा राम्रो हेरचाह पाउन सकिन् न त अहिले नै उनले पौष्टिक खानेकुरा खान पाएकी छन्।
त्यस्तै, औरही नगरपालिका टिम्कियाकी १९ वर्षीया संगीता सदाकी काखमा १ वर्षका छोरा छ। बच्चा पूर्ण रूपमा हुर्कन नपाउँदै संगीता २ जिउकी भएकी छन्। १७ वर्षको उमेरमा विवाह गरेकी संगीतालाई बच्चाको जन्मान्तरको सम्बन्धमा जानकारीसमेत छैन। २० वर्षीया ललितादेवी सदा २ सन्तानकी आमा भइसकेकी छन्। विवाह भएको ५ वर्ष नपुग्दै उनी दुई छोराहरूको स्याहारसुहार जसोतसो आफैंले गरेको बताइन्। एक त सुकुमबासी त्यसमाथि गृहणी भएपछि बच्चाको स्याहारसुहार अनि घरपरिवार चलाउन आर्थिक रूपमा धेरै नै कठिनाइ हुने गरेको उनले अनुभव सुनाइन्। उनी भन्छिन्, ‘दिनभरि २ बच्चाको रेखदेखमा समय खर्चिएपछि आफूले श्रीमान्लाई आर्थिक तवरले सहयोग गर्ने परिस्थिति छैन। श्रीमान् एक्लैको आम्दानीले घरखर्च टार्न साह्रै गाह्रो भएको छ। जसोतसो घरपरिवार र बालबच्चाको पालनपोषण गर्दै आएको छु।’
मधेसमा मुसहर, डोम, मेस्तर, चमार र प्रायःजसो दलित वर्गमा महिलाहरूको विवाह बच्चैमा हुने र किशोरावस्थासम्म पुग्दा बच्चाको आमा बनिसकेका हुन्छन्। मधेसमा आर्थिक वर्ष २०७८/०७९ मा २५ हजार २१५ जना महिलाले २० वर्षभन्दा कम उमेरमै बच्चा पाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार प्रदेशका आठै जिल्लामा ७८ हजार १७५ जना महिलाले बच्चा पाएकोमा किशोरी आमा बन्नेको संख्या ३२ प्रतिशतभन्दा बढी छ।निर्देशनालयको तथ्यांकअनुसार यस अवधिमा सप्तरीमा ८ हजार १९२ जना महिला आमा बने। जसमध्ये १ हजार ४१५ जना २० वर्षमुनिका थिए। त्यसैगरी, सिरहामा २ हजार २२२, धनुषामा २ हजार ९५८, महोत्तरीमा ३ हजार २८७, सर्लाहीमा ३ हजार ८१७ जना महिलाले २० वर्ष नपुग्दै सन्तान जन्माएका छन्। त्यसैगरी, रौतहटमा ३ हजार ५४, बारामा २ हजार ३५३ र पर्सामा ६ हजार १०६ जना महिलाले किशोरावस्थामै बच्चा जन्माएका हुन्।
बालविवाह रोक्नकै लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका सरकार तथा दर्जनौं गैरसरकारी संघ संस्थाहरूको आर्थिक लगानीमा थुप्रै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन हुँदै आए पनि मधेसको पछिल्लो तथ्यांकले बालविवाह खासै न्यूनीकरण हुन नसकेको छर्लङ्ग पार्छ। नेपालको मुलुकी ऐनमा विवाहको लागि केटा र केटीको उमेर २० वर्ष तोकिएको छ। नेपालको संविधानले बाल विवाहलाई बालअधिकार हननका रूपमा उल्लेख गरी दण्डनीय अपराधको रूपमा समेत स्वीकार गरेको अधिवक्ता रेखा झा बताउँछिन्। बालविवाह कानुनी रूपमै अपराध भए पनि हाम्रो समाजमा बालकको तुलनामा संख्यात्मक रूपमा बालिकाहरूको विवाह १८ वर्ष नपुग्दै हुने र उनीहरूले सानै उमेरमा बच्चा जन्माउने समस्या विकराल छ। ‘हामीकहाँ सामाजिक एवं साँस्कृतिक मान्यता, लैंगिक विभेद, गरीबी, अशिक्षा, असुरक्षा जस्ता कारणहरू मुख्य छन्,’ अधिवक्ता झा भन्छिन्। महिला अधिकारकर्मी रोजलिन बछारका अनुसार अशिक्षा र कम आयस्रोत भएका परिवारमा बालबालिकाहरू सानै उमेरमा विवाह गरेको पाइन्छ। उनी भन्छिन्, ‘कम उमेरमा बिहे भएर बच्चा पाएका आमाहरूबाट जन्मिएका सन्तानहरू पनि शारीरिक रूपमा कमजोर हुने गरेको पाइन्छन्। अधिकांश यस्ता कलिला उमेरमा बच्चा पाउने आमाहरूको स्वास्थ्य जाँच वा पोषणयुक्त आहारबाट वञ्चित हुन्छन्।’