कांग्रेसले ३ दिन शोक मनाउने

कांग्रेसले ३ दिन शोक मनाउने

काठमाडौं : समाजवादी चिन्तक एवं कांग्रेस नेता प्रदीप गिरिको आइतबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनलाई छोरा सन्तोष र भतिजाहरू रन्ययन र सन्दर्भले दागबत्ती दिएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, मन्त्रीहरू, राजनीतिक दलका नेता, सांसद, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूले आर्यघाट पुगेर श्रद्धाञ्जली दिएका थिए।

त्यसअघि गिरिको पार्थिवशरीर श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो। प्रधानमन्त्री देउवाले गिरिको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान एवं श्रद्धाञ्जली व्यक्त गरेका थिए। सोही अवसरमा नेपाल प्रहरीको एक टुकडीले गिरिप्रति सलामी अर्पण गरेको थियो। पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राजनीतिक दलका नेता, सांसदलगायतले सानेपा पुगेर श्रद्धाञ्जली दिएका थिए। गिरिको उपचारका क्रममा शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा निधन भएको थियो। उनी घाँटीको क्यान्सरबाट पीडित थिए। भारतमा उपचार गराएर फर्किएपछि निमोनिया संक्रमण देखिएको थियो।

सभामुख अग्निप्रसाद सापकोटाले गिरिको निधनबाट नेपाली राजनीतिमा एउटा ज्ञानको भण्डारको अन्त्य भएको बताए। ‘गिरिजी ज्ञानको भण्डार हो। म पहिलो पटक पञ्चायतकालमा सेन्ट्रल जेलमा सँगै रहँदा गिरिको अध्ययनशीलताबाट बहुत प्रभावित भएको थिएँ’, सभामुख सापकोटाले भने, ‘संसद्मा उहाँको उपस्थिति पातलो भए पनि सधैं विशेष हुन्थ्यो। उहाँ अत्यन्तै अध्ययनशील र चिन्तनशील हुनुहुन्थ्यो। सबै राजनीतिक पार्टीका नेतासँग राम्रो सम्बन्ध हुन्थ्यो र सम्मानित हुनुहुन्थ्यो।’ माओवादी केन्द्र अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीति र सामाजिक रूपान्तरण अभियानमा निकै ठूलो क्षति पुगेको बताए। ‘उहाँ एउटा विशिष्ट प्रतिभासहितको समाजवादी चिन्तक हुनुहुन्थ्यो’, पूर्वप्रधानमन्त्री दाहालले भने, ‘उहाँले नेपाली समाजको रूपान्तरणका निम्ति काम गर्नुभयो। उहाँको बौद्धिक व्यक्तित्व र उहाँको तर्कशीलता हामी सबैका निम्ति प्रेरणाको स्रोतका रूपमा सदा रहने विश्वास मैले गरेको छु।’

गिरिको समाजवादी चिन्तनबाट सबैले सिकेर अघि बढ्नु जरुरी रहेको उनले बताए। ‘उहाँको अभाव धेरै समयसम्म खट्िकरहनेछ। हामीले उहाँको योगदानबाट प्रेरणा लिने र उहाँले समाजवादको निम्ति जेजस्ता चिन्तन गर्नुभयो, त्यसबाट शिक्षा लिएर अघि बढनुको विकल्प हामीसँग छैन’, उनले भने, ‘उहाँको व्यक्तित्वले हामी सबैलाई निःस्वार्थ समाजसेवामा समर्पित हुने र राजनीतिलाई फोहोरी खेल होइन, एउटा समाजसेवाको, जनता र राष्ट्रको सेवा गर्ने माध्यम हो भन्ने प्रेरणा उहाँबाट लिनुपर्छ।’

एकीकृत समाजवादी अध्यक्ष एवं पूूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालले लोकतन्त्रको अविचलित योद्धा गुमाएको बताए। ‘नेपालले एक अध्ययनशील विश्लेषक र समर्पित योद्धालाई गुमाउनुपरेको छ’, पूर्वप्रधानमन्त्री नेपालले भने, ‘राजनीतिका लागि नेपाली राजनीतिमा ठूलो क्षति भएको छ। मसँग गिरिजीको विशेष सम्बन्ध थियो। २०६२÷६३ मा राजाको विज्ञप्‍ितपछि कांग्रेसमा विचलन आयो। त्यति बेला उहाँले नै पार्टीलाई गणतन्त्रको बाटोमा हिँडाउनुभएको हो।’ प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरिलाई श्रद्घाञ्जली दिँदै टिटरमा लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु। उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’ 

नेपाल समाजवादी पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले टिटरमा लेखेका छन्, ‘प्रखर समाजवादी चिन्तक तथा आत्मीय मित्र प्रदीप गिरिको निधनमा निःशब्द छु। २०३४ सालदेखि ४५ वर्ष निरन्तर वहाँसँगको गहन बौद्धिक विमर्शले मलाई ठूलो ऊर्जा प्रदान गर्ने गरेको थियो। नयाँ समाजवादी धारको विकासमा लागेका हामी सबैलाई वहाँको निधनले ठूलो क्षति पुगेको छ ! हार्दिक श्रद्धाञ्जली–समवेदना !’ उनले अगाडी भनेका छन्, ‘प्रदीपजी, छिट्टै छोडेर जानुभो ! अहिलेको भीषण वैचारिक खडेरीमा हाम्रो सहकार्य÷सहयात्रा झन् आवश्यक थियो। टोखाको हार्मोनी हाउजिङमा सँगै बसेर यो वैचारिक खडेरी चिर्न सहकार्य गर्ने हाम्रो सल्लाह पूरा हुन पाएन। तपाईंले राजनीतिमा गहन वैचारिकी र त्यागको जुन मानक छोड्नुभएको छ त्यो सधैं रहिरहनेछ !’ 

भारतीय नेताहरू भन्छन्, ‘राजनीतिक सीमामा नबाँधिने एक प्रिय व्यक्ति’

नेता गिरिको निधनप्रति भारतका विभिन्न पार्टीका नेताहरूले ट्विटरमार्फतपनि श्रद्धाञ्जली व्यक्त गरेका छन्। बिहारका मुख्यमन्त्री नितिश कुमारले टिटरमा लेखेका छन्, ‘नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभाका माननीय सदस्य प्रदीप गिरिजीको निधनले म दुःखित छु। उहाँ नेपालको राजनीति, दर्शन र समाजवादका विचारक हुनुहुन्थ्यो। उहाँले राजनीति सीमामा नबाँधीकन सबै दलका साथीहरूसँग उत्तिकै आदरसम्मानको सम्बन्ध राख्नुहुन्थ्यो। ईश्वरले उनको आत्माको शान्ति दिऊन्।’ 

भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम येचुरीले आफ्ना मित्रको निधनले स्तब्ध भएको बताएका छन्। यचुरीले टिट गरेका छन्, ‘प्रिय एवं घनिष्ठ मित्र प्रदीप गिरिलाई गुमाउनुपर्दा गम्भीर रुपमा दुःखी छु। उनी लोकतन्त्रका योद्धा थिए। नेपालमा राजतन्त्र फ्याँक्ने संघर्षको नेतृत्व उनले गरे। भारतका लामो समयदेखिका घनिष्ठ मित्र थिए। सलाम छ प्रदीप।’

भारतीय कांग्रेसका राष्ट्रिय महासचिव मोहन प्रकाशले गिरी एक सच्चा समाजवादी र गान्धीवादी व्यक्ति रहेको जनाएका छन्। ‘उहाँ एक सच्चा समाजवादी नेता, गान्धीवादी र हृदयदेखि लोहियावादी हुनुहुन्थ्यो। उहाँले आफ्नो सम्पूर्ण जीवन सामाजिक कार्यमा समर्पित गर्नुभयो। म तपाईंलाई भेट्न लगभग त्यहाँ थिएँ। तर, तपाईंले भेट्ने मौका दिनुभएन। जसका लागि म सधैं शोकमा रहनेछु’, उनले लेखेका छन्, ‘ईश्वरले दिवंगत आत्माको चिरशान्ति प्रदान गरून् र शोक सन्तप्त परिवारलाई सहयोग गरून्।’

भारतको बहुजन समाजवादी पार्टीका अर्का नेता सुधीन्द्र भदोरियाले नेपालले महान् लोकतन्त्र सेनानी गुमाएको भन्दै टिटरमा लेखेका छन्, ‘नेपालका महान् प्रजातन्त्र सेनानी प्रदीप गिरिको निधनबारे एकाबिहानै खबर पाएँ। यति दुःखको अनुभूति भइरहेको छ कि त्यसलाई व्यक्त गर्न शब्दको अभाव भइरहेको छ। आज भारतले एक मित्र, सही सल्लाह र न्यायका विरुद्ध आवाज बुलन्द गर्ने मान्छे गुमाएको छ। प्रदीपजीप्रति विनम्र श्रद्धाञ्जली छ।’

कांग्रेसले ३ दिन शोक मनाउने

कांग्रेसले नेता गिरिको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ। केन्द्रीय कार्यसमितिको आइतबार बसेको आकस्मिक बैठकले नेता गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए। नेता गिरिको जन्म पिता मित्रलाल र माता पुण्यप्रभाको कोखबाट २००४ असोज २४ गते गोवर्धन पुजाका दिन सिरहाको बस्तीपुरमा भएको थियो। 

‘भारतको जवाहरलाल नेहरू विश्व विद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नाकोत्तर गरेका गिरि समकालीन प्रजातान्त्रिक समाजवादी नेताहरूसँग उच्च तहको मित्रवत् सम्बन्ध एवं नेपाल—भारत सम्बन्धमा गहिरो प्रभाव राख्ने एक सरल जीवनशैलीका गान्धीवादी नेता हुनुहुन्थ्यो’, कांग्रेसले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘राजनीतिक विचारमा लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यावहारिक व्याख्याता उहाँ ग्रामीण किसान, मजदुर एवं विपन्न परिवारलाई विकासको केन्द्रबिन्दुमा राख्नुहुन्थ्यो।

नेपाली कांग्रेसलाई थप समावेशी र सबल बनाउन उहाँ हरदम क्रियाशील रहनुभयो।’ नेपालमा दलहरू प्रतिबन्धित भएका बेला वनारसबाट नेपाली कांग्रेसमा आबद्ध भई उनी पार्टी संगठनका माध्यमबाट बहुदलीय व्यवस्थाका पक्षमा वैचारिक वकालत गर्दै निरंकुश पञ्चायतविरुद्ध संघर्षमा थिए। सबै किसिमका निरंकुशताविरुद्ध प्रखर वैचारिक संघर्षमा होमिएका गिरि लोकतान्त्रिक आन्दोलनहरूमा वैचारिक र सांगठनिक अग्रणी भूमिका निभाउने क्रममा पटक–पटक जेल र निर्वासनमा रहेका थिए। गिरि कांग्रेस पार्टीमा मात्रै नभएर सारा नेपाली र विदेशी राजनीतिक समकक्षी बीच पनि अत्यन्त लोकप्रिय नेता हुन्। 

नेता गिरी प्रति उच्च सम्मान प्रकट गर्दै कांग्रेसले २०७९ भाद्र ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झन्डा आधा झुकाउने, शोक श्रद्धाञ्जलीबाहेक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। भदौ ६ गते सोमबार केन्द्र तथा मातहतका कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ औं दिन (भदौ १६ गते) सम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने, १३ औं दिन केन्द्र र सबै जिल्लामा शोकसभा आयोजना गर्ने निर्णय कांग्रेसले गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.