औषधि व्यवसायको क्षेत्रलाई मर्यादित, सेवामूलक र जनउत्तरदायी बनाउनुपर्छ : स्वास्थ्य राज्यमन्त्री
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले औषधि व्यवसायको क्षेत्रलाई मर्यादित, सेवामुलक तथा जनउत्तरदायी बनाउनुपर्ने बताएका छन्।
नेपाल औषधि थोक व्यवसायी संघको राष्ट्रिय महाधिवेशनमा स्वास्थ्य राज्यमन्त्री केसीले गुणस्तरीय औषधि उपभोक्तासम्म पुर्याउन सरकारले समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका हुन्।
राज्यमन्त्री केसीले भने, ‘औषधि भन्नेबित्तिकै जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएका कारण औषधि जगत निकै संवेदनशिल हुनुपर्छ। अहिलेपनि औषधिको मूल्यमा एकरुपता नभएको गुनासो आइरहेका छन्। यसलाई हल गर्नुपर्ने देखिन्छ।’
औषधि जगतमा पछिल्लो समय यो वा त्यो नाममा मौलाउँदै आएको अनेकन विकृतिको अन्त्य हुनुपर्ने मन्त्री केसीको भनाइ छ। उपभोक्ताको संविधानतः मौलिक हकको रुपमा व्याख्या गरिएको सुलभ मूल्यमा गुणस्तररीय औषधि सेवन गर्न पाउने अधिकारलाई अक्षुण्ण राख्नुपर्ने उनले बताए।
औषधि थोक व्यवसायी संघका अध्यक्ष शिवराज बाँस्कोटाले तालुक निकायले समयमा ध्यान नदिँदा औषधि बजारमा विकृति बढेको बताए । उनले भने, 'औषधि क्षेत्रको विकृति रोक्न संघले पहलकदमी लिएको छ। औषधि व्यवस्था विभाग भने निरीह बन्यो।’
यसैबीच नेपाल औषधि थोक व्यवसायी संघको अध्यक्षमा पुनः बाँस्कोटा सर्वसम्मत चयन भएका छन्।
उपाध्यक्षमा श्रीराम पराजुली, माधव अधिकारी, महासचिवमा गणेश नेपाल, सचिवमा सुरज पौडेल, कोषाध्यक्ष विनोदप्रसाद ढकाललगायत रहेका छन्।