लिभिङ लायन अफ नेपाल अर्थात् महावीर बडाकाजी
राजा कालु थापाले डोटी काँडामालिकामा १२४६ मा राज्यस्थापना गरे। उनीबाट १८औं पुस्ताका बलिराज थापाका २ छोरामा जेठा रामचन्द्र थापातर्फको वंशक्रमबाट विक्रम थापाका नाति, वीरभद्र थापाका छोरा सानाकाजी जनरल अमरसिंह थापा हुन्, उनै जनरल थापाका छोरा मुख्तियार (प्रधानमन्त्री) कमान्डर–इन–चिफ भीमसेन थापा हुन्।
बलिराजका कान्छा छोरा लक्ष्मण थापाको वंशक्रमबाट गोरखा सिरानचोक निवासी रञ्जाई थापा (रणञ्जय) का नाति, बाघ भीमसिंह थापा तथा उमादेवीका माहिला छोरा राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापा हुन्। पृथ्वीनारायण शाहले आधुनिक नेपाल एकीकरणका वीरयोद्धा भीमसिंह थापालाई ‘बाघ’ पदवी प्रदान गरेकाले उनलाई बाघ भीमसिंह थापाबाट सम्बोधन गरेको पाइन्छ (थापा, शैलेन्द्रबहादुर : २०७८, एकीकरणका बडाकाजी भाग २)।
बडाकाजी अमरसिंह थापाको जन्म १८०८ साउन १२ गते शनिबार भएको थियो। उनले १८७३ साउन १६ गते आइतबार रसुवाको गोसाइँकुण्डमा जल समाधि लिए। बडाकाजी अमरसिंह थापालाई नेपालका एक मात्र ‘जिउँदो सिंह’ (लिभिङ लायन अफ नेपाल) को उपाधिबाट सम्बोधन गर्ने गरेको पाइन्छ। मुख्तियार कमान्डर–इन–चिफ भीमसेन थापाको जन्म १८३२ साउन ९ गते भयो। भीमसेनले १८६३ सालमा मुख्तियार भएर १८९४ सालसम्म नेपालको अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्ताको संरक्षण गर्दै ३१ वर्षसम्म राज्य सञ्चालन गरे (ढुंगेल, ज्ञानु : २०५६, मुख्तियार भीमसेन थापा र तत्कालीन नेपाली साहित्य)।
बडाकाजी अमरसिंह थापाले बास बसेको रसुवा गोसाइँकुण्डस्थित चट्टानको ओढार (अमर गुफा) र त्योसँगैको तलपट्टि अवस्थित अमरकुण्डमा देखिएको जल डमरु। डमरुको अझै दक्षिणपट्टि किनारमा जलसमाधि (जलयोग) प्रारम्भ स्थल छ।
यस्तो एउटै लालमोहरको प्रारम्भमा यसअघि प्राप्त गरेको ‘मुख्तियार पद’ र पछि प्राप्त गरेको ‘कमान्डर–इन–चिफ’ पद पनि समाविष्ट गरी प्रदान गरिएको पूर्ण कार्यकारी अधिकार तत्कालीन समयमा अरू कुनै पनि भाइ भारदारले प्राप्त गरेको देखिँदैन। साथै तत्कालीन राजाले भीमसेन थापालाई बाहेक त्यसपछिका अर्का भारदारलाई अधिकार दिएको पाइन्छ। जुन लालमोहरमा तजबिजले काम नगर्नू भन्ने खालको आदेश निर्देश पाइन्छ। उनलाई चीनका बादशाहले १८८१ सालमा ‘लालगजुर मयूरको कल्की’ र ‘खिल्लत’ प्रदान गरेर ठूलो सम्मान गरेका थिए। चीन बादशाहबाट यस्तो खिल्लत पाउने प्रथम नेपाली मुख्तियार जनरल भीमसेन थापा नै हुन् (नेपाली, चित्तरञ्जन : २०७६, जनरल भीमसेन थापा र तत्कालीन नेपाल)। भीमसेनको स्वर्गारोहण १८९६ साउन १६ गते सोमबारका दिन भएको थियो। बडाकाजी अमरसिंह थापा र मुख्तियार कमान्डर–इन–चिफ भीमसेन थापा दुवै नेपालका राष्ट्रिय विभूति हुन्।
बडाकाजीका साहिँली श्रीमती धर्मदेवी विष्टतर्फका जेठा छोरा रणध्वज थापा, काइला छोरा भक्तवीर थापा र बडाकाजीकै नाति सुरतसिंह थापा मुख्तियार भीमसेन थापाको कार्यकालका अधिकारसम्पन्न एवं शक्तिशाली कारोबारी काजी पदमा तथा निकटतम् सहयोगीको रूपमा कार्यरत थिए। धर्मदेवीका साहिला छोरा रणजोरसिंह, ठाहिला रामदास बुबा बडाकाजी अमरसिंह थापाको निकटतम सहयोगी भई काम गरे। साथै रणजोरसिंह थापा, बडाकाजीकै अर्का छोरा नरसिंह थापाले माथवरसिंह थापाको पनि निकटतम सहयोगी भई काम गरे। यसरी बडाकाजीलाई युद्धमोर्चामा तत्कालीन नेपाल दरबारका कार्यकारी मुख्तियार कमान्डर–इन–चिफ भीमसेन थापाको तर्फबाट आवश्यक साथ सहयोगमा कुनै प्रकारको कमी कमजोरी थिएन। जुन छोरा नातिहरूको समन्वयात्मक सम्बन्धबाट पुष्टि हुन्छ।
रणजोरसिंह मुख्तियार भीमसेनका यति विश्वासिला थिए कि मुख्तियार भीमसेन थापाको नाममा आएका हरेक पत्रहरूमा रणजोरसिंह थापाको नामसमेत उल्लेख भइआएका अनगिन्ती पत्रहरू राष्ट्रिय अभिलेखालयमा सुरक्षित छन्। यदि उनीहरूबीच वैमनस्यता थियो भने त्यसखाले पत्राचारहरूबाट परस्परमा सहजरूपले कार्य सम्पादन हुन मुस्किल पथ्र्यो। त्यसकारण पनि डा. डिल्लीरमण रेग्मीका अनुसार किल्ला–काँगडाको युद्धमोर्चामा काजी अमरसिंह थापाको मागबमोजिम भीमसेन थापाले थप फौज त्यसतर्फ पठाएको आसय पाइन्छ (डबराल, शिवप्रसाद : २०३०, उत्तराखण्डका इतिहास)। यी तथ्यले बडाकाजी अमरसिंह, भीमसेन र नयनसिंह थापाबीच समन्वयात्मक तालमेल गर्दै तत्कालीन नेपालको राष्ट्रिय हितको पक्षमा एकमत भएर काम गरेको देखाउँछ। तैपनि इतिहासका पानामा लेखिएजस्तो युद्धदौरान सामान्य छिटपुट घटनाहरू हुनु स्वाभाविक हो। त्यसबाहेक उनीहरूबीच बाहिर प्रचारमा आएजस्तो अन्य कुनै किसिमको मनमुटाव थिएन। हामी पारिवारिक स्रोतबीच मतभेद छैन, आजसम्म एकमत छ। यसरी राष्ट्रिय विभूतिद्वय अमर–भीमसेन विशेषत: पारिवारिक मेलमिलाप, शान्ति सुरक्षा, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा संवेदनशील रहँदै तत्कालीन समस्याको समाधानतर्फ केन्द्रित रहेको देखिन्छ।
बडाकाजीले १८१९ को मकवानपुरको युद्धमा ११ वर्षकै उमेरमा जेठा बुढाको प्रारम्भिक चरण अर्थात् प्रत्यक्ष युद्धदर्शी वा युद्ध बालसहयोगीका रूपमा भाग लिए। तत्कालीन मकवानपुर राज्यले तराईको मिथिला क्षेत्रसम्म हेथ्र्यो। यसरी आधुनिक नेपाल एकीकरणका बडाकाजीले दक्षिणमा तत्कालीन मकवानपुर–मिथिला क्षेत्र, पूर्वमा ओखलढुंगा चिसंखुगढी–टिस्टा क्षेत्र, काठमाडौं उपत्यका क्षेत्र, पश्चिम, मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्र, १८४५ सालको पहिलो नेपाल–चीन भोट युद्ध र महाकाली नदीपारि काँगडा क्षेत्रसम्म युद्ध सञ्चालन गर्न सफल भएको पाइन्छ। उनले पहिलो नेपाल–चीन (भोट) युद्धमा भाग लिएको तथ्य तलको सन्दर्भले प्रमाणित हुन्छ।
- बडाकाजी अमरसिंह थापा आधुनिक नेपाल एकीकरण र नेपाली राजनीति तथा प्रशासनका प्रतापी महापुरुष पनि थिए।
- पृथ्वीनारायण शाहले आधुनिक नेपाल एकीकरणका वीरयोद्धा भीमसिंह थापालाई ‘बाघ’ पदवी प्रदान गरेकाले उनलाई बाघ भीमसिंह थापाबाट सम्बोधन गरेका थिए। अर्कोतिर, बडाकाजी अमरसिंह थापालाई नेपालका एक मात्र ‘जिउँदो सिंह’ (लिभिङ लायन अफ नेपाल) को उपाधिबाट सम्बोधन गर्ने गरेको पाइन्छ।
१८४५ सालमा भोटमाथि आक्रमण गर्ने क्रममा केरुङबाट आक्रमण गर्ने नेपाली सेनाको नेतृत्व पंक्तिमा सरदार अमरसिंह थापा पनि थिए। जहाँ नेपाली सेनाले भोटमाथि विजय हासिल गर्यो। सो सफलता प्राप्त गरी सकुशल स्वदेश फर्केपछि सरदार अमरसिंह थापाले भगवती गुह्येश्वरीलाई प्रसन्न पार्न सुनको मोलम्मा लागेको एक सानो धातुको मन्दिर १८४६ सालमा निर्माण गर्न लगाई संकल्प समर्पण गरे। इन्दिरा जोशीद्वारा लिखित तथा प्रकाशित ‘आधुनिक नेपालको निर्माणमा बडाकाजी अमरसिंह थापाको योगदान’ (२०५७) मा उल्लेख गरिएको यो सन्दर्भलाई उद्धृत गर्दै पंक्तिकार ‘एकीकरणका बडाकाजी, भाग– २’ (२०७८) मा समेटेको छ।
यसरी बडाकाजीले वृत्ताकाररूपमा पूर्व, पश्चिम, उत्तर, दक्षिण चारैतर्फ युद्ध सञ्चालन गरे। १८१५ मे १५ को बडाकाजी अमरसिंह र अंग्रेज जनरल अक्टरलोनीबीच सम्झौता भयो। जसले नेपाल–अंग्रेज युद्धबिराम गरायो। सोही आधारमा प्रस्तावित सुगौली सन्धिको ड्राफ्टले १८७२ फागुन २४ मा सुगौली सन्धि सम्पन्न भयो। त्यसपछिका पूरक सन्धिहरू र नेपाल–चीन (तिब्बत) सीमा सम्झौता तथा सन्धिले समेत आधुनिक नेपालको १,४७,१८१ वर्गकिलोमिटर भूभाग निर्धारण गरेको हो।
तर, सुगौली सन्धिको अन्तिम ड्राफ्टमा यसअघि युद्ध लडेर नियन्त्रणमा लिएका कतिपय भूभागका सम्बन्धमा बडाकाजीले चाहेजस्तो भएन। सो अखण्ड नेपाली भूभागको मेचीपारिदेखि पूर्वमा टिष्टा क्षेत्रसम्मको हिस्सा र पश्चिम महाकाली नदीपारिको हिस्सा खण्डित (गुम्ने) हुनेगरी तत्कालीन नेपाल दरबारका राजा, भारदारहरूले अंग्रेजसँग सुगौली सन्धि गरे। उक्त कुरामा चित्त नबुझेपछि बडाकाजीले गोसाइँकुण्डमा जलसमाधि लिएको पाइन्छ। यो इतिहासले प्रमाणित गर्छ कि बडाकाजी अमरसिंह थापा साधारण मानिस होइनन्। उनी आधुनिक नेपाल एकीकरण र नेपाली राजनीति तथा प्रशासनका प्रतापि महापुरुष पनि थिए। अन्तर्राष्ट्रिय युद्धबाज थिए अनि पराक्रमी पनि त्यत्तिकै। यो तथ्यलाई यसरी व्यक्त गर्न सकिन्छ, ‘चारैतिर हाहाकार मच्चियो। फिरंगीहरू पनि तर्सिए। होहल्ला यस्तो भयो कि महाराज गीर्वाणयुद्ध विक्रम शाहको सेना आउँदैछ, जसको सेनापति महावीर अमरसिंह थापा छन् जो जहाँ पयर राख्छन् विजयपताका त्यहीँ फरफराउँछ। गोर्खाली सेनाको सर्वत्र विजय–विजय छ र चाँडै नै सारा उत्तरी भारत–दिल्लीसम्म नै, गोर्खा महाराजको राज्य स्थापना अवश्यम्भावी छ (काँगडा गजेटियर, मौलारामको रणबहादुर चन्द्रिका)।
थापाले तान्त्रिक पद्दतिद्वारा जललीन हुँदै महाजलपरिनिर्वाण लिएकोमा स्थानीयबासीको परम्परागत आस्था प्रणाली रहिआएको पाइन्छ। स्थानीय तामाङ भाषामा अमर कुण्डलाई ‘खाइमाइ अखरवाग्योयी’ पनि भनिन्छ। बडाकाजी दम्पत्तिले यो चट्टानी ओढारमा बास बसेको १६औं दिनमा कुण्डमा एकसाथ जल समाधि (जलयोग) लिएका थिए। तान्त्रिक विधि, नियम पूरा गरी १८७३ साउन १६ गते बडाकाजी थापा दम्पत्ति जललीन भएको इतिहास छ (गोरखापत्रअनलाइन.कम/२०२१–०९–०४)।
यसरी उनको प्रसिद्धि भारतको कुनाकुनासम्म पनि चुलिएको पाइन्छ। कठोर साधक एवं कालीभक्त बडाकाजी तन्त्र–मन्त्रका पनि ज्ञाता थिए। उनी वैदिक र बौद्ध दुवै धर्ममाथि उत्तिकै श्रद्धा राख्थे। जीवनको अन्तिम चर्यामा बडाकाजीको स्थानीय गोसाइँकुण्ड रसुवाबासी बौद्धमार्गी तामाङ समुदायसँग पारस्परिक सम्बन्ध सुमधुर र प्रगाढ रहेको बुझ्न सकिन्छ। गुफावासी तपस्वी र साधक लामा गुरुहरुबाट बौद्धतन्त्र मन्त्र हासिल गरी शक्ति प्राप्त गरेका थिए। त्यसले पनि बडाकाजी दम्पत्ति साधनामार्फत लामो दिनसम्म ओडारमा सहजरूपमा बास बस्न सफल भएको स्थानीय ज्येष्ठ नागरिक बताउँछन्।
यो अनुभव यसै पंक्तिकारद्वारा लिखित ‘एकीकरणका बडाकाजी, भाग–२’ पुस्तकको विमोचन २०७८ भदौ ६ गते जनैपूर्णिमाको दिन गोसाइँकुण्ड अमर ओडार (गुफा) मै गएर गरेको सन्दर्भमा स्थानीय बुद्धिजिवीले व्यक्त गरेका थिए (स्थलगत अध्ययन अवलोकन तथा स्थानीय दिन्डुप तामाङ लगायतका व्यक्तिसँगको अन्तर्वार्ता रेकर्ड–२०७८)। बडाकाजी अमरसिंह थापाको गत वर्ष (सम्बत् २०७८) श्रावण १६ मा २०५औं स्मृति दिवस मनाइएको थियो। सोही वर्ष मुख्तियार भीमसेन थापाको १८२औं स्मृति दिवस तथा यो वर्ष श्रावण १६ मा बडाकाजी अमरसिंह थापाको २०६औं र मुख्तियार भीमसेन थापाको १८३औं स्मृति दिवस मनाइएको छ।