प्राचीन नेपालको प्रतिविम्ब
श्रीपशुपति संग्रहालय ‘श्रीखण्ड’ बनेको छ। यसलाई ‘प्राचीन नेपालको प्रतिविम्ब’ भन्न सकिने आधार खडा भएका छन्। यसै पनि पाशुपत क्षेत्र प्राचीन नेपालको संस्कृति र सम्पदाहरूको प्रतिविम्ब नै छ। एकातिर पाशुपत क्षेत्र खुला र जीवन्त संग्रहालय छँदै थियो अब अर्कोतिर महास्नान घरमा श्रीपशुपति संग्रहालय बन्यो।
पाशुपत क्षेत्र नै जीवन्त संग्रहालय हो भनिन्छ। देवताहरूको पनि देवता, १२ ज्योतिर्लिंगहरूको पनि शिरोभाग महाज्योतिर्लिंग हुन्, पशुपतिनाथ। उनै पशुपतिनाथका नामले समेत चिनिएको देश हो, नेपाल। उत्पत्तिका दृष्टिले पनि समकालीन पशुपतिनाथ र नेपाल। पशुपति र पाशुपत क्षेत्र जो कैयौं दुर्लभ सम्पदा अझ समग्र संस्कृतिकै ऐना बनेको छ, नेपालको। यिनै सम्पदा र संस्कृतिलाई समेटेर पाशुपत क्षेत्रस्थित ऐतिहासिक महास्नान घरमा बनाइएको छ एउटा संग्रहालय अर्थात् श्रीपशुपतिनाथ संग्रहालय, महास्नान घर, काठमाडौं। पाशुपत क्षेत्रमा पशुपति संग्रहालय बनाउने दशकौंको सपना पूरा भएको छ। जसले पशुपतिनाथ, गुह्येश्वरी, आसपासका मठमन्दिर, पाशुपत क्षेत्रका समग्र सम्पदा र संस्कृतिलाई प्रतिबिम्बित गरिरहनेछ, आमनागरिकलाई।
रेखाचित्रमा पशुपतिनाथ र गुह्येश्वरी
संग्रहालय पस्नेबित्तिकै लाम्चो तर भव्य ढंगमा पशुपतिनाथको सादा रेखाचित्र देख्न सकिन्छ। पशुपतिनाथको उत्तरतर्फबाट हेर्दा देखिने दृश्य यसमा छ। सुरेन्द्र जोशी र ज्ञानेन्द्र जोशीको यो रेखाचित्र जीवन्त लाग्छ। हेनरी ए. ओल्डफिल्डले ब्रिटिस लाइब्रेरीमा रहेको भष्मेश्वर घाटबाट देखिने पशुपतिनाथको पेन्टिङ पनि राखिएको छ। जसमा देखिएका तीन गाई र दुई महिलाले प्राचीन समयको चित्रण गरेको छ। यस्तै, पशुपतिनाथको अर्को दृश्य राजराजेश्वरी पट्टिबाट लिइएको छ। जुन सन् १८८४ मा राजमान सिंहले कोरेको चित्र हो।
त्यसलगत्तै देखिने संग्रहालयको अर्को रंगीन स्केचहरूले जोकोहीलाई ‘आहा !’ बनाउँछ। गुह्येश्वरी, पशुपतिनाथ र बागमती नदीसहितको गुह्येश्वरी मन्दिरको सजीव चित्रले जोकसैलाई लोभ्याउँछ। सन् १८५६ मा बनाइएको यो चित्रका लागि हेनरी ओल्डफिल्डलाई धन्यवाद दिनैपर्छ। ‘लिच्छविकालका अभिलेख’ (२०३०) मा धनबज्र वज्राचार्यले ध्रुवसंघको भष्मेश्वर घाटको अभिलेखमा ‘पाशुपत क्षेत्रे’ (वि.सं. ५९०) भनी उल्लेख गरेको पाइन्छ। गोपाल राजवंशावलीमा उल्लेख ‘पशुपति’ पछि यो नै पशुपतिनाथबारेको आधिकारिक प्रमाण हो। पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको पशुपतिनाथले पुजिने शिवलिंग जयरामसिंह वर्धनले १४१७ सालमा बनाउन लगाएको पाइन्छ। संग्रहालयमा भने पाशुपत क्षेत्रमा ढल्किएर बसेको पृथक् शिवलिंग राखिएको छ जुन पाशुपत क्षेत्रको सबैभन्दा ठूलो शिवलिंग हो। यसलाई ढल्केश्वर महादेव पनि भनिन्छ।
डा. गोविन्द टण्डनले ‘पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन’मा गोपाल राजवंशावलीमा भृंगारेश्वरी भनी उल्लेख गरिएकी देवी यिनै गुह्येश्वरी हुन सक्छिन् भनेका छन्। संग्रहालयमा राखिएका रेखाचित्रमा मनमोहक देखिने गुह्येश्वरीबारे नेपालमहात्म्य, स्वयम्भूपुराण, राजभोगमाला वंशावली र वज्रयानी बौद्धग्रन्थमा चर्चा पाइन्छ। ‘आकाश नै छानो तथा पृथ्वी नै मन्दिर हुने मान्यतामा देवीका लागि मन्दिर बनाउने परम्परा छैन। यद्यपि सबै परम्पराअनुसार गुह्येश्वरीको पनि मन्दिर बनाइएको छैन। यस मन्दिरका लागि शृंगारिक प्रयोजनले चारै दिशामा ढोका बनाइएका हुन्। यहाँका ढोका चाँदीका छन्। मन्दिरमाथि भने तीन तहको छानोजस्तो स्वरूप बनाएर आकाशतिर खुल्ला छाडिएको छ (पाशुपत क्षेत्रको सांस्कृतिक सम्पदा– प्रा.डा. सोमप्रसाद खतिवडा र गोपीकृष्ण ढुंगाना (सम्पा.) ः २०७७)। योगी नरहरिनाथले लेखेका छन्, ‘मन्दिरको माथितिर छानो नभएको खुल्ला ठाउँमा राजवैद्य चक्रपाणिले चारवटा सुनका नाग आकृति चार कुनामा राखिदिएका छन्।’ विशेष महिमा वर्णित गुह्येश्वरीलाई संग्रहालयले जीवन्त बनाइदिएको छ।
एकमात्र ब्रह्मा मन्दिर र दुर्लभ सम्पदा
संग्रहालयमा सातौं शताब्दीको ब्रह्माको मन्दिरको पनि विजय वासुकलाद्धारा निर्मित रेखात्मक चित्र छ। जुन नेपालमै एकमात्र हो। जसमा वास्तुकलाको अनुपम कलाकृति देख्न सकिन्छ। देउपाटनको पञ्चदेवललाई दक्षिणतर्फबाट लिइएको तस्बिरले सोही ठाउँ पुगेको अनुभूति गराउँछ। पाँचौं शताब्दीमा बनेको राजराजेश्वरी घाट पनि देख्न सकिन्छ। लिच्छवि युगको आजसम्म अस्तित्वमा रहेको यो सबैभन्दा ठूलो पुराताŒिवक सम्पदा हो। सन् १९८१ मा एक्सेल मिखायल्सले खिचेको तस्बिर हो यो। पशुपतिनाथ मन्दिरमा प्रवेश गरेपछि सबै सम्पदा हेर्ने मात्र हो, तस्बिर खिच्न पाइँदैन। मन्दिरपरिसरका केही संरचना र सम्पदामाथि कोरिएका रेखाचित्र संग्रहालयमा छ जुन खासगरी पशुपतिनाथ प्रवेश निषेध गरिएका गैरहिन्दूका लागि विशेष कामयावी हुनेछ।
‘नेप्लिज स्टोन स्कलप्चर्स’ स्रोत दिइएको चारमुखे शिवलिंग पनि संग्रहालयमा छ। जसको तस्बिर प्रसिद्घ साहित्यकार लैनसिंह वाङ्देलले खिचेको हो। योनी प्रतीकले चारैतिर घेरेको जलहरीमाथि राखिएको यो चारमुखे शिवलिंग हराएको हुनाले पाशुपत क्षेत्रमा पाइँदैन।
आर्किटेक्चरल ग्यालरी नाम दिइएको कक्षमा प्रस्तरका अनुपम कलाकृति पनि थुप्रै छन्। १९२८ सालको देवनागरी लिपिमा लेखिएको ढुंगाको सम्पदा छ भने छेवैमा ९७७ सालको यस्तै सम्पदा छ, जसले तत्कालीन इतिहास बोकेको छ। ‘नेप्लिज स्टोन स्कलप्चर्स’ स्रोत दिइएको चारमुखे शिवलिंग पनि संग्रहालयमा छ। जुन तस्बिर प्रसिद्ध साहित्यकार लैनसिंह वाङ्देलले खिचेको हो। योनी प्रतीकले चारैतिर घेरेको जलहरीमाथि राखिएको यो चारमुखे शिवलिंग हराएको हुनाले पाशुपत क्षेत्रमा पाइँदैन। हराउनुअघि यो लिंग राम मन्दिरको उत्तरतर्फ मृगस्थली वन जाने बाटोछेउमा थियो।
पशुपतिनाथका ताल्चा, इँटा र विश्वरूपा
सबैजसो भक्तजनले पशुपतिनाथ पुग्दा प्रायः मन्दिर खुल्ला नै देख्छन्। बन्द गरिएको अवस्थामा पुग्नेले पनि त्यहाँ कस्तो ताल्चा लगाइएको छ भनेर हेर्दैनन्, हेरे पनि देख्न मुस्किलै पर्ला। यहाँका ढोकाहरूमा तिब्बती साँचो लगाइन्छ। संग्रहालयमा यस्ता ताल्चा तीनवटा छन्। परम्परागत ढाँचाका यी ताल्चा संग्रहालयका आकर्षक हुन्। यी हातैले बनाएका भोटे ताल्चा हुन्। जुन नयाँ त के पुराना पुस्ताले पनि नदेखेको हुन सक्छ। केही इँटा छन्, जो विशेष छन्। महिलाले आँखा झिम्क्याउँदा देखिने आकृतिका इँटा छन् भन्दा अचम्म लाग्न सक्छ तर छन्। अर्कोथरीका इँटामा फूलबुट्टा भरिएका छन्। तेस्रो थरीका इँटा ठूल्ठूला छन्, जुन आकार जोकसैले देखेकै छैनन्। महाअप्पा नामले चिनिने यी ठूला हाल प्रयोग हुने तीन/चारवटाको समायोजन जस्तो लाग्छ। महास्नान घर र शंकरनारायण सत्तलको जीर्णोद्धारका क्रममा यी इँटा भेटिएका हुन्।
मृगस्थलीको जंगलमा विश्वरूपा मन्दिर छ। यसमा ब्रह्मा, विष्णु र महेश्वर समाहित भएको सन्दर्भ प्रतिमा शास्त्रहरूमा पाइन्छ। जसमा विश्वरूपाका धेरै शिर, बाहु र पाउ भएको उल्लेख छ। सबैजसो देवीदेवताको व्यापक र विशिष्ट स्वरूपलाई विश्वरूपा मानिन्छ। योगी नरहरिनाथले २०१३ सालमा लेखेको ‘देवमाला वंशावली’ मा १९२० सालमा जंगबहादुर राणाले धेरै तन्त्र बटुली ठूलो परिश्रम गरी ध्यान मिलाई नेपालभर कहीं नभएको मूर्ति दुनियाँमा उद्धार होस्, आफू पनि ईश्वरका चरणविन्दमा भक्ति, बुद्धि लगाई वंशसमेतको उद्धारको कामना गरी कोटिहोम लगाई स्थापना गरे। विश्वरूपाको यो स्केच सुरेन्द्र जोशीले गरेका हुन्।
पशुपति अंकित नोट, हुलाक टिकट र सबैभन्दा पुराना सिक्का
संग्रहालयमा एउटा यस्तो कक्ष छ जहाँ पशुपति र गुह्येश्वरी मन्दिर अंकित हुलाक टिकट छन्। कक्षकै अर्कोतिर चर्चित लिच्छवि राजा मानदेवको पालाका सिक्का छन्, जुन नेपालको सबैभन्दा पुरानो सिक्का मानिन्छ। अंशुबर्माको पालाका सिक्का देख्न पाइन्छ। सन् १९४९ का टिकट र सन् १९५२ का सिक्का पनि राखिएका छन्। नेपाल सरकारले हुलाक टिकट सार्वजनिक गर्दा टाँचा लगाउने चलन हुन्छ। त्यसरी टाँचा लगाउँदाको जीवन्त अवस्था अर्थात् खाम, टिकट र छापसमेत देखिनेगरी संग्रहीत गरिएको छ। २०१६ मार्ग ४ मिति लेखिएको श्री ५ महेन्द्र प्रतिमासहितको टिक पनि देख्न पाइन्छ। हुलाक टिकटहरू छुट्टै पनि राखिएका छन्। त्रिमूर्ति मिन्ट सेटको सन् १९५९ को एक रूपैयाँको नोटमा तीनमुखे शिवलिंग देख्न पाउनेछन्।
संग्रहालयमा पशुपतिनाथ मन्दिर अंकित तीनवटा नोट राखिएका छन्, रु. १, रु. ३० र रु. ५० का। टिकटहरूको तिथिमिति खुलाइएकाले इतिहास बोल्छ। रु. १ को नोटमा नन्दीसहितको पशुपति मन्दिर बीचमा र देब्रेपट्टि तत्कालीन राजा वीरेन्द्रको तस्बिर छ। रु. १० को नोटको बीचमा गुह्येश्वरी मन्दिर र देब्रेपट्टि तत्कालीन राजा महेन्द्रको तस्बिर छ। यस्तै, मोरु १ लेखिएको पुरानो ढाँचाको नोटमा पशुपति, मोरु दस लेखिएको यस्तै नोटमा गुह्येश्वरी र एम सय लेखिएको (अरू नोटभन्दा ठूलो) नोटमा पशुपति अंकित गरिएको छ। यी मोरु लेखिएका तीनवटै नोटको आकार फरक छ, तीनवटैमा राजा त्रिभुवनको तस्बिर छ।
आर्यताराका अनेक रूप
श्रीपशुपति संग्रहालयमा अर्को आकर्षण हो, सुनको मोलम्बा भएका आर्यताराका अनेक रूप। कमलको आसन हराएको एउटा आर्यताराको मूर्ति छ। बौद्ध र सनातन हिन्दू धर्ममा आर्य भनेको महान् नै बुझिन्छ। बौद्धमा महायानहरूले आर्यतारालाई मातृशक्तिका रूपमा लिन्छन्। महान् ताराको रूपमा लिन्छन्। आर्यताराले पटुका लगाएको, खुट्टामा पाउजु आदिजस्ता पहिरनले युक्त रूपमा सजिएको देख्न सकिन्छ। यी सबै मूर्ति र संग्रहालयका सम्पदा यसअघि पाशुपत क्षेत्रमै थिए। पशुपतिनाथ मन्दिरमा बसेका नन्दी देखिन्छ तर यहाँ उभिएको नन्दी देख्न पाइन्छ। जसको पुच्छर चुँडिएको छ। यहाँ ढुंगाका २० जति कलाकृति र ८ वटा काष्ठकलाका नमुना देख्न सकिन्छ।
सुनकै मोलम्बाका ब्रह्मा र आकर्षक तोरण पनि संग्रहीत छन्। ‘हिरो’ जस्तो आकृतिमा देखिने यहाँका ब्रह्माका चार निधार र हात छन्। तीन टाउका स्पष्ट देखिन्छन् भने एउटा पछाडिपट्टि छ। तोरणमा कृतिमुख विभिन्न विशेषतामा देख्न सकिन्छ। जहाँ नागको कलात्मक स्वरूप छ। वि.सं. ८०७ का विष्णु पनि देख्न सकिन्छ। उभिएका विष्णुको स्वरूप दर्शन गर्न पशुपति संग्रहालय पुगे हुन्छ। नेकलेस नदेख्ने को होला ? अझ नलगाउने महिला कमै होलान्। प्राचीन भनेर के गर्नु ? यहाँको नेकलेसले सबैको मन जित्छ। यसको बनोट संरचनामा कोही घोत्लिन्छ भने उसले समय मजैले खर्चिनु पर्नेछ। भुइँतलामा मानदेवको चाँगु अभिलेखभन्दा पाँच वर्षअघिको अभिलेख छ, सँगै ठूलो त्रिशूल छ। बाहिरपट्टि लिच्छविकालीन शिवलिंग र मास पिस्ने प्रस्तरको ओखल छ।
श्रव्यदृश्यमा केही जात्रा
काठमाडौं उपत्यका जात्रैजात्राको सहरले पनि चिनिन्छ। सबैजसो जात्रा कि त पशुपतिनाथबाट सुरु हुन्छन् कि त यहाँ आएर समापन अर्थात् उपत्यकामा मनाइने जात्रापर्वको केन्द्रविन्दु हो पाशुपत क्षेत्र। पछिल्लो समय सबै जात्राको सुरुआत र समापन हुन छोडेको छ। तर, काठमाडौं खाल्डोमा मनाइने अधिकांश जात्रापर्व देवपतन क्षेत्रमा ल्याउनैपर्ने परम्परा छ। पाशुपत क्षेत्रमा दर्जनभन्दा बढी जात्रा सञ्चालनमा थिए। कति बन्द भइसके भने कति लोपोन्मुख छन्। जहाँ वनकाली जात्रा, बागमती जात्रा, त्रिशूल जात्रा, गंगामाई जात्रा, गाईजात्रा, खड्ग जात्रा, रोपाइँ जात्रा, इन्द्रजात्रा, दिपङ्खा जात्रा, चन्द्रविनायक तथा भैरव जात्रा, गुह्येश्वरी जात्रा, नवदुर्गा नाच, हरिसिद्धि नाच, माधवनारायण जात्रा, भीमसेन जात्रा, दूदू च्याँ च्याँ, वज्रेश्वरी तथा वत्सलेत्सरी जात्रा सञ्चालनमा छन्।
आकाश नै छानो तथा पृथ्वी नै मन्दिर हुने मान्यतामा देवीका लागि मन्दिर बनाउने परम्परा छैन। यद्यपि सबै परम्पराअनुसार गुह्येश्वरीको पनि मन्दिर बनाइएको छैन। यस मन्दिरका लागि शृंगारिक प्रयोजनले चारै दिशामा ढोका बनाइएका हुन्।
पाशुपत क्षेत्रमा सञ्चालन हुने कैयौं जात्रापर्व प्राचीनकाल त कतिपय मध्यकालदेखि सुरु भएको पाइन्छ। पाशुपत क्षेत्रमा कुनै बेला भव्य ढंगले सञ्चालनमा रहे पनि केही समययता केही जात्रापर्व लोप भइसकेका छन्। महादेव पार्वती नाच, नीलवाराही नाच, शोभना यात्रा, लिंग यात्रा, उपलिंग यात्रा र कुण्ठ यात्रा हाल सञ्चालनमा छैनन्। श्रीपशुपति संग्रहालयमा भएको अर्को राम्रो काम भनेको केही जात्राको पाँच मिनेटको भिडियो देख्न सकिन्छ।
गुह्येश्वरी जात्रा, गंगामाई जात्रा, बाला चतुर्दशी, माधवनारायण (साँखु) जात्रा, माधवनारायण (भक्तपुर) जात्रा, वत्सलेश्वरी जात्रा, चन्द्रविनायक (चाबहिल) जात्रा र छायाँ दर्शनबारेका केही श्रव्यदृश्य समेटिएका छन्। जात्रामा पुग्न नपाउनेका लागि यो भिडियो उपयोगी हुनेछ। पशुपति क्षेत्र विकास कोषले लोप भएका जात्रा पुनः सञ्चालन गर्नुपर्ने देखिन्छ। गरे सम्भव छ भन्ने त कोषले नै पुष्टि गरिसकेको छ, ४० वर्षपछि बागमती यात्रा गरेर। अन्यथा यी संस्कृति गुम्ने निश्चित छ।
संग्रहालयमा पुस्तकालय
हेर्ने मात्र होइन, पढ्ने वातावरण पनि बनाइदिएको छ पशुपति क्षेत्र विकास कोषले संग्रहालयभित्रै। सुकुल (गजरा) मा बसेर स्वदेशी र विदेशी नागरिकले शिवमहापुराणका भाग–१, भाग–२ र भाग–१, नेपाली र अंग्रेजी भाषामा पाशुपत क्षेत्रको सांस्कृतिक सम्पदा (मूर्त र अमूर्त), पाशुपत दर्पण (अनुसन्धानमूलक लेखहरूसहित)का १–८ अंक पढ्न पाउनेछन्। यी सबै कृति कोषले प्रकाशन गरेको हो। यसका साथै पशुपतिनाथसँग सम्बन्धित सबै खालका पुराण, ग्रन्थ, अनुसन्धानात्मक कृति र विभिन्न पुस्तकहरू यहाँ अध्ययन गर्न सकिन्छ।
कोषले पशुपति र पाशुपत क्षेत्रसँग सम्बन्धित थप कृति र स्नातकोत्तर र विद्यावारिधिमा गरिएका अंग्रेजी, हिन्दी र नेपाली भाषाका शोधसमेत संकलन गरेर ‘मिनी लाइब्रेरी’ बनाउनुपर्ने देखिन्छ। श्रीपशुपति संग्रहालय ‘बुझ्ने’का लागि ‘श्रीखण्ड’ हो। यसरी श्रीपशुपति संग्रहालयलाई एउटै भावमा भन्नुपर्दा ‘प्राचीन नेपालको प्रतिबिम्ब’ भन्न सकिने आधार खडा भएका छन्। यसै पनि पाशुपत क्षेत्र प्राचीन नेपालको रहनसहन, परम्परा, संस्कृति र सम्पदाहरूको प्रतिबिम्ब नै छ।
ज्ञान अमृतको अर्को आयाम
कोष स्थापना भएसँगै संग्रहालयको अवधारणा सुरु भएको पाइन्छ। डा. गोविन्द टण्डन श्रीपशुपति संग्रहालय बन्नु ऐतिहासिक काम भएको बताउँछन्। ‘जे जति सामग्री छन् तिनले पशुपति र पाशुपत क्षेत्रका ऐना हुन्। संग्रहालयमा थप्नुपर्ने थुप्रै सामग्री छन्’ उनी भन्छन्, ‘बढीभन्दा बढी तीर्थयात्री, पर्यटक र नागरिकलाई यसले आकर्षित गर्नेछ। आर्थिक विकासमा यसले मद्दत पुर्याउनेछ। राखिएका सामग्रीबारे गहिरो जानकारी दिन सक्नुपर्छ।’
सामान्यतः पशुपति पुग्नेहरू घाट क्षेत्रमा केही मिनेट घुम्ने गर्छन्। कोही गुह्येश्वरी मन्दिर पुग्छन्। समय कटाउन श्लेषमान्तक वन र मृगस्थली क्षेत्र जान्छन्। पशुपतिनाथ पुग्ने सबैलाई पाशुपत क्षेत्रबारे सबै सम्पदाबारे जानकारी नै हुँदैन र तिनको महत्त्व पनि थाहा छैन। यो काम कोषले गर्न सके पाशुपत क्षेत्रमा मानिसको आकर्षण बढ्ने निश्चित छ। अलपत्र काष्ठकला, प्रस्तरका मूर्तिहरू, भण्डारणमा यसै थन्किएका पुरातात्त्विक सम्पदा सबै संग्रहालयमा संग्रहित भएका छन्।
सम्पदाबारे जानकारी दिन सबै संकलित सामग्रीबारे अंग्रेजी भाषामा मात्र लेखेर राखिएको छ। कोषले यो कार्य पशुपतिनाथ मन्दिर प्रवेश गर्न नपाउने विदेशी नागरिकका लागि लक्षित गरेको हुन सक्छ। तर, नेपालका विकट बस्तीबाट पनि पशुपतिनाथको दर्शन र पूजाका लागि आउँछन्। तिनले पनि बुझ्नु पर्छ। कोषले नेपाली भाषामा पनि सम्पदाबारे लेखेर राख्नु अनिवार्य देखिएको छ। झन्डै एक अर्बको हाराहारीमा रहेका भारतीय नागरिक पशुपतिनाथका भक्तलाई आकर्षित गर्न हिन्दी भाषामा पनि राख्नु उचित हुनेछ। ‘कोषले स्थापना गरेको यो संग्रहालयले पाशुपत क्षेत्रको जीवन्त इतिहास जनसमक्ष परिचित गराउने प्रयास गरेको हो।
कतिपय यस्ता बहुमूल्य सम्पदा छन्, जुन धेरैका लागि नयाँ हुनेछन्’, कोषका सदस्यसचिव डा. मिलनकुमार थापा भन्छन्, ‘श्रीपशुपति संग्रहालय मानव सभ्यताको उद्भवबारेको पहिचान पनि हो। राष्ट्रकै पहिचानसँग जोडिएका सम्पदा हुँदा यो ज्ञानको भण्डारमा अर्को आयाम थपिएको छ, अमृतका थोपाहरू थपिएका छन्।’ संग्रहालयमा तस्वीर र स्केचहरू जर्मनका संस्कृति एवं इतिहासविद् निएल्स गुस्चओले प्रदान गरेका हुन्।
रणबहादुर शाहको घर महास्नान घर
पश्चिमद्वारबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्दा महास्नान घर देखिन्छ। दाहिनेपट्टि परेवालाई चारो दिने ठाउँ छ भने सोको ठिकविपरीत रहेको तीनतले रातो भवन नै महास्नान घर हो। यही भवनमा कोषले श्रीपशुपति संग्रहालय बनाएको हो। २०७२ सालको भूकम्पले भत्काएको यो ऐतिहासिक संरचनामा निकै क्षति पुग्यो। कोषले पुरानै शैलीमा जीर्णोद्धार गर्ने काम अघि बढायो। सो क्रममा नेपाल इन्भेस्टमेन्ट बैंकले यसमा सबै खर्च गर्यो। झन्डै ५ करोड २० लाख रुपैयाँ खर्चिएर बैंकले भवन जीर्णोद्धार र यो संग्रहालय स्थापना गरेको बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको भनाइ छ।
पशुपतिनाथमा महास्नान हुन्छ। सोका लागि प्रत्येक पूर्णिमामा आवश्यक सामग्री यही घरमा तयार पारिन्छ। पशुपतिनाथलाई पञ्चामृत अर्थात् दूध, दही, घिउ, मह र चिनी नापतौल गरी यही घरमा तयार पारिन्छ भने लाखामारीलगायत रोटी र मिठाई पनि पकाइन्छ। दक्षिणतर्फ फर्किएको यो विशाल भवन तत्कालीन राजा रणबहादुर शाहद्वारा निर्माण गराइएको पाइन्छ। उनी स्वामी महाराज बनेपछि कान्तिमतीसहित यस घरमा बसोबास गरेको पाइन्छ। संग्रहालय माथिका दुई तलामा सञ्चालन गरिएको छ भने भुइँतलाको एकापट्टि महास्नानका सबै काम हुन्छन्।