कुहिरोको लुकामारी, सुन्दरताको खानी महाबुधाम

कुहिरोको लुकामारी, सुन्दरताको खानी महाबुधाम

दैलेख : सात महिना हिउँको कार्पेट। अरू बेला बाक्लो कुहिरोको पर्दा। छिनमै अँध्यारो, छिनमै उज्यालो। सिमसिमे पानीको वर्षा। जता हेर्‍यो, उतै हरियाली। अनि, सम्म परेका फाँट। रंगिबिरंगी फूलका मैदान। समुद्री सतहदेखि ४ हजार २ सय मिटर उचाइको प्रसिद्ध महाबुधाम। शब्दमा वर्णन गर्नै कठिन। जो त्यहाँ पुग्यो, मनैदेखि भन्छ– वाहा, महाबुधाम। धामको बीचमा आँखाभरि देखिने पाटन।

सुन्दर पाटनलाई बादलले छिनभरमै ढपक्क ढाक्छ। अनि छिनमै दिनले लुकामारी खेल्छ। रंगिबिरंगी फूलहरू हावाको बेगले हल्लिरहँदा त्यहाँ पुग्ने जो कोही पनि स्वर्गै पुगेको अनुभूति गर्छन्। छिनभरमै मौसम परिवर्तन भइरहने महाबुधाममा पुग्ने जो कोही पनि आनन्दको अनुभूति गर्छन्। लेकमै रहेको पोखरी र आसपासमा ढकमक्क फुलेका बुकीका फूलले अझ आनन्दित तुल्याउँछ। 

बिहानीपख सूर्योदयसँगै घामका किरणले मनमोहक बन्छ, महाबुधाम। क्षणभरमै हुस्सु र कुहिरोले पाटनलाई ढाक्छन्। सुन्दर पाटनको बीचमा विशाल ढुंगा। त्यसमाथि ढुंगाबाट बनेको शिवलिंगको मूर्ति। शिवलिंगको पूजाआजा गर्न जनैपूर्णिमाको अघिल्लो दिन महाबुधाममा भव्य मेला लाग्छ। दैलेख, कालीकोट, जाजरकोट, सुर्खेत, काठमाडौं, बाँके, बर्दिया, कैलालीसहित भारतका विभिन्न क्षेत्रबाट भक्तजनहरू 

आउने गर्छन्। 

धार्मिक मनोकांक्षा लिएर महाबुधाम पुग्ने भक्तजनहरू छिनमै घाम र छिनमै कुहिरोको लुकामारीसँग आनन्द लिने गर्छन्। कुहिरो र हुस्सुलाई घामले हटाएपछि महाबु पाटनबाट तराईका (बर्दियाको राजापुर, बबई नदी, टीकापुर क्षेत्र र बाँकेका सुन्दर फाँट) को दृश्यावलोकन गर्न सकिन्छ। पाटनका बीचबीचमा स–साना ताल, नजिकै केही गाई गोठ, वरपर चौरमा भेडाच्यांग्रा चरन चरिरहेका मनमोहक दृश्य देखिन्छन्। यी दृश्यहरू हेर्दा कसैले शान्ति भूमिको संज्ञा दिन्छन् त कसैले शिव र पार्वतीले तपस्या गरेको हुन सक्ने अड्कल काट्छन्।
बादलको घुम्टो, सिमसिमे पानी। छिनमै अँध्यारो, छिनमै उज्यालो। सम्म परेका फाँट अनि, रंगिबिरंगी फूलका मैदान। समुद्री सतहदेखि ४ हजार २ सय मिटर उचाइमा छ, प्रसिद्ध महाबुधाम। जो त्यहाँ पुग्यो, मनैदेखि भन्छ– वाह ! महाबुधाम।

वरपर हरियो वनजंगलले झनै शालीन र सुन्दर छ, महाबु। चारैतिर सेताम्य बुकी फूलसँगै अन्य रंगीबिरंगी फूलले महाबु क्षेत्र दुहली सिंगारिए झैं देखिन्छ। तराईका फाँट, पहाडका हिम शृंखलाको दृश्य नियाल्न पाइने महाबुधाम पुग्ने पर्यटकले धरहराको संज्ञासमेत दिने गर्छन्। सुन्दर पाटन हेर्न चाहने र धार्मिक आस्था भएका पर्यटकको धरोहरका रूपमा रहेको महाबुधामको महिमा साँच्चिकै गज्जबको छ। पुग्नलाई जत्ति कठिन भए पनि महाबुधाम पुगेपछि भने स्वर्गीय आनन्द लिन सकिन्छ। 

यसरी भयो उत्पत्ति

दैलेखको भूर्तिका आचार्य ब्राह्मणका छोरा जलु आचार्य आवाजविहीन थिए। महाबुधाममा ढुंगाबाट उत्पन्न शिवलिंग सबैभन्दा पहिले आवाजविहीन आचार्यले भेटाएको किंवदन्ती छ। त्यसबेला गाई, भैंसीपालन गर्न पाटनमा बस्ने गरिन्थ्यो। दूध पर्याप्त मात्रामा उत्पादन हुन्थ्यो। दूधबाट दही, घिउ तथा नौनीहरू तयार गरिन्थ्यो। त्यहाँ बस्नेहरूमध्ये बोल्न सक्नेहरू गाईभैंसी गोठाला जान्थे। बोल्न नसक्नेहरू (आवाजविहीन) हरू गाईभैंसीको मल सोहोर्नेलगायतका काम गर्थे।

सोही क्रममा आवाजविहीन उनै आचार्यले आफूलाई खान दिइएको दूध सधैं ढुंगामा ल्याएर चढाउने गरेको पुजारी नरेन्द्र उपाध्यायले बताए। ‘एक वर्षसम्म ढुंगामा दूध चढाउँदा पनि किन केही हुँदैन भनेर उनी ढुंगामा बस्दा खेरी ढुंगा हल्लिएको थाहा पाएछन्। त्यसपछि वरिपरि भएका गोठालाहरूलाई बोलाएर के हो ? यो यस्तो हुन्छ भनेपछि गोठालाले खुर्पेटोबाट हसियाँ निकालेर ढुंगामा हान्दा फुटेछ । बीचमा शिवलिंग उत्पत्ति भयो,’ पुजारी उपाध्यायले भने। त्यही शिवलिंगलाई अहिलेसम्म पूजापाठ गर्दै आएको उपाध्यायले बताए। ‘महाबुधाम शिवजीको पराप्रिय धाम भएको उनले बताए। 

यस्तो छ, धार्मिक विश्वास

हिन्दूहरूको महान् पर्व जनैपूर्णिमाका अवसरमा लाग्ने महाबुधाम (गाथ) मेला दुई दिन देखि तीन दिनसम्म सञ्चालन हुन्छ। चर्तुदर्शीका दिन मुख्य पूजापाठ गरिन्छ। मेलामा हजारौं भक्तजन तथा श्रद्धालुहरूले पूजाआजा गर्छन्। जनैपूर्णिमाको अघिल्लो दिन भगवान् शिवको पूजाआजा गरी जनैपूर्णिमाको दिन श्रद्धालुहरू घर फर्किने गर्छन्। दैलेखका आचार्य ब्राह्मणले भैंसीको काँचो दूध चढाएपछि मात्र कालीकोट र दैलेखका अन्य ब्राह्मणद्वारा पूजापाठ सुरु गर्ने प्रचलन कायमै छ। 

  •     पुग्न कठिन, पुगेपछि आनन्द
  •     पर्यटकका लागि सुन्दर गन्तव्य 
  •     घाँटीमा दाम्लो बाँधेरै पुग्छन् कतिपय भक्तजन

वर्षभर अन्न अभाव हटाउन, गाईबस्तु र अकालमा मृत्यु हुनबाट बचाउन शिवलिंग पुज्ने चलन छ। गौहत्या (दाम्लोमै पशु चौपाया मरेको खण्डमा) महाबुधाम पुगेपछि पापहरू नास होस् भनेर कयौं श्रद्धालु भक्तजनहरू घाँटीमा दाम्लो बाँधेर पुग्ने गर्छन्। पशु चौपायाको मोक्ष प्राप्तिका लागि किसानले घाँटीमा दाम्लो बाँधेर पूजापाठ गर्ने प्रचलन छ। ‘हजारौं हजार मनोकांक्षा लिएर आएको अवस्थामा त भन्न सकिँदैन, तर एउटा मात्र मनोकांक्षा पूरा होस् भनेर आउने श्रद्धालु भक्तजनहरूको मनोकांक्षा पूरा हुन्छ,’ पुजारी उपाध्यायले भने ‘अहिले पनि दैलेखबाट दूध ल्याएर शिवलिंगमा चढाएपछि पूजाआजा सुरु हुने परम्परा छ।’

महाबुधाममा पूजाआजा गर्दै भक्तजन र भीरको बाटो चढेर महाबुधाम जाँदै गरेका भक्तजनहरू। तस्बिर सौजन्य : विशाल सुनार 

सन्तान सुख प्राप्त गर्न नसकेकाहरूले यहाँ वर मागे सन्तान प्राप्ति हुने धार्मिक विश्वास कायमै छ। चाँदीका तीन वटा आशा गुर्जा, काठका प्रतीकात्मक मूर्ति, गरुढसहितको चाँदीको पञ्चबाला तथा अन्य बहुमूल्य वस्तुहरू विशेष पूजाका बेलामा मात्र बाहिर निकालिन्छन्। पूजापाठका लागि गएका भक्तजनहरूले मुख्य मन्दिरको परिक्रमा गर्दा बुकी, दूबो, झारसहित मुखमा घाँस च्याप्ने चलन अहिले पनि कायमै छ। शिवलिंग भएको स्थानलाई सबै तीर्थयात्रीहरूले सात पटकसम्म परिक्रमा गर्ने गर्छन्।

तीन पटकसम्म महाबुधामको मेलामा पुगेका नारायण नगरपालिका–१ का प्रकाश श्रेष्ठले आफ्नो मनोकांक्षा पूरा भएको बताए। जोखिमपूर्ण बाटो हुँदाहुँदै पनि भक्तजनहरू महाबु पुग्ने गरेको उनको भनाइ छ। सन्तान नहुनेहरूको सन्तान प्राप्ति हुने, धनसम्पत्ति बढ्ने, बालीनाली फस्टाउने मनमा शान्ति हुने मान्यता रहेको श्रेष्ठको भनाइ छ। कालीकोटको महावै गाउँपालिका–२ की लक्ष्मी सिंहले पुस्तौं पुस्तादेखि विश्वासको आधारमा महाबुधाम मेलामा आउने गरेको बताइन्। महाबुधाममा पुगेर शिवजीको दर्शनपछि मनोकामना पूरा हुने उनको दाबी छ। 
वीरेन्द्रनगर–३ तातापानी सुर्खेतका धीरबहादुर रोकायले आफू जस्तो विपद् परे पनि महाबुधामलाई सम्झेर आउने गरेको बताए। गाई फर्म सञ्चालन गरेका रोकायले भने ‘मेरो गाई घाँटीमा दाम्लो बाँधेकै अवस्थामा मर्‍यो। गौमाता भनेको हाम्रो आमा समान हो। गाई मरेपछि कपाल मुण्डन गरेर तीन दिनको किरियासमेत गरेँ। गाई दाम्लोमै मरेपछि त्यसको पाप कटाउन घाँटीमा दाम्लो बाँधेर महाबुधामको मेलामा आएको हुँ।’ 

हट्यो अनिष्ट हुन्छ भन्ने मान्यता

पहिले–पहिले महाबुधाममा महिला गए ‘अनिष्ट हुन्छ’ भन्ने मान्यता थियो। महिलालाई तल्लो पाटनबाट शिवलिंग भएको स्थानमा जान बर्जित थियो। अहिले भने महिलालाई महाबुधामको दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ। सशस्त्र द्वन्द्वकालदेखि महिलाहरू पनि धाममै पुग्न थालेका छन्। विशेषगरी सन्तान प्राप्ति नभएका महिला तथा पुरुषहरू धाममा पूजा गरी अनुष्ठानको तिलक ल्याएर फर्किएका श्रद्धालुहरूबाट आशिष थाप्ने गर्छन्।
घाँटीमा दाम्लो बाँधेर महाबुधाम मेलामा पुगेका कालीकोटका प्रयागबहादुर शाही।

श्रद्धालुहरूलाई आफूले प्रसाद स्वरूप ल्याएको सातु, कसार, फलफूल दिने गर्छन्। कतिपय आशिष थाप्न बसेका भेटिन्छन् त कतिपय महिलाहरू मागेको फल प्राप्त भएकाले धन्यवाद दिन बाटोमा लाम लागेर बस्ने गर्छन्। तल्लो पाटनबाट भीरको बाटो र जोखिमपूर्ण हुने भएकाले अहिले जाने र फर्कने बाटो छुट्टाछुट्टै बनाइएको छ। 

कसरी पुग्ने महाबुधाम ? 

दैलेखको नौमुले गाउँपालिका–२ मा महाबुधाम पर्छ। यो कालीकोटको महाबै गाउँपालिकाको सिमानासँग जोडिएको छ। उच्च लेकाली क्षेत्रमा पर्ने महाबु क्षेत्र धार्मिक मात्र नभएर प्राकृतिक सौन्दर्यको खानी हो। कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि दैलेख सदरमुकाम ६५ किलोमिटरको दूरीमा छ। पक्की सडक भएकाले तीन घण्टामा सहजै दैलेख सदरमुकाम पुगिन्छ। दैलेख सदरमुकामबाट ४२ किलोमिटर यात्रा गरेपछि महाबु पाटन क्षेत्रमा पुग्न सकिन्छ। पानी नपरे करिक ४ घण्टामा महाबु पुग्न सकिन्छ। वर्षाका बेला कच्ची सडक हिलाम्य हुने भएकाले समय बढी लाग्छ। 

सदरमुकामबाट डेढ घण्टाको यात्रामा दशरथे बजार पुग्न सकिन्छ। स्थानीय बजार भएकाले चिया मात्रै खान पाइन्छ, त्यहाँ। त्यहाँबाट एक घण्टाको यात्रामा ओखरबास पुगिन्छ। त्यहाँ पनि केही पसलहरू छन्। खाना खान र सामान्य बासको व्यवस्था छ। त्यहाँबाट ३० मिनेटमा भावरसैनी पुगिन्छ। आसपास ग्रामीण बस्ती छैन।

महाबु यात्राको पहिलो उकालो पार गरेपछि नाउली पुगिन्छ। त्यो नै दैलेखबाट महाबु पुग्ने बेलाको अन्तिम बस्ती हो। नाउलीबाट लिस्ने भीरको घुम्ती पार गरेपछि पाटन पुग्न सकिन्छ। पैदल हिँड्नेहरू भीरको बाटोबाट एक घण्टामा पाटन पुग्न सक्छन्। सडकबाट हिँड्नेहरू करिब दुई घण्टाको यात्रापछि पाटन पुग्छन्। पाटनबाट करिब एक घण्टाको उकालो पछि शिवलिंग भएको स्थानमा पुग्न सकिन्छ। 

महाबुधामबाटै जोडिँदैछ त्रिदेशीय सडक

सरकारले घोषणा गरेको एक सय वटा पर्यटकीय गन्तव्यभित्र पर्छ, महाबुधाम। महाबुधामलाई सरकारले २०७५ कात्तिकमा पर्यटकीय गन्तव्यको रूपमा घोषणा गरेको थियो। महाबु प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक दृष्टिकोणले प्रमुख पर्यटकीय क्षेत्र हो। महाबुधामसम्म पुग्न सडक निर्माणको काम भइरहेको छ। बहुप्रतीक्षित त्रिदेशीय सडक पनि महाबु क्षेत्रबाटै जोडिएको छ।

जमुनाहा नेपालगन्ज, सुर्खेत, दैलेख बजार, महाबु लेक, गाल्जे भात्तडी, रतडा, नाग्म, गमगढी हुँदै नाक्चेलाग्ना सडकका लागि संघीय सरकारले चालू आर्थिक वर्षमा ६० करोड बजेट विनियोजन गरेको छ। यो साबिकको कर्णाली अञ्चल प्रवेश गर्ने सबैभन्दा छोटो मार्ग पनि हो।

कर्णाली प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय दैलेखमार्फत क्रमागत बजेट अन्तर्गत महाबुको तल्लो पाटनदेखि महाबुधामसम्म विभिन्न काम भइरहेका छन्। कार्यालयका प्रमुख प्रभाकर सिंहले पाटनदेखि महाबुधामसम्म सिंढी निर्माण, श्रद्धालुजनका लागि बस्ने घर निर्माणलगायतका कामका लागि १ करोड ५० लाखको ठेक्का सम्झौता भइसकेको बताए। महाबु जोड्ने सडकअन्तर्गत छान्नादेखि ओखरबाससम्मको सडक निर्माणको काम कार्यालयको रहेको सिंहले जानकारी दिए। 

महाबुधामसम्म पुग्ने यात्रीहरूका लागि अहिलेसम्म उचित बासस्थान निर्माण हुन सकेको छैन। होटल र पाटी पौवा छैनन्। यहाँ भरपर्दो पर्यटन पूर्वाधारको अभाव छ। पानी, शौचालय र उचित बासको प्रबन्ध छैन। यस वर्षको महाबुधाम मेलामा पुगेकी सुर्खेत पिपिरामकी बालसरा रेग्मीले महाबुधाम पुग्दा आनन्दित महसुस भएको बताइन्। ‘महाबुधाम पुग्न पाउँदा खुसी छु, तर सडक भरपर्दो भएन,’ उनले भनिन्। सडक राम्रो भए आन्तरिक तथा बाह्य पर्यटक तथा भक्तजनहरूको संख्यामा वृद्धि हुने उनले बताइन्। नारायण नगरपालिका– १ की कोकिला कोइरालाले गाडीमा आउन खोज्ने भक्तजन तथा श्रद्धालुहरूलाई सास्ती हुने गरेको बताइन्।      महाबुधाममा रहेको पोखरी ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.