जाजरकोटका ३३ हजार बालबालिकालाई फाइजर खोप
जाजरकोट : जाजरकोटका ३३ हजारभन्दा बढी बालबालिकालाई फाइजर बायोएनटेक खोप दिइने भएको छ।
५ वर्षदेखि ११ वर्ष उमेर समूहका ३३ हजार ४ सय १८ बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप दिइने भएको हो। नलगाड नगरपालिकामा ५ हजार अर्थात ८४ दशमलव आठ प्रतिशत बालबालिकालाई खोप लगाइने छ।
छेडागाड नगरपालिकामा ७ हजार अर्थात ५८ दशमलव १ प्रतिशत, भेरी नगरपालिका ५ हजार ९ सय अर्थात ९० दशमलव ४, बारेकोट गाउँपालिका ३ हजार ७ सय अर्थात ९३ दशमलव ३, कुशे गाउँपालिका ४ हजार २ सय अर्थात ८४ दशमलव ७, शिवालय गाउँपालिका २ हजार ६ सय अर्थात ४८ दशमलव ८, जुनीचाँदे गाउँपालिका ४ हजार ६ सय अर्थात ३८ दशमलव ९ बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने स्वास्थ्य सेवा कार्यालय जाजरकोटका खोप सुपरभाइजर शान्तराज बुढाथोकीले जानकारी दिए।
जिल्लाका विभिन्न विद्यालयमा खोप अभियान सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ। केही विद्यालयबाहेक जिल्लाका अधिकांश विद्यालयहरूमा खोप कार्यक्रम सञ्चालन हुने उनले बताए।
उनका अनुसार जिल्लामा अबको केही दिनमा खोपको पहिलो मात्रा लगाउन सुरु हुने र पहिलो मात्रा लगाएको २१ दिनपछि दोस्रो मात्रा लगाउन सुरु हुने छ।
पहिलो पटक ५-११ वर्ष उमेरका बालबालिकालाई कोभिड विरुद्धको खोप लगाउन लागिएको हो। यो खोप सुरक्षित र प्रभावकारी रहेकोले ढुक्क भएर आफ्ना बालबालिकालाई खोप लगाउन स्वास्थ्य सेवा कार्यालयले अनुरोध गरेको छ।
खोपका लागि स्थानीय तहमा रहेका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविकासँग सम्पर्क गर्नसमेत आग्रह गरिएको छ।
जिल्लाका सातवटै स्थानीय तहमा एकैपटक खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। यसअघि नेपालका २७ वटा जिल्लामा ५-११ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप लगाइएको थियो। अहिले बाँकी ५० वटा जिल्लामा खोप अभियान सञ्चालन हुने लागेको हो।
भदौ १५ भित्र पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
आगामी भदौ १५ गतेभित्र जाजरकोटलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने निर्णय भएको छ। आइतबार बसेको जिल्ला खोप समन्वय समितिको बैठकले निर्णय गरेको हो।
भेरी नगरपालिका, बारेकोट गाउँपालिका र कुशे गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेको र अन्य नलगाड नगरपालिका, शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र छेडागाड नगरपालिकाका १६ देखि २३ महिनाभित्रका शतप्रतिशत बालबालिकाले सबै खोप पूरा गरिसकेका छन्।
यी पालिका घोषणा हुन मात्रै बाँकी रहेकोले अब छिट्टै घोषणा हुने स्वास्थ्य सेवा कार्यालय जाजरकोटका खोप सुपरभाइजर बुढाथोकीले जानकारी दिए।
उनले भने, 'तीनवटा पालिका पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका छन्, अब चारवटा हुन बाँकी छ भाद्र १५ भित्र जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारीमा छौं।'