गणतान्त्रिक ज्योतिष !
गणतन्त्रको बगैंचामा
पुरातन चेतले ग्रस्त एक ज्योतिष !
एउटा हातमा रुद्राक्षको माला
अर्कोमा मुलुकको कुण्डली लिएर
रातो गलैंचामा बसेका उनै ज्योतिषले
हल्लाउँछन् गणतान्त्रिक राज्य !
हल्लाउँछन् राष्ट्रको प्रगतिशील चेतना !
उसो त
क्रान्तिकारी कविको कविताभन्दा
शक्तिशाली छ यी ज्योतिषको भविष्यवाणी !
देखेपछि ज्योतिषको अनुहार
सुनेपछि ज्योतिषको मन्त्र
माक्र्सवादलाई भाग्यवादले हैरान बनाउँछ
कमरेडहरू पुँजीवादको बाटो भएर
सरकार चलाउने दिवास्वप्न देख्छन्
र, लुसुक्क छिर्छन्
संकटा मन्दिर संकटमोचन गर्न !
बीपी विचारका प्रजातान्त्रिक मनहरू
चटक्क बिर्सेर आफ्नो विचार
सातचोटि सिंहदरबार सम्हाल्ने
ज्योतिषवाणीले प्रफुल्ल हुन्छन्
एउटा अभागी देश शरण पर्छ
शक्तिशाली ज्योतिष निर्मित चिनामाथि।
रातो गलैंचा बिछ्याएर
हरियो रुखमुनि बसेको
ज्योतिष देखेपछि
भयभीत हुन्छन् बन्दुक बोकेका मान्छेहरू
डराउँछन् नगरपिता बन्न आतुर नौजवानहरू।
खैलाबैला हुन्छ कलमले क्रान्ति
सम्पन्न गर्छु भन्नेहरूमा
मजदुरहरू नाम्लो बिसाएर निदाउँछन्
एक आस्थावान् निद्रा
ज्यामीको श्रम शोषण गर्ने उद्योगका मालिक
ज्योतिषीलाई माटो हेराएर
नगरभरि ठड्याउँछन् आलिसान महल !
गणतान्त्रिक देशको ज्योतिष
रातो कार्पेटमा बसेर
हेरिरहेछ देशको आखत
र, सगर्व घोषणा गरिरहेछ–
देशबाटै देश कतै हराइसकेको छ।